Comments Add Comment

एक वर्षभित्र साढे ११ सय मेगावाट बिजुली थपिँदै

९ साउन, काठमाडौं । गत आर्थिक वर्षमा राष्ट्रिय प्रसारणमा ७८ मेगावाट मात्रै विजुली थप भयो । तर, आगामी वर्षमा भने विजुली उत्पादनमा नेपालले फड्को मार्ने विद्युत प्राधिकरणले दावी गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार निजी क्षेत्रका आयोजनाहरुबाट यस वर्ष ४८ मेगावाट र सरकारीबाट ३० मेगावाट मात्रै विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो । ६० मेगावाटको माथिल्लो ‘त्रिशुली थ्री ए’ को निर्माण सम्पन्न भए पनि ३० मेगावाटको एउटा मात्रै आयोजना सञ्चालनमा आएको छ । प्राधिकरण प्रवक्ता प्रवल अधिकारी ८८ मेगावाट बिजुली साउन र भदौ भित्रमा नै थपिने बताउँछन् ।

अझ माथिल्लो त्रिशुली थ्री एको दोस्रो युनिटको ३० मेगावाट जोड्ने हो भने यो परिमाण ११८ मेगावाट हुनेछ । साउन र भदौभित्रै १४ मेगावाटको कुलेखानी तेस्रोको व्यवसायिक उत्पादन पनि सुरु हुने छ ।

यस वर्षको अन्त्यबाट नेपालले ठूलो परिमाणमा बिजुली भारत पठाउन सक्ने प्राधिकरणका कार्यकारी निदेर्श्क कुलमान घिसिङले बताए । डिसेम्बरसम्ममा माथिल्लो तामाकोसी आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको भन्दै आगामी वर्ष नेपालले बिजुली उत्पादनमा फड्को मार्ने उनले दावी गरे ।

‘लक्ष्यअनुसार काम भयो भने माथिल्लो तामाकोसीको सहित ११५० मेगावाटका आयोजनाहरुले यस वर्षको अन्त्यसम्म उत्पादन थाल्नेछन्,’ घिसिङ भन्छन् ।

त्यसका लागि प्राधिकरणले आन्तरिक खपत बढाउनेदेखि भारतमा बिजुली निर्यातको विभिन्न विकल्पहरु अघि सारेको छ । देशभित्रै सार्वजनिक विद्युतीय बस चलाउन सरकारलाई अनुरोध गरिरहेको प्राधिरकरणले ग्यासको सट्टामा विद्युतीय चुल्हो प्रयोग गर्न पनि सर्वसाधारणलाई प्रोत्साहित गरिरहेको छ ।

यसैगरी आगामी ३ महिनाभित्र नेपाल भारतको पावर एक्सचेन्ज बजारमा आवद्ध हुन प्रयासरत रहेको प्रवक्ता अधिकारी बताउँछन् । उनका अनुसार यो भारतको बिजुली बेच्ने खुला अनलाइन बजार हो, जहाँ आफूलाई बढी हुने बिजुली बोलकबोलमा मूल्य बढाएर बेच्न सकिन्छ ।

यसैगरी भारतसँग इनर्जी बैंकिङ पनि यसै वर्षबाट सुरु गर्ने योजनामा प्राधिकरण छ । ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइन अन्तरगतको निर्माणधीन ४०० केभी स्टेसनलाई आगामी डिसेम्बरसम्म सकाएर बढी भएको समयमा तामाकोसीबाट उत्पादित बिजुली भारत निर्यात गर्ने सोच सरकारको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ धेरै ठूलो क्षमतामा बितेको वर्षमा विजुली थप नभएपनि यो वर्षको अन्त्यसम्म ठूलो मात्रामा बिजुली राष्ट्रिय प्रसारणमा थप हुने बताउँछन् ।

‘हामीलाई वर्षामा पनि आयातित विजुलीको भर पर्नुपर्ने अवस्था अब अन्त्य भएको छ, बरु बढी भएको विजुली भारतसँग आदान-प्रदानबात निर्यात गर्दैछौं,’ उनले भने,’आगामी वर्षसम्म नेपालले विजुली उत्पादनमा एउटा इतिहास रच्छ ।’

हाल देशभर आयोजना निर्माणको क्रम तीव्र भएकाले उत्पादित विजुलीको बजारमा बढी ध्यान दिनुपर्ने अवस्था आएको घिसिङले बताए । अब मागको पक्षबाट भन्दा पनि आपूर्तिका पक्षबाट बढी चिन्ता गर्नुपर्ने उनको भनाइ छ ।

‘हामी देशभित्र नै विजुली खपत बढाउन चाहान्छौं, त्यसैले त्यसका लागि विभिन्न विद्युतीय पूर्वाधारहरु थप्दैछौं,’ उनले भने,’ग्रमीण विद्युतीकारणमा पनि केन्द्रित छौं ।’

३ वर्षअघि ६५ प्रतिशत जनतामा रहेको राष्ट्रिय प्रसमारण्को विजुली सेवाको पहुँच हाल ७८ प्रतिशतमा पुगेको छ । अबको २ देखि वर्षभित्र सत प्रतिशतमा राष्ट्रिय प्रसारणको विद्युत पहुँच पुर्‍याउने लक्ष्यमा रहेर प्राधिकरणले काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment