Comments Add Comment

बैंकर्स भन्छन्– मौद्रिक नीति सन्तुलित

९ साउन, काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिका विषयमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । धेरै उद्योगी व्यवसायीले मौद्रिक नीतिमा असन्तुष्टि व्यक्त गरिरहँदा बैंकिङ क्षेत्र भने खुसी देखिएको छ ।

बजारमा निकै चर्चा भएको ठूला बैंकहरूको मर्जर (बिग मर्जर)लाई मौद्रिक नीतिले खासै महत्त्व दिएन । यसलाई बाध्यकारी नबनाएर प्रोत्साहनकारी बनाएपछि बैंकिङ क्षेत्रले राहत महसुस गरेको छ । मौन्द्रिक नीति समग्रतामै सन्तुलित नै भएको बैंकर्सहरूको प्रतिक्रिया छ ।

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूको नाफामा गिरावट आउने देखिए पनि समग्रमा राम्रै भएको उनीहरूले बताएका छन् । केही बैंकरहरूको धारणा, उनीहरूकै शब्दमा:

हाम्रा माग सम्बोधन भयो
ज्ञानेन्द्र ढुंगाना, अध्यक्ष, बैंकर एसोसिएसन नेपाल एवं सीईओ एनबी बैंक
हामीले मौद्रिक नीतिका लागि २७ बुँदामा विभिन्न सुझावहरू दिएका थियौं । हाम्रो सुुझावमा तरलता व्यवस्थापन र ब्याजदर स्थायित्वका विषयहरू थिए । हाम्रा अधिकांश मागहरू मौद्रिक नीतिले सम्बोधन गरेको छ ।

पुनःकर्जाको दर मौद्रिक नीतिले घटाएको छ भने आधारदरमा २ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाइने व्यवस्था पनि गरिएको छ । केही विषयहरू समेटिन सकेनन् होला । यस वर्ष नसमेटिएका विषयहरू आगामी वर्षको मौद्रिक नीतिले समेट्ला भन्ने लाग्छ ।

समग्रमा हेर्दा आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति सन्तुलित छ । केही व्यवस्थाले बैंकको मुनाफा घट्ने संकेत देखिएको छ । आकार बढ्यो भने नाफा बढ्छ । सेवा शुल्क घटाइएको छ, यसले थोरै असर पर्छ ।

‘तरलता र ब्याजदरमा स्थिरता आउँछ’
अनिलकेसरी शाह, सीईओ, नविल बैंक
मौद्रिक नीतिले केही नाफा घट्ने स्पष्ट संकेत देखिएको छ । तर नाफा घटाउने भयो भनेर चित्त दुखाउनुपर्छ भन्ने मलाई लाग्दैन । बैंक नाफा गर्नका लागि मात्रै होइन । हामी छोटो समयका लागि होइन लामो समयका लागि हेर्छौं ।

यसकारण यो मौद्रिक नीतिले बैंकिङ क्षेत्रमा भइरहने उतारचढावलाई नियन्त्रण गर्दै स्थिर बनाउन खोजेको छ । यो राम्रो पक्ष हो । हामीले केही वर्षदेखि लगानीयोग्य रकमको अभाव झेल्दै आएका छौं । ब्याजदरमा तीव्र उचारचढाव हुँदा पनि हामीले समस्या भोगेका छौं । यो मौद्रिक नीतिले यसलाई स्थिर बनाउँछ भन्ने मलाई लागेको छ । यसकारण म आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिप्रति सकारात्मक छु ।

‘मर्जरमा दिएको सुविधा सकारात्मक’
अशोक शेरचन, सीईओ, प्रभु बैंक
मौद्रिक नीति समग्रमा राम्रो आएको छ । पछिल्लो समय निकै चर्चामा रहेको मर्जरको विषय सुविधाका हिसाबले समेटिएको छ । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई विभिन्न सुविधा दिने भनिएको छ । यसले बैंकिङ क्षेत्रमा राम्रै असर गर्छ ।

शाखा खोल्ने सन्र्दभमा पनि सबै गाउँपालिकाहरूमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति हुनुपर्ने नीति लिइएको छ । यसका लागि पनि प्रोत्साहन गर्न खोजिएको छ । प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा जानै पर्छ भन्ने नीति पनि समावेश गरिएको छ । समग्रमा मौद्रिक नीति राम्रो मान्नु पर्छ ।

‘चर्चा चलेको विषय समेटिएन’
मनोज ज्ञवाली, महासचिव, डेभलपमेन्ट बैंकर्स एसोसिएसन
मौद्रिक नीति आउनुपूर्व निकै चर्चाको विषय मर्जरको थियो ।सुरुमा मर्जरका विषयमा चर्चा चलेको विषय समेटिएन । मर्जरमा जानेलाई विभिन्न किसिमका छुट तथा सहुलियत दिने नीति लिइएको छ ।

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरूलाई प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी नगरे पेनाल्टी नलगाएर छुट दिने, कुलिङ पेरियडमा छुट दिने, स्प्रेड रेटका लागि समय दिनेलगायतका सुविधा दिइएको छ । यी राम्रै कुरा हुन् ।

सेवा शुल्कमा कटौती गरिएको छ । बैंक तथा वित्तीय संस्थाले बेच्दै आएको बीमा पोलिसी बन्द भएको छ । यसले बैंक तथा वित्तीय संस्थाको मुनाफामा केही असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment