
३० असार, काठमाडौं । हारको पीडा कस्तो हुन्छ ? विश्वकप क्रिकेटको उपाधि नजिक पुगेर पनि हारेको न्युजिल्यान्डका कप्तान केन विलियम्सनको अनुहारमा आइतबार राति त्यो पीडा प्रष्टै देखिन्थ्यो ।
निर्धारित ५० ओभरमा दुबै टिमको समान अंक । सुपर ओभरमा पनि इंग्ल्यान्ड र न्युजिल्यान्डको समान अंक भएपछि खेल चौका (बाउन्ड्री) को आधारमा इंग्ल्यान्डले उपाधि जित्न सफल भयो ।
लगातार दुई विश्वकप जित्ने सपना चकनाचुर हुँदा कप्तान केन मात्रै हैन सिंगो टिम र देश स्तब्ध बनेको थियो । उपाधि जित्न असफल भएपछि पीडासँगै उनी अनुहारमा मुस्कान ल्याउने कोशिस गरिरहेका थिए ।
यो विश्वकपमा उनी उत्कृष्ट खेलाडी ठहरिए । उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई फाइनलसम्म पुर्याए पनि उपाधि दिलाउन असफल भएका कप्तान केनले पीडा लुकाउँदै भने, ‘म दुःखी छु । यहाँसम्म आइपुग्न सबैले धेरै परिश्रम गरेका थिए । तर फेरि पनि हामी जित्न असफल रह्यौं ।’
उनले थपेका छन्, यो खेलको भागिदार हुन निकै राम्रो रह्यो । तर यो खेलको नतिजाबाट दुःख लागेको छ । हामी जित नजिक थियौं । तर हार्यो । यस्तो परिस्थितिमा हास्न पर्छ या रुन ? आफूमा भर पर्छ । मलाई रिस उठेको छैन । तर म दुःखी छु ।’
त्यस्तै, कप्तान केनले इंग्ल्यान्डले फाइनलमा मात्रै नभएर पूरै विश्वकपभरी राम्रो प्रदर्शन गरेको भन्दै तारिफ पनि गरेका छन् ।
उनले भने, ‘यो खेल पनि यस्तो बन्यो जुन पचाउन निकै मुश्किल छ । इंग्ल्यान्डले यो खेलमा मात्रै हैन पूरै विश्वकपमा राम्रो खेल्यो । उसको यो उत्कृष्टता कसैले छिन्न सक्दैन । यो टिम जितको हकदार थियो । तर, हामी यो पटक पनि अफल भयौं ।’
प्रतिक्रिया 4