Comments Add Comment

उपचार सुविधाको पर्खाइमा घाइते माओवादी लडाकू

१ साउन, विराटनगर । सुनसरीको भरौलका श्यामकुमार बस्नेत द्वन्द्वकालका घाइते हुन् । तत्कालिन माओवादी पार्टीको जनसेनामा आबद्ध उनले २०५९ कार्तिकमा ओखलढुंगाको रुम्जाटार विमानस्थल आक्रमण गर्दा सरकारी फौजसँग भएको भिडन्तमा दाहिने खुट्टा गुमाएका थिए ।

बस्नेतलाई अहिले कृतिम खुट्टा लगाउन पनि आर्थिक अभावले पिरोलेको छ । उनी भन्छन्, ‘भर्खरै श्रीमतीको पथ्थरीको अपरेसन गर्नु परेबाट कृतिम खुट्टाको लागि चाहिने करिब एक लाख रुपैयाँ जुटाउन असम्भव भएको छ ।’

बस्नेतले अहिलेसम्म पाँचै पटक कृतिक खुट्टा फेरिसकेका छन् । यस क्रममा पार्टीको भोजपुर जिल्ला कमिटिबाट पाएको एक लाख र लडाकू शिविरबाट निस्कदा पाएको ६ लाख रुपैयाँ खर्च भएको उनले बताए । ‘हामी लडेर देशमा राजनीतिक परिवर्तन ल्याउन मद्दत ग¥यौं’, उनी भन्छन्, ‘तर घाइते भएर उचित उपचारको लागि तड्पिनु परेको अवस्था छ ।’

बस्नेत जस्तै झापाका खड्गबहदुर कन्दाङ्वा पाचँथरको गोपेटारको भिडन्तमा घाइते भएका थिए । सुरक्षा फौजको गोली लागेर उनको कम्मर मुनिको भाग चल्दैन । हिड्डुल गर्न उनलाई ह्विलचियर चाहिन्छ । ‘तत्कालीन राज्य व्यवस्थाविरुद्ध लड्दा घाइते भइयो’, कन्दाङ्वा भन्छन्, ‘राज्य व्यवस्था पनि परिर्वतन भएको छ तर, हाम्रो जीवनमा अध्यारो छाएको छ ।’

माओवादीले २०५२ सालबाट शुरु गरेको सशस्त्र विद्रोहको क्रममा १७ हजारभन्दा बढीको मृत्यु भयो । बेपत्ता र घाइते (अपाङ्ग) हुनेहरु पनि धेरै छन् । मुलुकमा गणतन्त्र आएको १२ बर्षमा पनि आफुहरुको अवस्थाबारे सरकारले ध्यान नदिएको बेपत्ताका परिवारजन र घाइतेहरुको गुनासो छ । सर्लाही (मलंगवा)को भिडन्तमा घाइते भएकी माओवादी लडाकू सीता राई भन्छिन्, ‘औषधी खान पनि माग्दै हिड्नु पर्ने अबस्था छ ।’

म्ांलगवाको बन्दीपुरमा सरकारी फौजसँग भएको भिडन्तमा उनकी बहिना शुशीला मारिएकी थिइन् । घाइते सीता सरकारबाट आफू र परिवारले पाउनुपर्ने कुनै किसिमको राहात अहिलेसम्म नपाएको बताउँछिन् ।

‘घाइते योद्धा प्रतिष्ठान’का अनुसार, प्रदेश १ मा रहेका करिव ६०० घाइते ‘योद्धा’मध्ये ४९० जना सम्पर्कमा आएका छन् । प्रतिष्ठानका सचिव राम कार्की राज्य व्यवस्था परिबर्तनका लागि हतियार उठाएर लामबद्ध भएकाहरु अहिले सामान्य स्वास्थ उपचारको अभावमा छट्पटाई रहेको बताउँछन् । उनी भन्छन्, ‘यो समस्याप्रति राज्य संवेदनशील हुँदैन भने मुलुकमा स्थायी शान्ति आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment