Comments Add Comment

बाढीपीडितलाई खाना र  पीउने पानीको समस्या

महोत्तरीमा मृतकको संख्या ४ पुग्यो, २ लाख बढी प्रभावित

३१ असार, महोत्तरी । महोत्तरीमा वर्षा र बाढीमा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ । जलेश्वर नगरपालिका ८ बझराहीका प्रशान्त ठाकुरको शव सोमबार फेला परेपछि जिल्लामा मृतकको संख्या चार पुगेको हो ।

यसअघि गत शुक्रबार रातु खोलाको बाढीले बगाएका बलवा नगरपालिका २ का ७० वर्षीय हनिफ बैठाको शव आइतबार साँझ नै फेला परेको थियो ।

त्यसैगरी सोनमा गाउँपालिका १ मा वर्षाको जमेको पानीमा डुबेर ६ वर्षीय अजरुदिन नदाफ र ५ वर्षीय इन्तफाक नदाफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोमबार शव भेटिएका प्रशान्तसँगै बगेका जलेश्वर नगरपालिका ८ का १३ वर्षीय युवराज ठाकुर भने अझै बेपत्ता रहेका छन् । उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधव बुढाथोकीले जानकारी दिए ।

त्यस्तै जिल्ला विपद व्यवस्थापन समिति महोत्तरीले वर्षाको कारण बालबालिकाहरु असुरक्षित रहेको भन्दै अभिभावकहरुलाई सुरक्षित रुपमा ध्यान दिन समितिले अनुरोध गरेको छ ।

त्यस्तै वर्षा नरोकिएको कारण महोत्तरीमा बाढी प्रभावित थप समस्यामा परेका छन् । दैनिक खाद्यान्न, खानेपानीको समस्या रहेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

खाना र  पीउने पानीको सबैभन्दा बढी समस्या

जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिका, बर्दिवास नगरपालिका, लोहरपट्टी नगरपालिका र महोत्तरी गाउँपालिका, एकडारा, पिपरा लगायतका बासिन्दा सबै भन्दा बढी प्रभावित भएका छन् । प्रभावित स्थानहरुमा दैनिक खाना र  पीउने पानीको सबैभन्दा बढी समस्या छ । बाढीले खानेपानीको स्रोत डुबाएको कारण खानेपानीको सबैभन्दा बढी अभाव भएको छ ।

बाढीको कारण महोत्तरीमा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीको कटान र डुबानले ४० हजार परिवारका दुई लाख स्थानीय प्रभावित भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । तथ्यांक संकलनको कार्य भैरहेकाले प्रभावितको संख्या अझै बढ्नसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment