Comments Add Comment

के मान्छे जस्तै होलान् भविष्यका रोबोट ?

केही समय यतादेखि मान्छेजस्तै देखिने रोबोट निर्माण गर्ने ट्रेण्ड बढिरहेको छ । तर, के यस्तो मानव जस्तै देखिने मेसिन निर्माण गर्ने विषय डरलाग्दो होइन ? के यो भविष्यका लागि सम्भावित खतरा होइन ?

यद्यपि, आइज्याक एसिमोभको रोबोटमा आधारित उपन्यास, सन् १९८० को दशकका चलचित्रको पात्र जोनी फाइभ, हलिउडको फिल्म एभेन्जर्सः द एज अफ अल्ट्रन तथा च्यानल फोरको साइन्स फिक्सन ड्रामा फिल्म ह्युमन्समा रोबोलाई मान्छेको निकै नै नजिक देखाइएको छ । यी फिल्ममा मान्छेका जस्तै रोबोटका पनि बालबच्चा हुन्छन् र रोबोटमा मान्छेमा जस्तै चेतना तथा भावनाहरु भएको देखाइन्छ ।

तर यो कति सत्य हो र यसको कति आवश्यकता छ ?

डाक्टर बेन गोएर्टजेलले एक आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर तयार गरेका छन् । यसैको आधारमा सोफिया नामको एक रोबोट तयार गरियो, जुन मानव स्वरुपको रोबोट हो । हंगकंगस्थित ह्यानसन रोबोटिक्स कम्पनीले यो रोबोटको निर्माण गरेको हो ।

डाक्टर बेनका अनुसार रोबोटहरु पनि मान्छे जस्तै देखिनु पर्दछ ता कि रोबोटका बारेमा मानिसहरुमा रहेको शंका दूर होस् । मानिसहरुले मन पराएका कारण आगामी दिनका रोबोटहरु मानव स्वरुपकै हुने उनी बताउँछन् ।

उनका अनुसार यदि रोबोटहरु मानवस्वरुपका भएमा मानिसहरुले रोबोटलाई आदेश दिन सक्दछन् र आफ्नो गर्लफ्रेण्डको बारेमा रोबोटसँग कुरा गर्न सक्दछन् ।

‘मलाई लाग्छ सफ्टबैंकको पेपर रोबोट देख्दा निकै कुरुप हुन्छ । जबकि सोफियाले तपाइँलाई आँखामै नजर लगाउँदछ र तपाइँकै जस्तो अनुहार पनि बताउन सक्दछ । यो नितान्त फरक अनुभव हुन्छ तर पेपर रोबोटको भने छातिमा लागेको मोनिटर मात्र देखिन्छ ।

हालै २० नयाँ सोफिया रोबोट बनाइ सकिएको छ र यी मध्ये छ वटा रोबोट विश्वका विभिन्न देशमा प्रयोगमा छन् । जसको प्रयोग भाषण दिने तथा प्रविधिको प्रशिक्षण दिने कामका लागि गरिएको छ ।

धेरै कम्पनीहरुले आफ्ना ग्राहक लोभ्याउनका लागि सोफियाको प्रयोग गर्ने उद्देश्यले ह्यानसन रोबोटिक्ससँग सम्पर्क गरे । तर एउटा कुरा के प्रष्ट छ भने चाहे सोफिया होस् वा पेपर रोबोटजस्ता मानवीय रोबोट, अहिले पनि यिनीहरुको निर्माण निकै महंगो छ र स्वयं डाक्टर गोएर्टजेल पनि यो कुरा अस्विकार गर्दैनन् ।

तर उनको यो कुरासँग अरु धेरै रोबोट वैज्ञानिक असहमत छन् ।

के रोबोट पनि विद्रोही हुनसक्छ ?

इन्ट्यूसन रोबोटिक्सका सह सस्थापक तथा मूख्य कार्यकारी अधिकारी डाक्टर स्क्युलर चाहीँ रोबोट मानिस जस्तै देखिने र बोल्ने कुराको सख्त विरोध गर्दछन् ।

उनको कम्पनीले एलिक्यू नामको सानो सामाजिक रोबोट बनाउँदछ जसको उद्देश्य वृद्धवृद्धाहरुको एक्लोपना भगाउनु हो । यो रोबोटले कुराकानी गर्न सक्दछ र प्रश्नको जवाफ दिन सक्दछ ।

उनका अनुसार एलिक्यूको प्रयोग गर्ने मानिसहरुलाई यो कुराको याद दिलाउनु पर्दछ कि यो एक मेसिन हो, कुनै साँच्चीकै मानव होइन । यसो गर्नु वास्तवमै पीडादायक हुन्छ ।

अर्का रोबोटिस्ट मसाहिरो मोरीको विचारमा रोबोट जतिधेरै मानिसको नजिक हुन्छ उति नै धेरै खतरा मानिसलाई पैदा हुनेमात्र होइन रोबोट उति धेरै विद्रोही पनि हुन्छ ।

उनका अनुसार नैतिक रुपमा रोबोटले मानिसजस्तै हुने अपेक्षा गर्नु नै गलत हो ।

रोबोटको कानूनी अधिकार ?

मानिसलाई एकपटक निश्चित रुपमा अनुभुति हुनेछ कि यो रोबोट हो, वास्तविक मान्छे होइन । अनि मान्छेले आफैलाई ठगिएको महसुस गर्नेछ ।

उनी भन्छन्, ‘तपाइँलाई बेवकुफ बनाउने तथा तपाइँलाई चे चाहिन्छ त्यहीँ उपलब्ध गराउनुका बीचमा कुनै सम्बन्ध देखिँदैन ।’

कार्नेगी मेलन विश्वविद्यालयको रोबोटिक्स इन्स्टिच्यूटका प्राध्यापक डाक्टर रीड सिमन्सका अनुसार रोबोट विशेष होस् र आँखा झिम्काउन सक्ने होस् भन्ने धेरैको धारणा हुनछ । रोबोटले मान्छेको जस्तै व्यवहार गरोस् भन्ने चाहना हुन्छ ।

तर प्रविधिले पूरा गर्न नसक्ने खालको विश्वासको जन्म हुनु राम्रो नभएको उनी बताउँछन् ।

सिंगुलारिटी नेट त्यो प्लाटफर्म हो जहाँ एप निर्माताहरुले आर्टिफिसियल इन्टेलिजेन्स एप तयार गर्न सक्दछन् । जसको प्रयोग सोफिया जस्ता रोबोटमा गर्न सकिन्छ ।

यसका निर्माता गोएर्टजेलका अनुसार समय क्रमसँगै रोबोटहरु पनि स्मार्ट हुँदैछन् । भलै मानिस भन्दा धेरै स्मार्ट नहोलान् तर मान्छे जत्तिकै चाहीँ हुनेछन् ।

मान्छेजस्तै देखिने रोबोटहरु जति धेरै हामीले हाम्रो वरीपरी देख्यौँ उति नै धेरै हामी अभ्यस्त बन्ने उनको भनाई छ । कुनै समय यस्तो आउनेछ कि मानिसलाई मानिस भन्दा मेसिन धेरै सहज लाग्नेछ ।

तर भविष्यमा के यस्तो अवस्थामा पनि हामी पुगौँला कि जहाँ रोबोटमा चेतना हुनेछ, मन पर्ने तथा नपर्ने कुराको स्वतन्त्रता हुनेछ र रोबोटको पनि कानूनी अधिकार हुनेछ ?

डाक्टर गोएर्टजेलका अनुसार मान्छेजत्तिकै समझदार हुँदाका बखत रोबोटमा पनि चेतना पैदा हुनेछ ।

उनका अनुसार विश्वमा दयालु रोबोटको खाँचो छ । तर उनको यो भनाईप्रति रोबोटिक्स तथा कम्प्युटर बैज्ञानिकहरु पनि असहमत छन् । दया, माया, भावना जस्ता कुराहरु विशिष्ठ मानवीय गुण रहेका र यो पूर्णरुपमा जिवित मानिसहरुको लक्षण भएकाले रोबोटमा यस्तो चेतना पैदा गर्न नसकिने जिकिर उनीहरुको छ ।

तथापि आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट रोबोटले पनि मान्छेले जस्तै व्यवहार गर्न सिक्न सक्दछ र कस्तो प्रतिक्रिया दिने भन्ने पनि बुझ्नेछ ।

जापानमा कारभित्र मानिसलाई सुरक्षित राख्ने डिजिटल साथी रोबोटको समेत निर्माण हुँदैछ । तथापि कुनैपनि रोबोटमा मानिसको मस्तिष्क तथा व्यक्तित्व डाउनलोड गर्नु सम्भव छैन । मानिसको दिमागको कपी गर्न अहिलेसम्म सकिएको छैन ।

तर डाक्टर गोएर्टजेल पनि मानवीय चेतना भएको रोबोट आएरै छाड्नेमा ढुक्क छन् । उनका अनुसार सन् १९२० को दशकमा निकोला टेस्लाले रोबोटको अवधारणा सार्वजनिक गर्दा कसैले पनि त्यसलाई पत्याएनन् । तर अहिले जे छ, सबैको अगाडि छर्लंग छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment