Comments Add Comment

जर्मनीबाट फर्किइन् सम्झना

२७ असार, पोखरा । नाटक प्रदर्शन गर्न जर्मनी पुगेको तर उतै लुकेको भनिएकी युथ क्रियसन थियटरका सदस्य सम्झना शर्मा नेपाल फर्किएकी छिन् ।

उनले आफू भागेको नभई ट्रान्जिटमा परेर ढिलाइ भएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएकी छिन् ।

नाटक घेरो लिएर त्यहाँको एक नाटक महोत्सवमा भाग लिन पुगेकी उनीसहित ४ कलाकार उतै लुकेको समाचार प्रकाशित भएको थियो । जर्मनीमै लुक्नेमा कलाकार शर्मिला बस्नेत, संरचना पौडेल (अञ्जना) र मधुसूदन पौडेल छन् । नाटक मञ्चन गर्न १२ सदस्यीय टोली असार १८ गते जर्मनी उडेको थियो ।

सम्झना घेरो नाटकका लेखक केदार शर्माकी पत्नीसमेत हुन् । उनले आफ्नी श्रीमती उतै लुकेको नभई भिसा अवधि ११ दिनको रहेकाले ढिलाइ भएको प्रष्ट्याए । शर्माले भने, ‘कलाकार सबैको भिसा म्याद अलगअलग थियो । सबैभन्दा बढी म्याद सम्झनाको ११ दिनको थियो । त्यसमा पनि उनी २१ घन्टा ट्रान्जिटमा परिन् ।’

थियटरका अध्यक्ष कपिल शर्माले उतै लुक्ने कलाकारका कारण संस्थाको सा:ख गिरेको बताए । ‘त्यहाँ जाँदा संस्थाले सहीछाप गरेर लगेको हो । आउँदो सेप्टेम्बरमा क्यानडामा नाटक देखाउनुछ । हामीले किन कलाकार बेच्थ्यौं र ?’ उनले भने, ‘बरु उनीहरु भाग्नाले संस्थाको साख गिरेको छ । हामीले भगाएको प्रमाणित भए सजाय भोग्न तयार छौं ।’

शर्माले उतै लुकेका कलाकारले बिरामी भएको भनेकाले आरामका लागि होटलमै रहन दिएको र आउँदा उनीहरु नभेटिएको दाबी गरे । ‘हाम्रो टोलीसँग अफिसियल डाक्टर हुन्थे । उपचारका लागि डाक्टर लिएर आउँदा उनीहरु सामान होटलमै छोडेर भागिसकेका थिए,’ उनले भने ।

अन्तर्राष्ट्रिय भूमिमा थियटरले सोचेभन्दा राम्रो प्रस्तुति दिएको तर कलाकार भाग्नाले संस्थाको साखमा असर पुगेको संस्थाका सचिव सौगात पोखरेलले बताए ।

भागेकामध्ये मधुसूदन पौडेल केही दिनअघिसम्म सम्पर्कमा रहेर अचेल सम्पर्कविहीन भएको र शर्मिला बस्नेत, संरचना पौडेल (अञ्जना) भने भागेकै दिनबाट सम्पर्कमा नरहेको पोखरेलले जानकारी दिए ।

युरोप नै बसेका कलाकार मधुसूदन पौडेलले आफू पोर्चुगल पुगेको फेसबुकमार्फत नै जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म अहिले पोर्चुगलमा छु । मलाई कुनै संस्थाले पैसा खाएर यहाँ ल्याएको होइन । आफ्नै राजीखुसीले आएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment