Comments Add Comment

माइलाको गिरफ्तारीले वार्ता बिथोलिँदैन : सरकार

वार्ताको हल्ला गरेर सरकारले दमन गरिरहेको छ : विप्लव समूह

५ साउन, काठमाडौं । सरकारले एकातिर विप्लव समूहसँग भित्रभित्रै वार्ता गरिरहेको छ, अर्कातिर यही बेला उपत्यका ब्युरो इञ्चार्ज माइला लामालाई पक्राउ गरिएको छ । वार्ताका लागि प्रयोग गरिएका सूत्र मध्येकै एक रहेका लामा पक्राउ परेपछि विप्लव समूहभित्र तरंग उत्पन्न भएको छ ।

लामाको गिरफ्तारीबाट प्रतिबन्धित नेत्रविक्रम चन्दको समूह सशंकित बनेको छ । कतै माइलाको गिरफ्तारीले वार्ताको वातावरण नै बिथोलिने पो हो कि भन्ने प्रश्नसमेत उत्पन्न भएको छ ।

अनलाइनखबरसँग सम्पर्कमा आएका विप्लव समूहका एक नेताले बाहिरी रुपमा सरकारले वार्ताको हल्ला चलाए पनि व्यवहारिकरुपमा नेता/कार्यकर्तालाई गिरफ्तार र धरपकड गर्ने नीति जारी राखेको गुनासो गरे । ‘वार्ताको हल्ला गरेर सरकारले हामीमाथि दमन गरिरहेको छ’, उनले भने ।

तर, सरकारले गठन गरेको वार्ता टोलीका संयोजक सांसद सोमप्रसाद पाण्डे भने लामाको गिरफ्तारीले वार्तामा कुनै असर नगर्ने दाबी गर्छन् ।
‘अहिले दुवै पक्षबाट गतिविधिहरु भइरहेका छन् । यसलाई रोक्नका लागि पनि वार्ता आवश्यक हो’, पाण्डेले अनलाइनखबरसँग भने, ‘अनौपचारिक छलफलबाट टुंगो लाग्ने हो भने हामी सिधै टेबुलमा बसेर छलफल गर्न पनि तयार छौं । प्रधानमन्त्रीज्यू पनि तयार हुनुहुन्छ ।’

पाण्डेले माइला लामा आफ्नो सम्पर्क सूत्र नभएको पनि दाबी गरे । ‘मेरोचाहिँ उहाँसँग सम्पर्क भएको थिएन । अरुसँग भए थाहा भएन’, उनले थपे, ‘मैले सम्पर्क गर्नचाहिँ खोजेको थिएँ । तर, भएन ।’

सरकार र विप्लवका आ-आफ्नै अडान

अघिल्लो साता भूमिगत स्थानबाट अनलाइनखबरसँग अन्तरवार्ता दिएका विप्लव समूहका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन ‘निर्वाण’ले वार्ताका नाममा सञ्चारमन्त्रीले मिडियामा बोलेको धम्कीपूर्ण भाषाबाहेक कुनै सूचना नआएको बताएका थिए । उनले सरकारबाट औपचारिक पत्र आए वार्ताबाट नभाग्ने नीति रहेको पनि बताएका थिए ।

तर, सरकारी पक्ष भने अहिल्यै पत्राचार गर्ने पक्षमा छैन । वार्ता समिति संयोजक पाण्डे विगतको नजिरले पनि पहिले अनौपचारिक संवादबाट वार्ताको वातावरण तयार भएपछि मात्रै पत्राचार हुने बताउँछन् ।

‘अहिले सबै अनौपचारिक संवाद भइरहेका छन् । त्यसैलाई औपचारिक दिने वातावरण दुवै पक्षले बनाउनुपर्छ’, पाण्डेले भने, ‘वार्ताका लागि दुवै पक्ष तयार नभई पत्रको मात्र पनि औचित्य रहँदैन ।’

यो पनि पढ्नुहोस ‘खुला राजनीतिमा आउन तयार छौं’

विप्लव समूहले वार्ताका लागि पहिलो सर्तका रुपमा पार्टीमाथि २८ फागुनदेखि लगाइएको प्रतिबन्ध फुकुवा गरेर गिरफ्तार गरिएका नेता, कार्यकर्तालाई थुनामुक्त गर्नुपर्ने सर्त राखेको छ । तर, विगतमा झैँ वार्ताको नाममा नेता, कार्यकर्ता छुटाएर सो समूहले शक्ति सञ्चित गर्नतिर लाग्न सक्ने सत्तापक्षमा त्रास देखिन्छ ।

‘वार्ताका लागि राखिने सर्त मान्छेले हसिमजाक गर्ने खालको पनि बन्नुभएन’, पाण्डे भन्छन्, ‘राजनीतिक एजेण्डाका साथ आउनुपर्‍यो, वर्तमान परिस्थितिको मूल्यांकन र विश्लेषण पनि गर्नुपर्‍यो ।’

संसदीय व्यवस्था नै हटाउने गरी वार्ता सम्भव नभएको बताउँदै पाण्डेले अहिलेको अवस्थामा लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए ।
‘यस्ता कुरामा ध्यान पुर्‍याएर सल्लाह गर्न सकियो भने वार्ताको टेबुलमा बस्ने दिन टाढा छैन’, पाण्डेले भने ।

लामाको पक्राउको असर कति ?

हाल विप्लव समूहको उपत्यका ब्युरो इञ्चार्ज रहेका माइला लामा ०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं-९ बाट चुनाव लडेका थिए ।
उनी तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए ।

माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ । उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् । उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द (विप्लव)को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ ।

सांस्कृतिक पाटोमा लामा सफल देखिए पनि सैन्यतर्फ लामा असफल भएको विप्लव समूहभित्र छलफल भएको स्रोतले बतायो । किनकि, वसुन्धारा र अनामनगरमा भएको ‘आत्मघाती विष्फोट’मा लामाको पनि उत्तिकै दोष रहेको नेता, कार्यकर्ताको बुझाइ छ ।

‘यो कामको जिम्मेवारी उपत्यका ब्युरो इञ्चार्जलाई नै दिइएको थियो’, समूहका एक नेताले भने, ‘वसुन्धारा र अनामनगरमा त विष्फोट भयो, भयो । नागढुंगामा पनि हाम्रै कार्यकर्ता घाइते भए ।’ यी घटनापछि पार्टीभित्र पनि उनको विकल्प खोज्नु पर्ने विषयमा छलफल भएको स्रोत बताउँछ ।

विप्लव समूहसँग वार्ताका लागि सरकारको विभिन्न टोली सक्रिय छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समूहसँग छलफलका लागि महासचिव विष्णु पौडेललाई अनौपचारिक जिम्मेवारी दिएका छन् भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्मा ‘प्रभाखर’लाई खटाएका छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को तर्फबाट पनि छुट्टै टोली वार्ताका लागि सक्रिय छ । बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले यो टोलीको नेतृत्व गरेका छन् ।

यो पनि पढ्नुहोस विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

यही टोली मध्येका एक नेतासँग लामाको निरन्तर छलफल भइरहेको थियो । तर, पक्राउ परेसँगै पूर्वमाओवादी समूहको एउटा सम्पर्क सूत्र टुटेको छ । तर, यसले वार्ताका लागि कुनै प्रभाव नपार्ने एक नेताले अनलाइनखबरसँग दाबी गरे ।

प्रचण्ड र बादलकै स्कुलिङबाट छुट्टिएका कारणले पनि पूर्वमाओवादी समूहसँग विप्लव समूहको समन्वय सहज देखिन्छ । गुप्तचरी संयन्त्र स्रोत पनि पूर्वमाओवादीसँग विप्लवकै समेत अनौपचारिक छलफल भइरहेको दाबी गर्छ । ‘चाँडै केही आश्चर्यजनक नतिजा निस्किन सक्छ’, स्रोतले भन्यो ।

त्यसो त वार्ताका लागि अनौपचारिक संवाद भइरहेकै बीच केपी ओली नेतृत्वको सरकारले गरेको माइलाको गिरफ्तारीले विप्लव समूहलाई झन् बिच्क्याउन सक्ने पनि देखिन्छ ।

सुरक्षा निकायको दृष्टिकोणबाट चाहिँ माइलाको पक्राउले काठमाडौंमा चन्दा आतंकको एउटा श्रृंखला केही समयका लागि भए पनि टरेको छ ।

प्रहरीका एक उच्च अधिकृतले भने, ‘चन्दा संकलनको पक्षबाट हेर्ने हो भने यो पीडितका लागि सबैभन्दा ठूलो न्याय हो ।’

प्रहरीको दाबी के छ भने एनसेल, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ लगायतसँग लामाले नै चन्दा मागेका थिए । तर, भनेजति रकम नदिएपछि विष्फोट गराइएको थियो ।

विप्लव समूहलाई एकपछि अर्को क्षति

ललितपुरको नख्खुमा एकजनाको मृत्यु र तीनजना घाइते हुने गरी भएको शक्तिशाली विष्फोटपछि प्रतिबन्ध खेपेको विप्लव समूहले एकपछि अर्को क्षति व्यहोरिरहेको छ । हालसम्म सो समूहका तेस्रो वरियताका नेता हेमन्तप्रकाश ओली उर्फ सुदर्शनसहित ५७९ जनालाई सरकारले नियन्त्रणमा लिइसकेको प्रहरीको दाबी छ ।

यो अवधिमा प्रहरीसँग भएको मुठभेडमा विप्लव समूहका ३ जना नेता मारिएका छन् भने नेपाल प्रहरीतर्फ पहिलो पटक २५ असारमा भोजपुरमा जवान सञ्जिव राई मारिएका छन् ।

विप्लव समूहले सुरक्षा निकायमाथि आक्रमण गर्ने कुनै नीति नभएको बताइरहे पनि हिंसात्मक गतिविधि रोकिएका छैनन् ।

यो पनि पढ्नुहोस विप्लव समूह प्रहरीसँग आमने सामने भएको हो ?

‘दोहोरो झडप’बाट उत्पन्न परिस्थितिभन्दा बढी ‘आफ्नै एम्बुस’मा परेर समूहलाई ठूलो मानवीय क्षति भएको छ । सो समूहले १३ जेठका लागि आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अनामनगर र वसुन्धारामा भएको ‘आत्मघाती’ विष्फोटमा पार्टीकै ४ जना कार्यकर्ताहरु मारिउका थिए । विस्फोटमा परेर ज्यान गुमाउनेमा समूहको सैन्यतर्फका विभुराम भनिने दिपेश विक, गोकुल राना मगर, निरन्तर मल्ल र प्रज्वल शाही थिए ।

राजधानीका विभिन्न ठाउँमा राख्ने योजनासहित भित्र्याइएका विष्फोटक पदार्थ प्राविधिक ज्ञानको अभावका कारण विष्फोट हुँदा उनीहरुको ज्यान गएको प्रहरीको निश्कर्ष छ ।

त्यसैगरी धनगढीमा २ साउनमा भएको विष्फोटमा पनि पूर्वलडाकू समेत रहेका विप्लव समूहकै कार्यकर्ता राम सिंहको मृत्यु भएपछि समूह दबाबमा छ । त्यहाँ विष्फोटक पदार्थ आसोर्दै गर्दा ‘दुर्घटना’ भएको प्रहरीले जनाएको छ, जसलाई विप्लव समूहले पनि स्वीकारिसकेको छ । घटनामा समूहकै लक्ष्मण सेरला पनि घाइते छन् ।

मानवीय क्षति एकातिर छ भने भोजपुरमा प्रहरी जवानको मृत्यु भएपछि समूहले राजनीतिक क्षति पनि व्यहोर्नु परेको छ । प्रहरीको गोलीबाट विप्लव समूहका नेता कुमार पौडेलको गैरन्यायिक हत्या भएको आवाज उठिरहे पनि जवानको मृत्युले विप्लव समूहलाई नै ‘ब्याक फायर’ गरेको छ ।

समूहभित्र आन्तरिक द्वन्द्व

नेपाल प्रहरीको गुप्तचरी निकाय विशेष ब्युरोको राजनीतिक सेलमा प्राप्त विवरणमा हाल विप्लव समूहभित्र आन्तरिक द्वन्द्व चर्किएको दाबी गरिएको छ । २३ साउन ०७५ मा नागढुंगाबाट दोस्रो वरियताका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेपछि महासचिव विप्लव उनीसँग रुष्ट बनेको बताइँदै आएको छ ।

दुई नेताबीचको सम्बन्धमा तिक्तता आउनुका दुई कारण थिए, पहिलो- गाडीमा यात्रा नगर्नू भन्ने निर्देशन हुँदाहुँदै उनी सार्वजनिक सवारीमा चढेका थिए, त्यही कारण पक्राउ पनि परे । दोस्रो चाहिँ प्रहरीले चलाएको अपरेशनका क्रममा प्रकाण्डसँग भएका समूहका गोप्य दस्तावेज सरकारको हातमा पुगेको थियो ।

हिरासतमा रहेका वेला पनि पार्टीमा छलफलविनै थुनामुक्त हुनका लागि डा. बाबुराम भट्टराई लगायतका नेताको सहारामा लिएको प्रकाण्डमाथि आरोप थियो । यही कारण उनी प्रवक्ताबाट हटाइएका थिए ।

यो पनि पढ्नुहोस विप्लवसँग लुकामारी ! प्रहरी समात्ने, अदालत छाड्ने

वार्ताका लागि गठित सरकारको विभिन्न सम्पर्क सूत्रसँग पनि नजिकिएपछि प्रकाण्डको विकल्प विप्लवले खोज्न थालेको रिपोर्ट गुप्तचरी संयन्त्रसँग छ । प्रकाण्डको विकल्पको रुपमा विप्लवले ओमप्रकाश पुनलाई प्रस्तुत गर्दै लगेको स्रोत बताउँछ ।

तर, पुन भने पार्टीमा गुटबन्दी रहेको अस्वीकार गर्छन् । उनले अनलाइनखबरसँग भने, ‘हाम्रो पार्टीमा यसको वा त्यसको गुट/समूह भन्ने छैन । यो ओली सरकारले चलाएको अफवाह मात्र हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment