Comments Add Comment

हरियालीले नमूना बन्यो तिलोत्तमाको ६ लेन सडक

५ साउन, बुटवल । सडकको दायाँ बायाँ एकनासका मझौला रुखको हरियाली, बीच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्य । बुटवलको राजमार्ग चौराहा हुँदै दक्षिणतर्फ भैरहवा र लुम्बिनी जाने जो कोहीले हरियालीयुक्त सडकका कारण छुट्टै आनन्द र फरकपन अनुभूति गर्न सक्छन् ।

योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसंगै सडकको दायाँ र बायाँ दुबैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका बिरुवाको हरियाली छाएको छ भने मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्य फुलेको छ ।

बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले सडकलाई हरियालीयुक्त बनाउन सडकका डिभाइडरमा स्टोनियाका बिरुवा लगाएको हो । तर बिरुवा हुर्काउने र संरक्षण गर्ने दायित्व भने नगरपालिका र स्थानीय बासिन्दाको छ । ६ लेन सडकको योगीकुटीदेखि नयाँ मिलसम्म ४ किलोमिटरमा सडकको दुबैतिर गरी करिब ४ हजार स्टोनियाका बिरुवा हुर्किसकेका छन् र मुख्य डिभाइडरमा करिब ५ हजार बेगनबेली फूल रोपिएको आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले बताए ।

सडक किनारका टोल विकास संस्था र कतिपय व्यापारिक संस्थाबीच रोपिएका बिरुवा संरक्षणमा प्रतिस्पर्धा नै छ । लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिले २० लाख रुपैयाँ खर्च गरेर तिलोत्तमा प्रवेशद्वार योगीकुटीमा लायन्स स्मार्ट पार्क नै बनाएको छ ।

विरुवा रोपिएको क्षेत्रलाई खण्ड खण्ड छुट्याएर टोल विकास संस्थाहरुले तार जाली लगाएर संरक्षण गरेका छन् । बिरुवामा सिञ्चाईका लागि ठाउँठाउँमा प्लाष्टिकका ठूला ड्रम (ट्याङ्की) मा पानी भरेर स्थायी रुपमा डिभाइडरमै राखिएको छ ।

‘दुई तीन वर्षमै ६ लेन सडकमध्ये चार किलोमिटरमा यति उत्कृष्ट हरियाली र सुन्दर सडक नेपालमा अरु ठाउँ छैन’ मिश्रले भने ‘तिलोत्तमाको कुशल नेतृत्व र स्थानीय टोल विकास संस्थाको साथले यहांको हरियाली र सौन्दर्य साँच्चिकै अनुकरणीय बनेको छ ।’

सडक निर्माण सम्पन्न भएपछि बेलहियासम्म नै वृक्षारोपण गर्ने योजना छ । स्टोनिया जातको रुख पानी कम भए पनि हुर्कने, छिटो बढ्ने, पात नझर्ने, धुलो सहन गर्न सक्ने, पशु चौपायाले नखाने र अत्यधिक अक्सिजन उत्सर्जन गर्ने आयुर्वेदिक औषधियुक्त बिरुवा मानिन्छ ।

तिलोत्तमामा पर्ने ११ किलोमिटरमध्ये बाँकी ७ किलोमिटरलाई पनि यस्तै हरियालीयुक्त बनाउने गरी योजना अघि बढाइएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । ‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा नारालाई सार्थक बनाउन सिक्स लेन सडकको हरियाली सबैका लागि नमूना भएको छ, हामीलाई उत्साहित बनाएको छ’ उनले भने, ‘देश–विदेशबाट तिलोत्तमामा आउने सबैले हाम्रो कामको प्रशंसा गर्दै आफ्नो ठाउँमा अनुशरण गर्ने बताउनुहुन्छ ।’

५० हजार वृक्षारोपण गरिंदै

तिलोत्तमा नगरपालिकाले नगरलाई हरियालीयुक्त बनाउन र वातावरण संरक्षणका लागि यो वर्ष ५० हजार विरुवा रोप्न वृक्षारोपण सप्ताह सुरु गरेको छ । आँप, अम्बा, अनार, कागती, लिची, कटहर, अमला, जामुन, सुपारी, टिक, बकाइनो, खयर, बेगनबेली फूललगायत विभिन्न प्रजातिका विरुवाहरु रोपिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

सामुदायिक र नीजि विद्यालय, सामुदायिक वन, बुद्ध परिक्रमा सडक र खुला ठाउँ र पार्कहरुमा साउनभरिमा ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको नगरपालिकाका वातावरण शाखा प्रमुख गिरिराज डुम्रेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment