+
+
Shares

लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न पुर्‍याइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ९ गते १७:४७

९ साउन, विराटनगर । डेढ साता अघि आएको बाढी र पहिरोले क्षतिग्रस्त उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ ।

प्रदेश १ सरकारले लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका लागि आवश्यक खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरी वितरण गर्ने सुरु गरेको हो । दुई गाँउपालिकामा गएको असार २६ गतेदेखि खाद्यान्न संकट छ । सडक क्षतिग्रस्त भएपछि ढुवानीमा समस्या हुँदा खाद्य अभाव भएको थियो ।

स्थानीय तहको आग्रहमा हेलिकोप्टरमार्फत बिहीबारबाट खाद्यान्न ढुवानी गर्न शुरु गरिएको प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

‘प्रदेश सरकारले लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा बिहीबार हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरी संकटग्रस्त क्षेत्रमा खाद्यान्न पठाएको छ,’ मन्त्री कार्कीले भने, ‘दुई गाँउपालिका पीडितहरुलाई एक साताका लागि सरकारले निःशुल्क खाद्यान्न बितरण गर्नेछ ।’

प्रदेश सरकारले खाद्य संस्थानमा भएको खाद्यान्न खरिद गरी विराटनगर विमानस्थलबाट हेलिकोप्टरबाट बिहीबार ८ हजार एकसय किलोग्राम चामल, एक हजार ९९५ किलो दाल, पाँच सय लिटर तेल र पाँच सय किलो नुन पुर्‍याएको छ ।

संघीय सरकारले ढुवानीको व्यवस्थाका लागि हेलिकोप्टर व्यवस्था गरिदिएपछि प्रदेश सरकारले आवश्यक खाद्यान्न खरिद गरी उपलब्ध गराएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार लिम्चुङबुङ गाँउपालिकाका लागि चामल ७ सय क्वीन्टल, दाल ६ सय क्वीटल, तेल नून ६ सय क्वीटल र तेल ६ सय लिटर उपलब्ध गराइने छ । ताप्ली गाउँपालिकाका लागि पनि एक साता पुग्ने खाद्यान्न उपलब्ध गराइने छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बुधबार विभागीय मन्त्री कार्कीको अध्यक्षतामा बसेको प्रदेशको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले खाद्यान्न संकट चुलिएका यी दुई गाँउपालिकामा खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको थियो ।

लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा प्राकृतिक विपत्त आइपरेकाले संकटग्रस्त घोषणा गरिएको थियो ।

लिम्चुङबुङ र ताप्ली गाउँपालिका जोड्ने सडकको पहिरो हटाउन संघीय सरकार र प्रदेश सरकार अन्तर्गतका सडक विभागका डिभिजनलाई दिइएको छ । आवश्य सहयोगका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई आग्रह गरिएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी धु्रव खड्काका अनुसार राष्ट्रिय राजमार्गले नछोएका लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा बिकट क्षेत्रमा पर्दछन् ।

‘स्थानीयले लगाएको मुख्य अन्नबाली मकै पनि खडेरीले खार्‍यो,’ प्रजिअ खड्काले भने, ‘धान रोपाइँ पनि भर्खरै भएको छ । त्यसको उत्पादन हुन मंसिर महिना कुर्नुपर्छ । सबै स्थानीय सडक पहिरोका कारण अबरुद्ध छन् । यस्तो स्थितिमा खाद्य संकटको अबस्था मंसिरसम्म चल्ने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?