Comments Add Comment

अनेरास्ववियूलाई चन्दा उठाउन ‘प्रतिबन्ध’, निजी शैक्षिक संस्थासँग सहयोग लिए कारबाही

२ साउन,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले निजी शैक्षिक संस्थाहरुसँग कुनै पनि आर्थिक सहयोग नमाग्ने र नलिने नीति बनाएको छ । अखिलका कुनै पनि नेता कार्यकर्ताले संगठनका नाममा वा व्यक्तिगत रुपमा चन्दा उठाउन नपाउने भएका छन् ।

अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले बुधबार राजधानीमा साबिक अनेरास्ववियू र अखिल क्रान्तिकारीका उपलब्ध केन्द्रीय सदस्यहरुको भेलाले यस्तो निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो

विद्यार्थी आन्दोलन बद्नाम हुन नदिन र नेता कार्यकर्तालाई भ्रष्टिकरण हुन नदिन कुनै पनि निजी शैक्षिक संस्थाबाट आर्थिक सहयोग लिन नपाइने निर्णय गरिएको महरले बताए । आर्थिक संकलन गर्ने जोसुकै सदस्यमाथि अनुशासनको कारबाही हुने अनेरास्ववियूले जनाएको छ ।

अनेरास्ववियूले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरि बुधवारको बैठकका निर्णय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा महरले विद्यार्थी आन्दोलनमाथि बिभिन्न कोणबाट प्रश्न उठेकाले नयाँ ढंगबाट जानका लागि चन्दा र आर्थिक सहयोग बन्द गरिएको बताए ।

अनेरास्ववियूले कुनै पनि निजी स्कूल र कलेज सन्चालकसँग एक रुपैया पनि चन्दा लिन नपाउने र कुनै सदस्यले व्यक्तिगत वा संस्थागत प्रयोजनका लागि आर्थिक सहयोग लिएमा कारावाही गर्ने भएको छ । कुनै निजी शैक्षिक संस्था सन्चालकसँग व्यक्तिगत सम्बन्धका आधारमा पनि आर्थिक सहयोग लिन नपाइने अखिलले जनाएको छ ।

तीनपुस्ते नाता खुलाएर लिने दिने सहयोग बाहेक अनेरास्ववियूमा आबद्ध नेता कार्यकर्ताले कार्यालय सन्चालन, कार्यक्रमहरु चलाउने वा अधिवेशनहरुको नाममा पैसा उठाउन नपाइने महरले बताए । उनले संगठन सन्चालनका लागि कार्यकर्ताबाट लेबी उठाउने र पार्टीसँग समन्वय गरिने बताए ।

निजी शैक्षिक संस्थाहरुसँग आर्थिक सहयोग माग्दा विद्यार्थी आन्दोलन नैतिक रुपमा कमजोर हुने र मनपुरी शुल्क बृद्धिको बिरोधमा आन्दोलन गर्ने नैतिक साहस समेत नहुने अवस्था आउन थालेपछि यस्तो निर्णय लिनुपरेको अखिल नेताहरुले बताएका छन् ।

अखिलले विश्वविद्यालयका पदाधिकारी प्रतिस्पर्धाबाट नियुक्त गर्न समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment