Comments Add Comment

विराटनगरमा लागू औषधसहित महिला पक्राउ

९ साउन, विराटनगर । इलाका प्रहरी कार्यालय विराटनगरको  गस्ती टोलीले बिहीबार विहान साढे ५ बजे विराटनगर- १५ रामजानकी मन्दिर नजिकै एकजना महिला भेट्यो । शायद  छेउमा झोला राखेर उनले कसैलाई पर्खिरहेकी थिइन् ।

तर, प्रहरीलाई देख्ने बितिकै उनको स्वभाव परिवर्तन भयो । संकास्पद लागेपछि प्रहरीले चोकजाँच गर्दा उनको साथबाट ठूलो परिणाममा लागू औषध बरामद भयो ।

‘बिहान हामी पुग्दा ती महिलाको स्वभाव परिवर्तन भयो, संकास्पद महिला त्यहाबाट भाग्न खोजिन्, हामीले घेरा हालेर झोलामा के छ देखाउनुहोस् भन्दा मानिन्,’ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राना भन्छन्, ‘हामीले हेर्दा लागू औषध भेटियो ।’

प्रहरीले लागू औषधसहित विराटनगर- १५ की ३२ वर्षीया अरजिना खातुनलाई पक्राउ गरेको हो । भारतको जोगवनीबाट लागूऔषध लिएर आएकी खातुनलाई प्रहरीले बिहीबार विहान पक्राउ गरेको हो ।

अरजिनाले बोकेको झोलाबाट लुपिजेसिक २०० एम्पुल, एभिल २०० एम्पुल, डाइजेल्याव २०० एम्पुल, स्पास्मो १४४ चक्की, नाइट्रेसन ३० चक्की, डाईजेल्याप ५ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजुले बताए ।

दश हजारमा वारिपारि

प्रहरीका अनुसार लागूऔषध सहित पक्राउ परेकी महिला भरिया मात्र हुन् । उनलाई लागू औषध कारोबारीले भरियाको रुपमा प्रयोग गरेका हुन् । महिलाले १० हजार पाउने आशमा भारतबाट लागू औषध ल्याइदिएको बयान दिएकी छन् ।

‘छोरा छोरी पढाउन हुन्छ भन्दै लागू औषध ल्याएको देखिन्छ्,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्, ‘मन्दिर छेउमा कारोबारीलाई पर्खिएको हुनसक्छ ।’

सामान्य परिवारकी अरजिनाले प्रारम्भिक अनुसन्धानका क्रममा पहिलो पटक लागू औषध ल्याएको बयान दिएकी छन् ।

महिलाले दिएको सूचनाका आधारमा प्रहरीले लागू औषध कारोवारीलाई पक्राउ गन विशेष टोली परिचालन गरेको छ ।

सीमा नाकामा क्यान अभियान

जोगवनी क्षेत्रमा लागू औषध कारोवारीको बिगबिगी छ । धरान, इटहरी, विराटचोकदेखिका लागू औषध प्रयोगकर्ता लागू औषधका लागि जोगवनीसम्म पुग्छन् ।

जोगवनीसम्म पुग्ने लागू औषध प्रयोगकर्ताको काउन्सिलिङका लागि मोरङ प्रहरीले सीमावर्ती क्षेत्र रानीमा लागू औषधविरुद्धको अभियान (क्यान) सञ्चालनमा ल्याएको छ ।

क्यान सञ्चालनमा आएपछि लागूऔषध ओसारपसारमा कमी आएको प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment