Comments Add Comment

प्रसारण लाइन निर्माणमा फड्को, एकै वर्षमै ७८० किलोमिटर थपियो

११ साउन, काठमाडौं । देशभर जलविद्युत आयोजना निर्माणको क्रम तीव्र हुँदै गर्दा प्रसारणलाइन निर्माणले पनि व्यापकता पाएको छ । गत आर्थिक वर्षमा मात्रै प्राधिकरणले करिब ७८० किलोमिटर प्रसारणलाइनको निर्माण सिध्यायो, जुन अहिलेसम्मकै धेरै हो ।

नेपालमा विद्युत प्राधिकरणले नै प्रसारणलाइन निर्माणको सबै काम गर्छ । निर्माण सक्न ढिलाइ भइरहेका धेरै रुग्ण आयोजनालाई गत वर्ष पूूर्णता दिएर ‘चार्ज’ गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । लोडसेडिङ हटेसँगै बिजुलीको माग तथा आपूर्तिको पक्षमा विभिन्न पूर्वाधारहरु थप्दै लैजानुपर्ने भएकाले प्राधिकरण यस्ता आयोजनामा केन्दि्रत भएको उनको भनाइ छ ।

‘हामीले सबस्टेसन, प्रसारणलाइन र वितरण लाइनलाई वैज्ञानिक तवरले व्यवस्थापन गर्दै देशभित्रै अधिकतम बिजुली उपयोग हुने वातावरण सिर्जना गर्न चाहेका छौं,’ घिसिङले भने, ‘त्योसँगै हामीले खपत गरेर बढी भएको बिजुली अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सक्ने पूर्वाधार निर्माणमा पनि केन्द्रित छौं ।’

विभिन्न नदी करिडोरमा बनेका आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न देशभर नै प्रसारणलाइन निर्माणको क्रम तीव्र पारिएको घिसिङले बताए ।

‘प्रसारणलाइन बनाउनु सजिलो छैन, स्थानीयको सहयोग भएन भने एउटा टावर नै एउटा आयोजना जत्तिकै जटिल बन्न पुग्छ, त्यसरी सयौं किलोमिटरको आयोजनाहरु सम्पन्न गर्नु सजिलो भएन,’ घिसिङ भन्छन् ।

कुन-कुनको काम सकियो ?

निकै महत्वपूर्ण मानिएको यो परियोजना सम्पन्न भएपछि नेपाललाई हिउँदयाममा ऊर्जा संकट पर्दा भारतबाट पर्याप्त बिजुली ल्याउन सहज भएको छ ।

यस्तै यसै वर्षको अन्त्यसम्म बन्ने भनिएको माथिल्लो तामाकोशीको वषर्ायाममा बढी हुने बिजुली भारत पठाउन पनि यो प्रसारणलाइनको उपयोग हुनेछ ।गत वर्ष २२० केभीको ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनको निर्माण भयो । ७८ किलोमिटरको यो अन्तरदेशी प्रसारणलाइन बनेपछि भारतबाट थप बिजुली आयात गर्न मात्रै होइन, नेपाललाई बढी हुने बिजुली एकैपटक ४ सय मेगावाटसम्म निर्यात गर्न बाटो खुल्यो ।

यसैगरी यो वर्ष २२० केभीको खिम्ती-ढल्केबर प्रसारणलाइन पनि बन्यो । तामाकोशी जलविद्युत आयोजनाको बिजुलीलाई नै लक्षित गरेर बनेको यो प्रसारणलाइन सञ्चालनमा आएसँगै देशका विभिन्न भागमा बिजुली आपूर्ति पनि सहज भएको छ । ७५ किलोमिटर लामो यो लाइनको पहिलो सर्किटको निर्माण सकिएको हो ।

यस्तै त्रिशूली-काठमाडौं प्रसारणलाइनको निर्माण पनि गत वर्षमा नै सम्पन्न भयो । २२० केभीको यो प्रसारणलाइन दुई सर्किटमा बनेको छ । जसको एउटा सर्किट चार्ज भएर सञ्चालनमा छ । यो आयोजनाले त्रिशूली बेसिनमा बन्ने आयोजनाको बिजुली राष्ट्रिय प्रसारणमा जोड्न भविष्यमा ठूलो मद्दत गर्नेछ । हाल त्रिशूली थ्री एको उत्पादित बिजुली यही प्रसारणलाइन भएर काठमाडौं ल्याइँदैछ । यो प्रसारणलाइनमा चार किलोमिटर क्षेत्रमा चार वटा सर्किट राखिएको छ ।

यो वर्ष १३२ केभीका ११ वटा प्रसारणलाइनहरुको निर्माण सकियो । यो वर्ष सकिएकोमध्ये सबैभन्दा लामो प्रसारणलाइन हो, चमेलिया-स्याउले-अत्तरीया । १३१ किलोमिटर लामो यो प्रसारणलाइन सञ्चालनमा आएपछि पश्चिम नेपालको बिजुली आपूर्ति सजिलो र विश्वसनीय भएको छ ।

यसैगरी महन्द्रनगर-लम्की प्रसारणलाइनको दोस्रो सर्किट पनि यसै वर्ष सम्पन्न भएको छ । यो प्रसारणलाइन १०१ किलोमिटर लामो छ ।

काबेली करिडोरको विभिन्न खण्डमा काम भइरहँदा ८५.८ किलोमिटर लामो गण्डक- फिदिम खण्डको पनि यसै वर्ष निर्माण सकिएको छ ।

४६ किलोमिटरको डुम्रे-दमौली खण्डको पनि काम यसै वर्ष सम्पन्न भयो । यसैगरी ४० किलोमिटरको मध्यमर्स्याङ्दी-मर्स्याङ्दी प्रसारणलाइनको दोस्रो सर्किटले पनि यसै वर्ष पूर्णता पायो ।

३६ किलोमिटरको भक्तपुर-चपली-बालाजु प्रसारणलाइन यसै वर्ष चार्ज भयो । २५ किलोमिटरको लमही-घोराही र २० किलोमिटरको कुसुम-हापुरे प्रसारणलाइन बनाउने काम यसै वर्ष टुंगियो ।

यस्तै १६ किलोमिटको रक्सौल-परवानीपुर तथा १३ किलोमिटरको कुशाह-कटैया अन्तरदेशीय प्रसारणलाइन पनि यसै वर्ष चार्ज भए । यी प्रसारणलाइनले मध्यतराई क्षेत्रमा लो भोल्टेज लगायतका समस्या समाधान गर्न र औद्योगिक करिडोरको माग व्यवस्थापन गर्न निकै सघाएको प्राधिकरणले जनाएको छ ।

यसैगरी ६.२ किलोमिटरको कुश्मा-तल्लोमोदी प्रसारणलाइन पनि यसै वर्ष फत्ते भयो । यसैगरी काठमाडौंमा भूमिगत रुपममा न्यू चाबहिल-लैनचौर प्रसारणलाइन पनि तयार भएको छ । यो ६ किलोमिटरको लाइन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment