Comments Add Comment

गंगालाल हृदयरोग केन्द्रको पहिलो शाखा जनकपुरमा

९ साउन, जनकपुरधाम । शहीद गंगालाल हृदय केन्द्रको पहिलो शाखा प्रदेश २ को राजधानी जनकपुरधाममा स्थापना भएको छ ।

जनकपुुर अञ्चल अस्पताल प्राङ्गणभित्रै करिब ६ महिनाअघि स्थापना भएको केन्द्रको बिहीबार औपचारिक रुपमा उद्घाटन भएको छ ।

उपप्रधानमन्त्री स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवले केन्द्रको उद्घाटन गरेका हुन् । यो केन्द्र २०७५ साल माघ १५ गते नै स्थापना भई मुटु रोगीहरुलाई सेवा दिँदै आएको छ । शाखामार्फत् तत्काल बहिरंग सेवा प्रदान गर्दै आएको छ ।

केन्द्रको शाखा उद्घाटन गर्दै मन्त्री यादवले मुटुका अत्यधिक बिरामी रहेको यस क्षेत्रमा यो शाखाले सहयोग हुने विश्वास व्यक्त गरे । बहिरंग सेवाले मात्र सम्पूर्ण उपचार सम्भव नरहेको उल्लेख गर्दै उनले यो अस्पताललाई सुदृढ बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

मन्त्री यादवले जनकपुर अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर गंगालाल हृदयकेन्द्र शाखालाई समेत त्यससँग समन्वय गराएर अगाडि बढ्ेमा अस्पताल र हृदय केन्द्र दुबैलाई फाइदा हुने बताए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हृदय केन्द्रको स्थापनाले प्रदेशमा रहेको मुटुरोगीहरुको उपचारमा सहयोग पुग्ने भएकाले आवश्यक सबै प्रकारको सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

शहीद गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक ज्योतेन्द्र शर्माले सबै प्रदेशमा एक÷एक वटा शाखा विस्तार गर्ने योजना अनुरुप पहिलो पटक प्रदेश २ मा स्थापना गरिएको बताए ।

केन्द्रलाई विस्तार गर्नका निम्ति जनकपुर अञ्चल अस्पतालले जग्गा उपलब्ध गराइसकेको हुँदा आगामी तीन बर्षभित्र आकस्मिक र अन्तरंग विभागको भवन बनिसक्ने विश्वास दिलाए ।

उनले स्थापना भएको मितिदेखि अहिलेसम्म चार हजार मुटुका बिरामीको जाँच गरिसकिएको जानकारी दिँदै तत्कालका लागि मुटु परीक्षण, इसिजी, ल्याब, एक्सरेसहितका सेवा प्रारम्भ गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment