Comments Add Comment

नेपाल-चीन हवाई सम्बन्ध : समान अधिकार पाउन नेपालले अझै कति कुर्नुपर्छ ?

शुक्रबार के-के भयो सहमति ?

Photo Credit : स्टार फिसको आकारमा बनाइएको बेइजिङको नयाँ एयरपोर्ट । फोटो : सिन्हुवा ।

११ साउन, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्वीपक्षीय वार्तापछि बिहीबार सम्झौता पुनरावलोकन गर्नेसम्बन्धी सहमतिमा सम्झौता भएको हो । सम्झौताअनुसार अब दुवै देशका वायुसेवा कम्पनीको प्रतिसाता उडान ९८ पुर्‍याइएको छ । यसअघि प्रतिसाता अधिकतम ७० उडान गर्न पाउने प्रावधान थियो ।

यता नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउमा उडान अनुमति मागेको एक वर्ष नाघिसकेको छ । हिमालय एयरलाइन्सले स्थापनाको शुरुवातमै चीन पहिलो गन्तव्य रहेको उल्लेख गरेको थियो । हिमालयले सेवा शुरु गरेकै पाँच वर्ष पुगिसकेको छ । हिमालय एयरलाइन्स बेइजिङ जान चाहिरहेको छ । तर, उनीहरुलाई चीनमा उडानको अनुमति छैन । बेइजिङ र ग्वाङझाउ चीन र नेपालबीचको पहिलो हवाई सम्झौताबाटै तय भएका गन्तव्य हुन् ।

सन् १९९८ को द्वीपक्षीय हवाई सेवा सम्झौताले तोकेका सात गन्तव्यमा यी दुई शहर पर्छन्, जहाँ नेपाली कम्पनीले उडान गर्न पाउँछन् । उता, चीनबाट नेपालमा पाँच वटा वायुसेवा कम्पनी नेपाल आउँछन् । उनीहरुले काठमाडौंलाई चीनका विभिन्न चार शहरसँग जोड्छन् । ल्हासा, छेन्दु, कुनमिङ र ग्वाङझाउलाई चिनियाँ एयरलाइन्सले काठमाडौंसँग जोडिरहेका छन् । चीनबाट तिब्बत एयरलाइन्स, सिचुवान एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न र एयर चाइना नेपाल आउँछन् ।

यो पनि पढ्नुहोस नेपाल एयरलाइन्सको चीन उडान पछि धकेलियो, ‘सेफ्टी अडिट’ गर्न चिनियाँ टोली आउँदै

यसबीचमा चीनले नेपाल एयरलाइन्ससँग सेफ्टी अडिट गर्न चाहेको भन्दै पत्र पठाएको छ । तर, त्यो समय अक्टोबरलाई सारिसकेको छ । नेपाल एयरलाइन्सका नायव महाप्रवन्धक गणेशबहादुर चन्द भन्छन्, ‘हामीलाई जति सक्दो छिटो नयाँ गन्तब्य चाहिएको छ,’ तर चीनले अनुमति दिन अनेक बाहनामा ढिला गरिरहेको छ ।’

उनका अनुसार नेपाल यूरोपेली यूनियनको सेफ्टी लिस्टमा रहेको कारण देखाउँदै चीनले नेपाल एयरलाइन्सको अडिट गर्न चाहेको हो । ‘नेवानिले छिटो आउँ भनिरहेको छ,’ चन्दले भने, ‘उनीहरु मान्दैनन्, उनीहरुका कारण हामीले समयमै गन्तव्य बिस्तार गर्न सकिरहेका छैनौं ।’

वार्तामा नेपालको प्रतिनिधित्व गरेका मन्त्रालयका उपसचिव प्रमोद खरेलका अनुसार यसपटक नेपाली वायुसेवाले चीनमा उडान गर्न पाउनु पर्छ भन्ने विषयलाई नेपालले आफ्नो प्रमुख एजेण्डा बनाएको थियो । ‘हामीले निकै महत्वका साथ यो एजेण्डा उठाएका छौं,’ उनले भने, ‘चीनले सहजीकरणको आवश्वासन दिएको छ ।’

वार्ता टोलीमा नेपाल एयरलाइन्सका प्रतिनिधिसमेत सहभागी थिए ।

के-के भयो सहमति ?

शुक्रबारको सहमतिपछि अब नेपाल र चीन दुवै देशका वायुसेवा कम्पनीले एकअर्का मुलुकमा साताको ९८ उडान गर्न पाउँछन् । यसअघि यस्तो उडान संख्या ७० थियो । थपिएको २८ मध्ये ७ वटा उडान काठमाडौंमा दिन नेपाल सहमत भएको छ । २१ वटा उडान भने चिनियाँ जहाजले अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा मात्र गर्न पाउने छन् ।

यो पनि पढ्नुहोस चीनका थप ८ विमानस्थल नेपाली जहाजका लागि खुला

उता, चीनमा भने नेपाली वायुसेवाका लागि १५ वटा विमानस्थलमा उडानको बाटो खुलेको छ । यसअघि ७ वटा विमानस्थलमा मात्र नेपाली कम्पनी जान पाउँथे । बेइजिङ, सांघाई, ल्हासा, ग्वाङझाउ, कुनमिङ, छेन्दु र सियान नेपाली वायुसेवा जान सक्ने गरी तोकिएका विमानस्थल हुन् । अब भने यी सातसहित थप ८ विमानस्थलमा नेपाली जहाज जान सक्नेछन् । ती ८ विमानस्थल वायुसेवा स्वयंले तोकेर उडानको अनुमति माग्न सक्ने गरी सम्झौता भएको छ । यसबाट नयाँ-नयाँ शहरमा गन्तव्य बिस्तार गर्नसमेत नेपाली वायुसेवा कम्पनीलाई बाटो खुलेको छ ।

उत्साहपूर्ण व्यापार

पर्यटकीय दृष्टिकोणबाट चीन सबैभन्दा बढी सम्भावना बोकेको देश हो । टे्रकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल भन्छन्, ‘एक त खर्चालु, अर्कोतर्फ ठूलो जनसंख्या एकसाथ घुमफिरमा निस्कने पर्यटक चिनियाँ हुन् ।’

तर, नेपालले जति ठूलो सम्भावना भएपनि चिनियाँहरुलाई आकर्षित गर्न नसकेको उनी बताउँछन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को ६ महिना अवधिमा ८५ हजार ३ सय १८ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो नेपाल भ्रमणमा आउने मुलुकको दोस्रो ठूलो संख्या हो । दाहालका अनुसार चिनियाँ पर्यटक ‘लक्जरी टूर’ मन पराउँछन् ।

उनीहरुलाई हिमाल चढ्ने, पदयात्रा गर्ने शोख छैन । बरु चिल्लो सडकमा यात्रा गर्ने, ठूल्ठूला होटेलमा बस्ने, खाने र रमाउने गरी समूहमा यात्रामा निस्कने रुचि चिनियाँको हुन्छ । त्यसकारण चिनियाँ पर्यटक आकर्षित गर्ने वातावरण बनाउन उस्तै प्रकारका पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता छ । त्यस अवस्थामा थपिएका सबै गन्तव्यबाट वायुसेवा कम्पनीले बिजनेश प्राप्त गर्ने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस ‘वाइडबडीको तीन किस्ता तिर्न सकिएन, व्यवस्थापन विदेशीलाई दिने प्रक्रिया शुरु भयो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment