+
+
Shares

ललितपुरमा ‘स्मार्ट स्ट्रिट लाइट’ (तस्वीरहरू)

महानगरका प्रमुख चिरिबाबु महर्जनकाअनुसार भित्री र बाहिरी सडकहरूमा स्मार्ट लाइट जडान गर्ने कार्य लगभग सम्पन्न भइसकेको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असार ६ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्मको ७.९ किलोमिटर चक्रपथ खण्डमा १३ करोड रुपैयाँको लागतमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिरहेको छ ।
  • नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा आगामी तीन महिनाभित्र ७ सय ९० वटा पोल र आधुनिक बत्ती जडान गर्ने काम सकिने महानगरले जनाएको छ ।
  • महानगरले निर्माण गरिरहेको अपाङ्गतामैत्री आकाशे पुलको काम अन्तिम चरणमा पुगेको र आगामी तीन महिनाभित्र लिफ्टसहित उद्घाटन गरिने प्रमुख चिरिबाबु महर्जनले बताए ।

६ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डलाई ‘स्मार्ट स्ट्रिट लाइट’ मार्फत उज्यालो बनाउने अभियान तीव्र बनाएको छ ।

‘उज्यालो महानगरपालिका’ योजना अन्तर्गत महानगरले बालकुमारी पुलदेखि बल्खुसम्मको ७.९ किलोमिटर सडक खण्डमा आधुनिक सडक बत्ती जडान कार्य अगाडि बढाएको हो ।

महानगरका प्रमुख चिरिबाबु महर्जनकाअनुसार भित्री र बाहिरी सडकहरूमा स्मार्ट लाइट जडान गर्ने कार्य लगभग सम्पन्न भइसकेको छ । दोस्रो चरणको यस आयोजना अन्तर्गत हाल चक्रपथको अन्धकार हटाउन नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा काम भइरहेको छ ।

यस आयोजनाको कुल लागत १३ करोड रुपैयाँ रहेको छ । जसमा ललितपुर महानगरपालिकाले १० करोड र नेपाल विद्युत प्राधिकरणले ३ करोड रुपैयाँ लगानी गरेका छन् ।

सडकमा बत्ती नहुँदा रात्रिकालीन समयमा हुने सवारी दुर्घटना र अवाञ्छित गतिविधिहरूलाई न्युनिकरण गर्ने उद्देश्यले यो आयोजना सञ्चालन गरिएको महानगरले जनाएको छ । आयोजना अन्तर्गत विभिन्न उचाईका ७ सय ९० वटा पोलहरू जडान गरिनेछन् ।

जसमा ११ मिटर उचाईका (डबल आर्म) ३ सय ७१ वटा पोल, ८ मिटर उचाईका १ सय ९५ वटा पोल, ७ मिटर उचाईका २ सय २४ वटा पोल, १२ मिटरका ६६ वटा मिनी मास्ट पोल रहनेछन् ।

बत्तीको सन्दर्भमा १ सय ५० वाटका १ हजार २ सय ५० थान, ९० वाटका ५ सय ५२ थान र २ सय वाटका १ सय ९८ थान फ्लड लाइटहरू प्रयोग गरिनेछ ।

हाल पहिलो खण्ड अन्तर्गत बालकुमारीदेखि सातदोबाटोसम्म बत्ती जडानको काम सम्पन्न भइसकेको र बाँकी खण्डमा काम भइरहेको छ । आगामी ३ महिनाभित्र सम्पूर्ण ७.९ किलोमिटर क्षेत्रमा बत्ती बाल्ने लक्ष्य राखिएको छ ।

यो आयोजनामा जडान गरिएका बत्ती र पोलहरूको मर्मतसम्भारका लागि महानगरले विशेष व्यवस्था गरेको छ । सम्झौताअनुसार आगामी ५ वर्षसम्म ती पूर्वाधारहरूको मर्मत र हेरचाहको जिम्मेवारी निर्माण व्यवसायीकै हुनेछ । यस अवधिमा कुनै प्राविधिक समस्या आएमा महानगरले थप खर्च व्यहोर्नु पर्नेछैन । ५ वर्षपछि मात्र यसको वित्तीय दायित्व महानगरमा हस्तान्तरण हुनेछ ।

ललितपुर महानगरपालिकाले निर्माण गरिरहेको अपाङ्गतामैत्री आकाशे पुलको काम पनि अन्तिम चरणमा पुगेको प्रमुख महर्जनले जानकारी दिए ।

पुलको सिभिल र स्ट्रक्चरल काम सम्पन्न भए पनि जडानका क्रममा केही प्राविधिक त्रुटी देखिएकाले पुन: सच्याइएको उनले बताए ।

अबको १५ दिनभित्र जडान कार्य शुरु हुने र आगामी ३ महिनाभित्र लिफ्टसहितको उक्त पुल उद्घाटन गर्ने महानगरको तयारी छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?