Comments Add Comment

डुवानको स्थायी समाधान खोजौं : मुख्यमन्त्री राउत

२ साउन, रौतहट । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी तथा डुवानको स्थायी समाधान खोज्नुपर्ने बताएका छन् । साथै विस्थापितहरुको पुनर्स्थापनाका लागि प्राधिकरण नै गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

बाढी पीडितलाई राहत वितरण गर्न बिहीबार गौर आएका मुख्यमन्त्री राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थायी समाधानका लागि पहल गर्नुपर्ने बताए । ‘नदीहरुलाई व्यवस्थित बनाउन र तटबन्धहरुको समुचित व्यवस्थापनका लागि कसैले ढिलो गर्नु हुँदैन,’ उनले भनेका छन् ।

संघीय सरकारले ठोस नीति बनाएर प्रदेश सरकार र स्थानीय तहको सहभागितामा काम गर्नुपर्ने आवश्यक्ता उनको जोड छ । यसबारे केन्द्र सरकारसँग पनि छलफल भएको भन्दै उनले भने, ‘अस्थायी रुपमा होइन, अधिकारसम्पन्न विपत व्यवस्थापन सम्बन्धी प्राधिकरण गठन गरेर बाढी बाट प्रभावित हुने क्षेत्रको नक्साकंन गरेर काम गरौं ।’

मुख्यमन्त्री राउतले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत बाढीमा मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ, खाद्यान्न तथा पाल हस्तारन्तरण गरेका थिए ।

प्रदेश सरकारले मृतकका परिवारलाई तीन लाख राहत दिने घोषणा यसअघि नै गरेको थियो । बाढी प्रभावित जिल्लामा प्रदेश सरकारले तत्कालका लागि १० लाख रुपैयाँका दरले राहत रकम पठाएको उनले बताए ।

विस्थापितहरुको पुनर्स्थापनका लागि केन्द्र सरकारसँग पहल भइरहेको पनि उनले बताए ।

शुक्रबार लाल बकैया र बाग्मती नदीमा आएको बाढी बस्तीमा पस्द रौतहटमा १० जनाको मृत्यु भएको छ भने सयौं परिवार विस्तापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment