Comments Add Comment

ग्रिजम्यानले बार्सिलोनामा परिवर्तन ल्याउलान् ?

२९ असार, काठमाडौं । बार्सिलोनाले गएको वर्षदेखि नै एथ्लेटिको मड्रिडबाट एन्टोइन ग्रिजम्यानलाई ल्याउन गरेको प्रयास अन्ततः अनेक उतारचढाव हुँदै सफल भएको छ । यसले स्पेनिस फुटबलमा खेलाडीको ठूलो बिक्री मात्रै होइन लुकेको सनसनी नै बाहिर ल्याइदियो ।

ग्रिजम्यानको लागि बार्सिलोनाले १२० मिलियन युरो तिरिसकेको अवस्थामा एथ्लेटिकोले भने उनको रकम २०० मिलियन युरो हुनुपर्ने माग दाबी गरिरहेको छ । गएको मार्चमा नै ग्रिजम्यानसँग बार्सिलोनाले सम्झौता गरेको भन्दै त्यतिबेलाकै रकम तिर्नुपर्ने दाबी एथ्लेटिकोको रहेको छ ।

अब एथ्लेटिको मड्रिड धम्की दिइरहे जस्तो कानुनी बाटोमा नै जान्छ या उसले थप केही रकम बार्सिलोनाबाट लिएर विवाद साम्य पार्छ, यो भने स्पष्ट छैन । तर व्यापारको तबरले देखिएका यी पाटा भन्दा भिन्न छ, ग्रिजम्यान बार्सिलोना आएपछि देखिने फुटबलको पाटो ।

‘म धेरै खुशी छु । उत्साहित छु, टिमसँग मिलेर खेल्न व्यग्र छु’ ग्रिजम्यानले बार्सिलोना गएपछि भनेका छन्, ‘नयाँ चुनौतीका लागि म तयार छु, आश छ मैले यहाँ राम्रो गर्ने छु । ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग सबै प्रतियोगिता जित्न चाहन्छु ।’

ग्रिजम्यानले बार्सिलोनामा आएपछिको आफ्नो नयाँ बाटोको बारेमा बताइरहँदा बार्सिलोना भित्रको उनको स्थान के हुने र स्टार खेलाडीको छविसमेत कसरी जोगाउने भन्ने चुनौती भने धेरै नै छ । गएको वर्ष बार्सिलोना आउन देखाएको अनिच्छाले पनि समर्थकको मन जित्न समेत उनलाई केही समय लाग्ने देखिन्छ ।

ग्रिजम्यानले समर्थकसँग मात्रै होइन ‘डे«सिङ रुम’ मा नै समेत मिल्दो वातावरण बनाउन थप प्रयास गर्नुपर्ने देखिन्छ । लियोनल मेस्सी र लुइस स्वारेज गएको वर्ष उनी आउने पक्कापक्की भएर स्थगित हुँदा त्यसबारे बोल्न आनाकानी गरेका थिए । यसपटक उनको आगमनपछि पनि बार्सिलोनामा रहेका फ्रान्सेली खेलाडीबाहेक अरुले खासै बोलेका छैनन् ।

गएको वर्ष नै ग्रिजम्यान बार्सिलोना आउनेमा बार्सिलोना समर्थक विश्वस्त देखिन्थे । समर्थक मात्रै होइन व्यवस्थापनले त उनको आगमनको पूरा तयारी गरेको थियो । त्यसैले नै जनवरीमा कोउटिन्होलाई ल्याउँदा ग्रिजम्यानको लागि ७ नम्बर जर्सीसमेत जोगाएर राखिएको थियो । तर अहिले न त्यो ७ नम्बर जर्सी खालि छ न त पहिलेको जस्तै स्वागत गर्न सक्ने अवस्था ।

प्रशिक्षक एर्नेस्टो भालभर्देको योजनामा फिट हुँदै मेस्सी र स्वारेजसँगै तालमेल मिलाउन ग्रिजम्यानले मैदानमा नै आफ्नो क्षमता देखाउनुपर्ने हुन्छ । ला लिगामै खेलिरहेका खेलाडी भएकाले प्रिमियर लिगबाट आएका खेलाडीले भोग्नुपर्ने समस्या भने ग्रिजम्यानलाई हुने छैन ।

मेस्सीको विरुद्धमा खेलिरहेका उनी मेस्सीसँगै खेल्ने शैलीबारे पनि जानकार छन् । फरवार्ड लाइनमा जुनसुकै स्थानमा खेल्न उनी सक्षम छन् । ग्रिजम्यान अग्रभागमा रमाउने फरवार्ड मात्रै होइनन् आवश्यक पर्दा डिफेन्स लाइनसम्मै झरेर बल रोक्न उनी योग्य छन् ।

एथ्लेटिको मड्रिडमा गएको पाँच सिजन प्रशिक्षक डिएगो सिमोनसँग रहेर उनले आफूमा फरक शैलीको विकास गरेका हुन् ।

यसले धेरैजसो अगाडि रहने स्वारेज र मेस्सी जस्ता खेलाडी भएको ठाउँमा ग्रिजम्यानको आगमनले थप बल पुग्ने छ । च्याम्पियन्स लिगमा लिभरपुलसँगको बार्सिलोनाको हारको प्रमुख गल्ती नै निरन्तरको आक्रामणमा पछाडि बढ्ने खेलाडीको अभाव देखिन्थ्यो । अब ‘डिफेन्सिभ स्ट्राइकर’ ग्रिजम्यानले त्यो अभाव पूरा गर्ने विश्वास बार्सिलोनामा छ ।

२८ वर्षका ग्रिजम्यान युवा समयदेखि नै मेहनत गर्दै बढेका फुटबलर हुन् । १९९७ मा मेकन, म्याकोनि हुँदै स्पेनिस क्लब रियल सोसिडाडमा २००५ मा गएका ग्रिजम्यान २००९ देखि सोसिडाडको सिनियर टिममा थिए । २०१४ मा एथ्लेटिको मड्रिड जानु अघि नै पनि ग्रिजम्यानको चर्चा फुटबल जानकारमाझ हुन थालिसकेको थियो ।

गएको सिजन एथ्लेटिको मड्रिडबाट ४८ खेलमा २१ गोल गर्दै १० गोलका लागि अवसर बनाएका ग्रिजम्यान लिगकै सफलमध्येका खेलाडी हुन् ।

फ्रान्सबाट विश्वकप विजेता ग्रिजम्यान बार्सिलोनामा गएपछि नयाँ प्रयोगसँगै थप उचाइमा पुग्ने विश्वास उनमा देखिन्छ । २०१५ मा च्याम्पियन्स लिग उपाधि जितेपछि कमजोर देखिँदै गएको बार्सिलोनामा ला लिगाभन्दा थप उचाइमा पुर्‍याउन उनी व्यग्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment