Comments Add Comment

नक्कली प्रहरी, जसले अख्तियारमा दरबन्दी भन्दै वर्षौं ठगे

३ साउन, काठमाडौं । आमनागरिक जति सचेत हुँदै जान्छन्, ठगी हिँड्नेले पनि उति नै नयाँ शैली निकाल्दै जान्छन् ।

तर, एक जना यस्ता ठग अहिले प्रहरी नियन्त्रणमा पुगेका छन्, जसले वर्षौंदेखि एउटै शैली प्रयोग गरेर सरकारी कर्मचारीलाई ठगे । ठगी श्रृंखलाको २४ वर्षपछि सिन्धुलीको कमलामाई घर भइ काठमाडौंको डिल्लीबजार बस्ने नारायणसिंह बराल बुधबार दिउँसो पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसन्धान अधिकृतका अनुसार बरालको ठगी यात्रा ०५२ सालबाट सुरु भएको हो । उनले त्यसवेला आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दरबन्दी भएको प्रहरी निरीक्षक बताउँथे । र, मालपोत, नापी जस्ता ‘कमाउ अड्डा’मा गएर कर्मचारीलाई ‘ब्ल्याक मेल’ गर्थें ।

‘कतिपय ठाउँमा सेवाग्राहीसँगै हिँडेर घुस लिने कर्मचारीको रेकी गर्दै सम्बन्धित कर्मचारीलाई भाग माग्ने गरेको देखिएको छ’, एक प्रहरी अधिकृतले भने । उनको धन्दा एउटा कार्यालयमा मात्र सीमित थिएन । ठाउँठाउँका कार्यालय चहार्दै हिँड्थे ।

‘पक्राउ परेकै दिन पनि उनी चावहिल, डिल्लीबजार र कलंकी पुगेर ललितपुर आएका रहेछन्’, नापी कार्यालय, ललितपुरका प्रमुख नापी अधिकृत नारायण रेग्मीले अनलाइनखबरसँग भने ।

ठगी गरेरै उनले भक्तपुरमा घर बनाइसकेको स्रोतको भनाइ छ । उनले साढे दुई दशकदेखिको आफ्नो धन्दालाई उपत्यकाबाहिर समेत विस्तार गरिसकेका थिए ।

सुरुमा नक्कली निरीक्षक बनेका उनी ५ वर्षपछि आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) बताउन थाले । तर, दरबन्दी भने उही अख्तियार बताउँथे । बरालले कर्मचारी ठगी रहे, पोल खुल्ने डरले कर्मचारी पनि केही बताउन सकेनन् ।

अहिले उनले आफूलाई बढुवा गराएर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म पुर्‍याएका थिए । तर, धन्दा पनि लुकाउन सकेनन् ।

यसरी खुल्यो पोल

उनले ठगेरै लाखौं कमाए । तर, सधैँ कहाँ उस्तै हुन्छ र ! पछिल्लो समय कर्मचारीले उनीमाथि शंका गर्न थालिसकेका थिए । बराल भने निश्चिन्त हुँदै रवाफ देखाउँथे ।

एक कर्मचारीले उनको शैलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालसम्म पनि जानकारी गराए । अख्तियारका एक अधिकारीका अनुसार प्रारम्भिक सूचनाको आधारमा आयोगले बराल सरकारी कर्मचारी नै हुनसक्ने आशंका गरेको थियो ।

तर, जब अख्तियारको फन्दामा बराल परे, तब उनी कुनै सरकारी कर्मचारी नभएर नटवरलाल भएको खुल्यो । त्यसपछि आयोगले पक्राउ गरी बराललाई ललितपुर प्रहरी परिसरसमक्ष अनुसन्धान र कारबाहीका लागि बुझाइएको छ ।

लतिलपुर प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण चिमरिया भन्छन्, ‘हामीले ठगी मुद्दामा हिजै ५ दिन म्याद थप गरिसकेका छौं ।’ उनका अनुसार अहिले बरालको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment