Comments Add Comment

धुवाँ फाल्ने गाडीको जाँच हुन्छ, कारबाही हुँदैन !

ठूला गाडीको प्रदुषण नाप्ने यन्त्र छैन, आँखाले हेरेर जाँचिन्छ

९ साउन, पोखरा । पोखरा पुरानोधारा बस्ने रवीनलाई श्वासप्रश्वासको समस्या छ । धुलो र धुवाँको नजिक पर्नै नपरे हुन्थ्यो भन्ने उनलाई लाग्छ । तर, जब बाटोमा निस्किन्छन्, कालो धुँवा पुत्पुताउँदै आएको बसदेखि भने टाढा भाग्नै सक्दैनन् । उनको गुनासो छ, ‘बाँच्न काम गर्नैप¥यो । कामका लागि बाहिर निस्किनै प¥यो, बाहिर निस्केपछि धुवाँसँग जम्काभेट भइहाल्छ । बसले धुवाँ फाल्दा सासै अड्केलाजस्तो हुन्छ ।’

पोखरा न्युरोड बस्ने विशालको पनि त्यस्तै गुनासो छ । उनको आँखामा समस्या छ । त्यसमाथि मोटरसाइकल चलाउँदा अघिअघि जाने नगर बसले फाल्ने कालो धुवाँले उनलाई सकसै पार्ने गरेको छ । आँखालाई धुवाँ र धुलोबाट टाढा राख्न डाक्टरले सुझाएको भए पनि बाटोमा गाडीले फाल्ने धुवाँबाट बच्न सकेका छैनन् ।

यातायात व्यवस्था कार्यालय पोखराले गत भदौबाट सवारी साधनले फाल्ने कालो धुवाँ पहिलोपटक जाँच गर्न सुरु गरेको छ । तर, सवारीसाधन जाँच उचित ढंगले नहुँदा सेवा प्रभावकारी हुन सकेको छैन । गाडीले फाल्ने कालो धुवाँमा कमी आएको छैन ।

कालोे धुवाँ फाल्ने गाडी जाँचका क्रममा मापदण्डविपरीत फेल भए पोखरामा गाडी चलाउन नपाउने नियम छ । तर, मापदण्डविपरीत धुवाँ फाल्ने गाडी पोखरामा मात्रै चल्न नपाइने र त्यसबाहेक अन्य कारबाही गर्ने प्रावधान नहुँदा वायु प्रदूषण गर्ने गाडीमा कमी आउन सकेको छैन ।

कार्यालयले गएको आर्थिक वर्षमा ३ हजार ७ भन्दा बढी गाडीको प्र्रदूषण जाँच गरेको छ । त्यसमध्ये ६ सय ९४ वटा गाडी जाँचमा फेल छन् । जाँच पास भएका गाडीले हरियो स्टिकर पाउँछन् । तर बिनास्टिकरका गाडी पनि पोखरामा बग्रेल्ती गुडिरहेका छन् ।

यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर प्रेम सुवेदी आफूहरुले गाडीको प्रदूषण जाँच गरे पनि फेल भएकालाई कारबाही गर्न नसकेको स्वीकार्छन् । ‘ट्राफिक प्रहरीले अन्य तरिकाले कारबाही गरेमात्रै हो । यातायात कार्यालयले प्रदूषण जाँच फेल भएका पोखरा क्षेत्रमा चल्न नपाइने नियमबाहेक अरु प्रावधान छैन,’ उनले भने ।

प्रदूषण चेक जाँचका क्रममा डिजेलबाट चल्ने सवारी साधनले ६५ स्मोक डेनसिटीभन्दा तलको अंकलाई पास मानिन्छ । पेट्रोलबाट चल्ने सवारीले कार्बोन मोनोअक्साइड ३ प्रतिशतसम्म र हाइड्रो कार्बन १ हजार पिपिएमसम्म मापदण्ड तोकिएको सुवेदीले जानकारी दिए । गाडीको प्रदूषण चेक पास भइसकेपछि कालो नम्बर प्लेटलाई ६ महिनाका लागि हरियो स्टिरक दिइने र रातो नम्बर प्लेटलाई १ वर्षको समयावधि दिइने उनले सुनाए ।

प्रदूषण नाप्न सानालाई मेसिन, ठूलालाई आँखा !

यातायात व्यवस्था कार्यालय कास्कीमा सवारी साधनले फ्याँक्ने धुवाँको प्रदूषण नाप्न २ वटा मेसिन छन् । कार्यालयमा एउटा डिजेलबाट चल्ने गाडीको धुवाँ नाप्ने यन्त्र छ भने अर्को पेट्रोलको । तर ती मेसिनले भने ठूला भार क्षमताका गाडीको प्रदूषण नाप्न सक्दैन ।

कार्यालयले साना ४ पांग्रे सवारी साधनलाई मात्रै मेसिनबाट प्रदूषण जाँच गर्दै आएको छ । त्यसबाहेक अन्य ठूला सवारी साधनलाई भने मेसिनले नभई आँखाले ‘हेरेरै’ प्रदूषण चेकजाँच भइरहेको इन्जिनियर सुवेदीले जानकारी दिए ।

‘साना ४ पांग्रे जिप, कार, भ्यान, ट्याक्सीमात्रै मेसिनले चेकजाँच गरिन्छ,’ उनले भने, ‘त्यसबाहेकका अन्य ठूला बस, ट्रकलगायतका सवारी साधन चेकजाँच गर्ने हामीसँग प्रविधि छैन । आँखाको भिज्युअल परीक्षण हुन्छ ।’ उनले ठूला बसले धेरै धुवाँ फाल्ने भए पनि नाप्न प्रविधि नहुँदा हेरेरमात्रै परीक्षण गर्नु परेको सुनाए ।

कालो धुवाँ उडाउँदै हिँड्छन्, समाउँदा जाँच पास हुन्छ : मिश्र

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख मुरारी मिश्रले प्रदूषण चेकजाँच पास भएका गाडीले पनि कालो धुवाँ उडाउँदै गुडिरहेको स्वीकारे । ‘पोखरा क्षेत्रमा कालो धुवाँ उडाउँदै गाडी गुड्छन् । नियन्त्रणमा लिएर हेर्दा प्रदुषण पास कागजपत्र हुन्छ,’ मिश्रले भने, ‘हामी त कानुनी हिसाबमा जाने हो । यातायात कार्यालयले नै धेरै ध्यान दिए सजिलो हुने थियो ।’

मिश्रले प्रदूषण फेल भएका सवारी साधनलाई भने कानुनी व्यवस्था अनुसार कारबाही गरिरहेको सुनाए । ‘कुनै कुनै त अत्ति नै हुने गरी कालो धुवाँ फ्याँक्दै गुडिरहेका हुन्छन्,’ मिश्रले भने, ‘उनीहरुलाई नियम अनुसार कारबाही गर्न हामीले पाउँदैनौं । त्यसैले पुनः जाँच गरेर आउन पनि भनिरहेका छौं ।’ उनले कालो धुवाँ उडाउने गाडी गुड्न बन्द गर्न यातायात कार्यालयले नै प्रदूषण जाँचमा कडाइ गर्नुपर्ने औंल्याए ।

कास्कीमा गएको आर्थिक वर्षमात्रै ४ हजार ६ सय वटा ४ पांग्रे सवारी साधन नयाँ दर्ता तथा नवीकरण भएका छन् । कार्यालयका प्रशासन सहायक कृष्ण विकका अनुसार २ पांग्रे सवारीसाधन १७ हजार दर्ता भए । ‘त्यसमध्ये २ सय ३० वटा मोटर साइकल र ६१ वटा स्कुटर सरकारी हुन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment