News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्लियरिङ हाउसले आर्थिक वर्ष २०८१/८२ को चौधौं वार्षिक साधारणसभा सम्पन्न गरी १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
- आर्थिक वर्ष २०८१/८२ मा एनसीएचएलको भुक्तानी प्रणालीमार्फत कुल १८६ खर्ब बराबरको २१.१२ करोड भुक्तानी कारोबारहरू राफसाफ भएको थियो।
- सञ्चालक समितिमा सांग्रिला डेभलपमेन्ट बैंकका उमेश सिंह भण्डारी र आईसीएफसी फाइनान्सका लक्ष्मण प्रसाद जैसी निर्विरोध निर्वाचित भएका छन्।
४ पुस, काठमाडौं । नेपाल क्लियरिङ हाउसले आर्थिक वर्ष २०८१/८२ को चौधौं वार्षिक साधारणसभा बिहीबार काठमाडाैंमा सम्पन्न गरेको छ ।
बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यस पश्चात एनसीएचएलको चुक्ता पूँजी १ अर्ब ४५ करोड ८५ लाख रुपैयाँ बराबर हुनेछ । कम्पनीले पूँजी वृद्धिमार्फत नेसनल पेमेन्ट स्वीच, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नति गर्ने भएको छ ।
आ.व. २०८१/८२ मा एनसीएचएलको भुक्तानी प्रणालीहरू मार्फत कुल १८६ खर्ब बराबरको २१.१२ करोड भुक्तानी कारोबारहरू राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फछ्र्यौट भएका कारोबारहरुको संख्या ६७ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ४ प्रतिशत बढेको छ ।
बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालकहरु निर्विरोध रुपमा निर्वाचित गरेको छ ।
विकास बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा सांग्रिला डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी तथा फाइनान्स कम्पनीहरूबाट प्रतिनिधित्व गर्दै आईसीएफसी फाइनान्सका नायव महाप्रबन्धक लक्ष्मण प्रसाद जैसी निर्वाचित भएका छन् ।
एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरूबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्वतन्त्र १–१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
प्रतिक्रिया 4