
३० असार, विराटनगर । बाढी र डुवानका कारण मोरङमा ६ हजार ५ सय ३५ मानिस विस्थापित भएका छन् । एक हजार ५ सय १६ परिवारका ती विस्थापितलाई सुरक्षित स्थानमा राखिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति मोरङका सम्पर्क व्यक्ति अभयकुमार गुप्तका अनुसार मोरङमा बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।
विस्थापितहरु स्कुल, मठ मन्दिरमा आश्रय लिइरहेका छन् । पानी पर्ने क्रम नरोकिएकाले विस्थापितहरु घर फर्किने अवस्था छैन । विद्यालयमा मानिसको चापका कारण विस्थापितलाई बास बस्न समस्या भएको छ ।
‘एउटै कोठामा धेरै मान्छे बस्नुपर्छ’ विराटनगरको बखरी स्कुलमा बसेकी विन्दा ऋषिदेवले भनिन्, ‘न ओछ्याउने तन्ना, कपडा, झुलको अभावमा लामखुट्टेको टोकाइले रातभर निन्द्रा पर्दैन ।’
महानगरबाट १ हजार विस्थापित
महानगरको १९ वडामध्ये ६ वटा वडाबाट बाढी र डुवानका कारण एक हजार जना विस्थापित बनेका छन् । बाढी र डुवानबाट विस्थापितलाई खाने र बस्नेको प्रबन्ध महानगरले गर्दै आएको छ ।
मेयर भीम पराजुलीले धेरै जनाको घरभित्र पानी पसेर घरसमेत भत्किएकाले केही दिनमै घर फर्काउन समस्या भएको जानकारी दिए ।
प्रतिक्रिया 4