Comments Add Comment

मोरङका तीन वडाध्यक्षमाथि हत्या आरोप

Photo Credit : समानन्दको मृत्युको विरोधमा गरिएको प्रदर्शन ।

२७ असार, विराटनगर । मोरङका तीनजना जनप्रतिनिधीमाथि हत्या आरोप लागेको छ । विराटनगर महानगरपालिका– १४ बलदेव यादव, १८ का अध्यक्ष सञ्जय साह र जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदीप यादवमाथि हत्या आरोप छ ।

तीनसाता अघि विवाहको विवादमा विराटनगर– १४ का समानन्द यादवमथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते उनको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ । सोही घटना तीन वडा अध्यक्षको निर्देशनमा भएको भन्दै उनीहरुसहित ८ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

विराटनगर–१४ जतुवा घर भएका समानन्दलाई छोराको बिहेका लागि केटी हेर्ने विषयमा विवाद हुँदा गत जेठ ३२ गते विराटनगर १४ का वडाअध्यक्ष बलदेव यादवको घरमा कुटपिट भएको थियो । कुटपिट पछि गम्भीर घाइते भएका उनको कोशी अस्पतालमा बिहीबार राति मृत्यु भएको हो ।

कुटपिट भएको तीनसाता सम्म घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै आफन्तले कोशी अञ्चल अस्पताल अगाडी सडकमा शव राखेर प्रदर्शन गरेका छन् । कुटपिट भएलगत्तै समानन्दका छोरा राजेशले प्रहरीमा कुटपिट गर्ने विरुद्ध किटानी जाहेरी दिएका थिए । तर प्रहरीले उनको जाहेरी दर्ता गरेको थिएन । ढिलो गरी जाहेरी दर्ता गरेको प्रहरीले घाइतेको मृत्युपछि पनि घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै प्रदर्शन गरेका हुन् ।

शुक्रवार कोशी अञ्चल अस्पताल अगाडी सडकमा शव राखेर हत्यामा संलग्न तीनवडा अध्यक्षसहित आठ जनालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । तर प्रहरी भने हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको बताएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी प्रहरीले दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने बताउँछन् ।

के हो विवाद ?

समानन्दले छोराको विवाहका लागि जहदा गाउँपालिका १ कि एक युवतीका आफन्तसँग कुराकानी चलाएका थिए । तर समानन्दका छोराले बुबाले हेरेको युवतीसँग विवाह नगर्ने बताए । बुबाले विवाहको बचन दिए पनि छोराले नगर्ने बताएपछि युवतीका आफन्त रिसाए ।

गत जेठ ३२ गते सोही विषयमा छलफल गर्न तीनवटा वडा अध्यक्षसहितको टोली विराटनगर–१४ का वडा अध्यक्ष बलदेब यादवको घरमा भेला भएका थिए । बलदेवका छोरा रविशंकर यादव र अन्य एक युवकले समानन्दलाई घरबाट बोलाएर छलफलका लागि ल्याएका थिए ।

बलदेवको घरमा विवाहको विषयमा छलफल भयो । सो क्रममा छोरा राजेशले नमानेका कारण समानन्दले विवाह नहुने बताए । तर वडा अध्यक्ष बलदेव यादवसहितको समूहले विवाह गर्नुपर्ने दवाब दियो । विवाद बढ्दै जाँदा ५५ वर्षका समानन्दमाथि कुटपिट भयो ।

कुटपिटबाट गम्भीर घाइते भएका उनलाई विराट नर्सिङहोम भर्ना गरिएको थियो । तर विराटमा उपचार गर्ने खर्च नभएपछि आफन्तले कोशीमा भर्ना गराए । कोशीमा उपचारकै क्रममा बिहीवार राति उनको निधन भयो ।

कुटपिटपछि छोरा राजेशले जेठ ३२ गते तीनवडा अध्यक्षसहित रविशंकर यादव, विजय यादव र भोला यादवलगायत विरुद्ध किटानी जाहेरी दिए । तर प्रहरीले जाहेरी लिन मानेन । नमानेपछि उनले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनपछि प्रहरीले जाहेरी लिए पनि आरोपीलाई पक्राउ गरेको छैन ।

घटनामा संलग्नको आरोप लागेकाहरुलाई पक्राउ नगरेपछि आफन्तले हत्यामा संलग्नलाई पक्राउको माग गर्दै प्रदर्शन गरेका छन् ।

राजनीतिक पहुँच

राजनीतिक पहुँचमा रहेका उनीहरुलाई प्रहरीले सोधपुछ पनि नगरेको स्थानीयको आरोप छ । मृतक सामानन्दकी श्रीमती केदुलादेवी यादवले न्याय नपाएपछि सडकमा आएको बताइन् । घटनापछि कुटपिट घटनाका आरोपी विराटनगर र आसपासमा नै छन् ।

तीनजना वडा अध्यक्ष पनि नियमित कार्यालय गइरहेका छन् । तर प्रहरीले कसैलाई कारवाही नगरेको पीडित परिवारको आरोप छ । राजनीतिक पहुँच भएका वडा अध्यक्षहरूलाई कारवाहीको दायरामा प्रहरीले ल्याएको छैन् । तर मोरङ प्रहरी प्रमुख विश्व अधिकारी प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment