Comments Add Comment

काठमाडौंभित्रै १५ हजार रुपैयाँ आनाको जग्गा !

Photo Credit : अनलाइनखबर फाइल

२ साउन, काठमाडौं । देशको राजधानी काठमाडौंमा जग्गा किन्ने र घर बनाउने रहर कसलाई नहोला । तर सानो कमाइले यहाँ जग्गा किन्न सकिने अवस्था कहाँ छ र ? आनाकै लाखौं-करोडौं पर्छ काठमाडौंमा ।

तर, यही काठमाडौं खाल्डोभित्र १५ हजार रुपैयाँ प्रतिआनामा जग्गा मूल्यांकन गरिएको छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । यो सरकारी मूल्यांकन हो । नयाँ आर्थिक वर्ष २०७६/७७ शुरु भएसँगै सरकारले सार्वजनिक गरेको जग्गाको मूल्यांकनमा काठमाडौंमा न्यूनतम १५ हजारसम्म दर तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामप्रसाद आचार्य नेतृत्वको समितिले काठमाडौं भित्रका जग्गाको मूल्यांकन गरेको हो ।

समितिका सदस्यहरुमा जिसस काठमाडौंका अधिकृत पिताम्बर अधिकारी, करदाता सेवाक कार्यालय कालिमाटीका कर अधिकृत दीपेन्द्र प्रकाश गिरी, नापी कार्यालय कलंकीका प्रमुख नापी अधिकृत सुरेश जोशी, नेपाल राष्ट्र बैंकका प्रतिनिधि नरेन्द्र सिंह विष्ट, उद्योग वाणिज्य संघ काठमाडौंका कृष्णमान श्रेष्ठ र मालपोत कार्यालय कलंकीका प्रमुख मालपोत अधिकृत देबीबहादुर भण्डारी सदस्य सचिव छन् । समितिले कलंकी र साँखु मालपोत क्षेत्रमा पर्ने जग्गाहरुको नयाँ न्यूनतम मूल्यांकन दर रेट तयार पारेको हो ।

उक्त समितिले काठमाडौंभित्र सबैभन्दा सस्तो १५ हजार रुपैयाँ मूल्यांकन गरेको छ ।

कुन क्षेत्रको कति ?

समितिले रिङ्गरोड चक्रपथ ट्रयाकसँग जोडिएको दायाँबाँयाको बल्खुदेखि वनस्थलीसम्मको प्रतिआना न्यूनतम ३५ लाख रुपैयाँ मूल्यांकन गरेको छ । काठमाडौं महानगरभित्रै विष्णुमति खोला पुलदेखि रविभवन वडा नम्बर १४ को सीमासम्म गणेशमान पथ र कालिमाटी चोकदेखि दक्षिणतर्फ बल्खु क्षेत्र प्रतिआना ३३ लाख रुपैयाँ न्यूनतम मूल्यांकन गरेको छ ।

यसैगरी सोही क्षेत्रमा पक्की सडक भएको १८ लाख रुपैयाँ, कच्ची मोटरबाटो भएको १५ लाख रुपैयाँ, गोरेटो बाटो भएको १० लाख रुपैयाँ र बाटो नभएको ६ लाख रुपैयाँ प्रतिआना मूल्यांकन गरिएको छ । यी सबै महानगरका १३ नम्बर वडाका हुन् ।

महानगरको वडा नम्बर १४ मा ३३ लाख रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म, वडा नम्बर १५ मा प्रतिआना २० लाख रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ ।
काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका क्षेत्रमा ३ लाख रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ ।

फर्पिङ-कुलेखानी मूल सडकले छोएको प्रतिआना ३ लाख रुपैयाँ, पक्की सडक छोएको १ लाख ५० हजार, कच्ची बाटो भएको १ लाख रुपैयाँ, गोरेटो बाटो भएको ६० हजार रुपैयाँ र बाटो नभएको जग्गालाई प्रतिआना २५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।

दक्षिणकाली नगरपालिकाको धेरैजसो क्षेत्रमा यस्तै मूल्य तोकिएको छ । उता चन्द्रागिरि नगरपालिकामा १५ लाख रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ भने नागार्जुन नगरपालिका क्षेत्रमा १२ लाख रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ ।

कीर्तिपुर नगरपालिकामा ११ लाख रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । कलंकी मालपोत कार्यालय अन्तर्गत पर्ने क्षेत्रहरुमा सबैभन्दा महंगो मूल्यांकन भने ३५ लाख रुपैयाँ हो भने सस्तो भनेको २५ हजार रुपैयाँ कम मूल्यांकन हो ।

साँखुमा १५ हजारको जग्गा !

सीईओ आचार्यकै समितिले मालपोत कार्यालय साँखु मातहतको क्षेत्रहरुको जग्गा पनि मूल्यांकन गरेको छ । साँखु मालपोत क्षेत्रमा प्रतिआना १५ हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ ।

साँखु सडकसँग जोडिएका वडा नम्बर ६ देखि ९ सम्म १७ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । यो क्षेत्रको सबैभन्दा बढी मूल्यांकन गरिएको क्षेत्र यहि हो । सबैभन्दा कम भने यहाँ प्रतिआना १५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।

यस क्षेत्रको नाङ्लेभारेमा बाटो नभएका जग्गाहरुको प्रतिआना १५ हजार रुपैयाँ मूल्याङ्कन गरिएको समितिले जनाएको छ । यही क्षेत्रमा गोरेटो बाटो भएकाको ३० हजार, मोटरबाटो भएकाको ५० हजार रुपैयाँ र पिच सडक भएकाको १ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।

साँघु मालपोत अन्तर्गत पुखुलाछीमा प्रतिबर्गकिलोमिटर ३ हजार १५० का दरले जग्गाको मूल्यांकन गरिएको छ । यस क्षेत्रमा पुनः नापी भएको कारण वर्गमिटरमा मूल्यांकन गरिएको समितिले जनाएको छ ।

तर, किनबेचको मूल्य कति ?

सरकारी समितिले निर्धारण गरेको मूल्य देखेर जोशिनु भने बेकार छ । किनकी किनबेचको मूल्य भने अर्कै हुन्छ । जग्गा खरिद गर्नु परेमा सरकारले गरेको मूल्यांकनभन्दा तेब्बर बढिसम्म भाउ हाल्नुपर्ने अवस्था छ ।

काठमाडौं जिल्लाका सहायक सीडीओ कृष्णबहादुर कटुवाल समितिले मूल्यांकन गरेकै रेटमा किनबेच नहुने बताउँछन् । समितिले राजश्व प्रयोजनका लागि न्यूनतम मूल्यांकन गरेको उनको भनाइ छ ।

तर, केही स्थानहरुमा भने मूल्यांकन गरिएको न्यूनतम मूल्यभन्दा पनि सस्तोमा जग्गा पाउन सकिने स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । सडकले छोएका र घर बनाउन सकिने ठाउँको जग्गा मूल्यांकनभन्दा निकै महंगोमा किनबेच हुने भए पनि बाटो नभएका डाँडापाँखाका जग्गा भने सस्तो हुने दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतले बताए ।

दक्षिणकालीमा आनाको न्यूनतम २५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । तर, कतिपय ठाउँमा २५ हजार रुपैयाँभन्दा कममा पनि पाउन सकिने मेयर बस्नेतको भनाइ छ ।

‘कतिपय ठाउँमा आनाको हिसाब नै हुँदैन, रोपनीमा मात्रै किनबेच हुन्छ,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘त्यस्तो ठाउँमा आनाको हिसाब गर्दा २५ हजारभन्दा पनि सस्तो पर्न आउँछ । ठूलो बाटोले छोएको जग्गा भने काठमाडौं महानगरकै हारहारीमा पनि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment