Comments Add Comment

मेची राजमार्गको पहिरो रोकिएन, खुल्न अझै ३ दिन लाग्ने

४ साउन, विराटनगर । पहिरोका कारण अबरुद्ध मेची राजमार्गअन्तर्गतको राँके—फिदिम सडकखण्ड सञ्चालनमा आउन अझै तीन दिन लाग्ने भएको छ ।

राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३, पांग्रेभीरमा गत बुधबार पहिरो गएको थियो । जुन अहिलेसम्म रोकिएको छैन ।

जसका कारण पूर्वी पहाडी जिल्लासँगको यातायात सम्पर्क चार दिनदेखि टुटेको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।

प्रदेश १ सरकारका आर्थिक मार्मिला तथा योजना मन्त्री इन्द्र आङ्बोले पांग्रेभीरमा पहिरो जाने क्रम नरोकिएकाले वैकल्पिक मार्गमाफर्त सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

‘४ दिनअघि पांग्रेभीरमा गएको पहिरो अझैसम्म यथावत रहेकाले वैकल्पिक मार्गमार्फत सञ्चालनमा ल्याउने तयारी भएको छ’, मन्त्री आङ्बोले भने । मन्त्री आङ्बोका अनुसार तीन दिनमा सडक सञ्चालन गर्नेगरी काम भइरहेको छ ।

पहिरो खुलाएर सडक सुचारु गर्न दक्षिणी भागबाट सडक डिभिजन कार्यालय इलाम र पूर्वाधार डिभिजन कार्यालय पाँचथरबाट पहिरो पन्छाउने काम भए पनि दैनिक पाँचदेखि सात मिटर पहिरो खसेकाले तत्कालका लागि सडक सञ्चालन गर्न वैकल्पिक मार्गको खोजी भएको उनले जानकारी दिए ।

पूर्वाधार डिभिजन कार्यालय, पाँचथरले आपतकालीन बजेटमार्फत फागुनन्द गाँउपालिका–४, सिम्पुलाबाट गुम्बासम्मको करिब ६ किलोमिटर पुरानो ट्रयाकलाई विस्तार गरी सडक खुलाउने काम अघि बढाएको हो । त्यसका लागि कम्तीमा तीन दिन लाग्ने पूर्वाधार डिभिजन कार्यालय, पाँचथरका प्रमुख भरत शाहले जानकारी दिए ।

ढुङ्गा फुटाउँदा पहिरो जटिल 

मेची राजमार्गको कृष्णभीरको संज्ञा दिइएको पांग्रेभीरको ढुङ्गा फुटाउँदा पहिरोको समस्या निम्तिएको कतिपयकाे भनाइ छ ।

सडक विभागका प्राविधिकहरुले पांग्रेभीरलाई थामेको ढुङ्गा फुटाइदिँदा पहिरोको समस्या देखिएको प्रदेश सरकारका मन्त्री इन्द्र आङ्बोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment