Comments Add Comment

अदालतको खराबीबारे समाचार लेख्दा तर्सिनुपर्दैन

अवहेलनासम्बन्धी कानूनको खाँचो छैन, 'महाअभियोगको प्रक्रिया सच्याइयोस्

पत्रकारहरुले के गर्न हुन्छ, के गर्नुहुँदैन, त्यो हामी (न्यायाधीश) ले भन्ने विषय हो भन्ने मलाई लाग्दैन । यो विषय यहाँहरु आफैं जान्नुहुन्छ । यहाँहरुको आफ्नो क्षेत्रको कुरामा हामी प्रष्टसँग भन्न सक्छौं, यहाँहरुको जुन व्यवसायिक आचारसंहिता छ, त्यो हामीले भन्ने र अथ्र्याउने विषय होइन ।

हाम्रो चासो र सरोकारको विषय मलाई कहाँनेर लाग्छ भने पत्रकारहरुको कलम र हाम्रो न्याय सम्पादनको काम कारवाहीको कुरामा यदि त्यो कलमले कुनै ठाउँमा प्रभावित पार्छ र न्याय सम्पादनको कार्यलाई डिस्टर्ब गर्छ भने त्यसमा हामीले सदभावपूर्वक समन्वय कायम गर्न सक्नुपर्छ भन्ने मेरो आग्रह हो । यसअर्थमा मिडिया र पत्रकारवीचको सम्वाद महत्वपूर्ण छ भन्ने मलाई लाग्छ ।

मिडिया ट्रायलको प्रश्न

यहाँ पत्रकारहरुले मिडिया ट्रायलको कुरा उठाउनुभएको छ । मिडिया ट्रायल हुनुहुँदैन, यो सैद्धान्तिक मान्यता हो । यसमा यहाँहरुको विमति हुन्छ भन्ने मलाई लाग्दैन । अब प्रश्न के हो भने अहिले हाम्रो मिडिया ट्रायल भइराखेको हो कि हैन ? हुन त हुँदैनथ्यो, जे गरिएको छ, अहिले गर्न खोजेको कुराचाहिँ मिडिया ट्रायलै गर्न खोजेर भएको हो ? या ‘इन्फरमेसन ग्याप’ का कारणले केही कुरा सिर्जना भएको हो ? यसलाई यो ढंगबाट बुझ्न आवश्यक छ भन्ने मलाई लाग्छ ।

हाम्रो अदालततिरको बुझाइ चाहे जिल्ला तहको होस् या सर्वोच्च तहको होस्, कतिपय अवस्थामा कतिपय समाचारको सन्दर्भलाई लिएर होइन, यो त मिडिया ट्रायल भयो भनेर हामी न्यायाधीशहरुले त्यो ढंगबाट बुझ्ने गरिएको छ । यो बुझाइ यदि गलत हो भने हामीले बुझाइ निर्माण गर्न आवश्यक छ । यदि त्यो मिडिया ट्रायल नै हो भने हामीले सँगै बसेर एकचोटि यो विषयमा समीक्षा गर्न पनि आवश्यक छ ।

न्यायिक प्रक्रियामा मिडिया ट्रायलको कुरा कहाँनेर जोडिन्छ भने धेरै कुराहरु उछालियो भने निर्णय गर्नुपूर्वको अवस्थामा त्यसले निर्णयलाई प्रभाव पार्छ । स्वच्छ र निश्पक्षतामा सबै मान्छेहरु उत्तिकै अवस्थामा दह्रो खुट्टा टेकेर एउटै धारणा राखेर उभिन नसक्ने पनि हुन्छन् ।

न्याय सम्पादनको कुरामा हाम्रा सबै कुराहरु पारदर्शी हुन्छन् । हामी कुनै कुराहरु लुकाएर गर्दैनौं । हामीले गरेका कुराहरु लुकेर बस्दैनन् । यस अर्थमा भन्ने हो भने हाम्रा क्रियाकलापहरु पारदर्शी नै हुन्छन् ।
सुधार गर्नुपर्ने सम्भावना, आवश्यकता हामीसँग छ । न्यायालयभित्र थुप्रो कुरा सुधार गर्नुपर्ने आवश्यकताहरु छन् । हामी सुधार प्रक्रियामा पनि छौं । सँगसँगै हाम्रा पत्रकार जगत लगायत राज्यका सबै अंग र निकायहरुले गर्ने कामकारवाही र प्रवाह गर्ने सेवाको कुरामा गर्नुपर्ने सुधारका कुराहरु छन् । हामी फूल बोटल, सम्पूर्ण निरपेक्ष ढंगले परिपक्व भइसक्यौं भन्नुहुँदैन । यो सुधारको पाटो निरन्तर छ । हामीमा भएका कमीकमजोरीहरु स्वीकार गर्नुपर्छ र सुधार गर्नुपर्छ ।

यहाँ भाषाको कुरा पनि आयो । अदालतको भाषा कतिपय ठाउँमा बुझ्न कठिन छ । यसमा आफ्ना आफ्ना शैलीका कुराहरु होलान् । यो भाषा सबै सर्वसाधारणले पनि बुझेको हुन्छ भन्ने मलाई लाग्दैन । तर, त्यसले दिने जुन सन्देश हो, त्यो सन्देश प्रवाह गर्दाखेरि हामीले सहीरुपमा प्रवाहित गर्‍यौं कि खण्डित हुने ढंगबाट प्रवाहित गर्‍यौं ? यो कुरा महत्वपूर्ण छ ।

यहाँ अरु एक/दुईवटा विषय मलाई कोट्याउन मन लागेको छ ।

अवहेलनासम्बन्धी कानूनको खाँचो छैन

‘अदालतको अवहेलना’ को कुरा एउटा ईस्यु आयो । यसमा म लामो कुरा गर्दिनँ । अवहेलनाको विषयमा कानून निर्माण हुनुपर्छ कि पर्दैन ? कानून बनेर आओस् कि नआओस् ? यो आधारभूत रुपमा व्यवस्थापिकाको ज्ञानको कुरा हो । उसले बनाउने कुरा हो, आवश्यक ठान्यो भने बनाउला, ठानेन भने उसको कुरा हो, उसले बनाओस्, नबनाओस् भन्ने भाषा बोल्न मलाई उचित लागेन ।

तर, मेरो आफ्नो बुझाइ के छ भने अवहेलनासम्वन्धी कुरामा छुट्टै कानुन नबनेको कारणबाट समस्या पैदा भएको हो भन्ने कुरा मलाई महसुस भएको छैन । कोही कोही ठाउँमा एकाध अपवाद भेटिन्छ । कुनै ठाउँमा अवहेलनामा मुद्दा चलाउनु नपर्ने ठाउँमा चलाइयो होला । कुनै व्यक्तिहरुले दुःख पाउनेपर्ने, अदालत धाउनुपर्ने अवस्था सिर्जना भयो होला । एकाध खराबीहरु कतै कतै भेटिन्छन् । त्यस्तो कुरालाई सामान्यीकरण गर्नुहुँदैन ।

सामान्यतयाः मैले हेर्दाखेरि अदालत अवहेलनाको कुरामा धेरै सम्वेदनशील छ । वा अवहेलना भनेर खास गरी पत्रकार बन्धुहरुलाई सजायँ गरेको हामीसँग कतिवटा उदाहरण छन् ? सजायँ त अदालतले अवहेलनामा न पत्रकारलाई, न अरु कसैलाई । युरोप, अमेरिका वा बेलायतको कुरा गर्ने हो भने हाम्रोमा अवहेलनाका ईस्युहरु धेरैवटा जम्मा भएका हुन सक्छन् । हामी त्यति खुल्ला समाजको अभ्यास गरिराखेका छौं ।

त्यसैले व्यवस्थापिकाले कानून बनाउन चाहन्छ भने मेरो भन्नु केही छैन । उसको कुरा हो । तर, खाँचो महसुस भएको छ कि छैन भन्दा मलाई लाग्छ, खाँचो महसुस भएको छैन । पत्रकार बन्धुहरुले खासगरी समाचार लेखेको कारणबाट अवहेलनाको कुरासँग धेरै अन्यथा लिइराख्नुपर्ने अथवा तर्सिनुपर्ने अवस्था छ भन्ने मलाई लाग्दैन । एकाध काहीँ केही कुरा छ भने त्यसलाई करेक्सन गर्न सकिन्छ ।

अर्थमन्त्रीलाई जवाफ : अदालत कर उठाउने संस्था होइन

अर्को, यहाँ ईस्यु अगाडि आएको छ, बजेट इत्यादि कुराहरु । बजेटका कुरामा अर्थमन्त्रीले के भन्नुभो र त्यसको अर्थ के लाग्यो, यसको म व्याख्या नगरौं । प्रशंग कोट्टएिको हुनाले म यति कुरा यहाँहरुसमक्ष राख्न चाहन्छु- यो (अदालत) आर्थिकरुपमा मूल्यांकन गर्ने र लाभहानीको मूल्यांकन गरेर यसलाई हेर्ने संस्था होइन । यो व्यापार गर्ने र कर उठाउने संस्था पनि होइन । यसलाई कति यहाँबाट फैसला भो र त्यो फैसलाको अनुपातमा तलब, भत्ता र यसका भौतिक पूर्वाधार जोड्छु भन्ने कुरा पनि होइन । यो राज्यको न्याय सम्पादनका लागि, एउटा सानो कुराका लागि पनि राज्यले खर्च गर्नुपर्छ ।

मैले पत्रिकामा पढेको थिएँ, बिन लादेनलाई फेला पार्न अमेरिकाले ११ अर्ब डलर खर्च गरेको रहेछ । किन गर्‍यो भने अमेरिकन जनतालाई न्याय दिलाउनका लागि । एउटा मान्छेलाई फेला पार्न ११ अर्ब डलर खर्च गरिसकेपछि बिन लादेन फेला परे । न्यायका लागि राज्यले खर्च गर्नुपर्छ, यो न्यायको तराजुमा तौलिने विषय होइन । त्यसैले यहाँ कति हुन्छ, कति आयो, त्यो कुरासँग तौलिएर लग्नुपर्ने विषय हो हो भन्ने मलाई लाग्दैन ।

त्यसो भन्दै, हामीकहाँ आएका कुराहरु हामीले थन्क्याइराख्नुपर्छ, हामीले ढीलो गर्नुपर्छ, ढीलो गरे पनि पाइन्छ, यो पनि हैन । न्यायका लागि अदालत प्रवेश गरेका विषयमा हामीले त्यसलाई समयमा सम्वोधन गर्न सक्नुपर्छ । त्यसलाई फर्छ्यौट गरिदिनुपर्छ ।

मैले आफूले गणना गरेको विषय होइन, अर्थमन्त्रीज्युले यहाँ बोल्दा म पनि थिएँ, उहाँले ७४/ ७५ अर्ब राजस्व यहाँ अदालतमा मुद्दा परेको कारणबाट अल्भिmएको छ भन्ने भाषा प्रयोग गर्नुभएको थियो । त्यो मलाई सम्झना छ । अब ७५ अर्ब हो कि, त्यो भन्दा धेर हो कि अथवा थोर हो, जे होला, राजस्व जोडिएका विषयहरु हामीसँग छन् । धेरथोर जति होला, ती छन्, सकेसम्म चाँडै फर्छ्यौट गर्नुपर्ने अवस्था छ । तर, फेरि पनि काम त हामीसँग बाँकी छ ।

मुद्दा थन्क्याएर राखेको हैन, गर्दागर्दै बस्यो

अदालतप्रतिको आस्था र विश्वास जगेर्ना गर्ने कुरामा मूलतः त्यसको पहिलो जिम्मेवारी अदालतको हो । त्यो दायित्व र जिम्मेवारी हामीले हाम्रो कर्मबाट प्रमाणित गर्नुपर्छ । सँगसँगै त्यसलाई पालित-पोषित गर्ने, हुर्काउने वातावरण निर्माण गर्दिने कुरामा चाहिँ पत्रकारको कलमको ठूलो महत्व छ । ठूलो भूमिका छ । गलत सन्देश प्रवाहित हुन गयो भने आम मानिसमा नकारात्मक धारणा फैलन सक्छ । त्यसैले अदालतका गरिमा बढाउने कुरालाई अलि विचार गरियोस् भन्ने हामी आग्रह गर्न सक्छौं ।

अदालतभित्र थुप्रै राम्रा काम पनि भएका छन् । काम गर्न नसकिएका राजस्वका मुद्दाहरु होलान् । भ्रष्टाचारसम्बन्धी मुद्दाहरु पनि होलान् । फैसला गर्न नचाहेर, थन्क्याएर राखेको त हैन नि । गर्दागर्दै बस्यो ।
आजभन्दा २० वर्ष अगाडिको कुरा गर्ने हो भने यही अदालत हो, वर्ष दिनमा ५/६ हजार मुद्दा हुन्थे । यहाँ २५ जनासम्म न्यायाधीशको बन्दोबस्ती भएको थियो । आज हामीसँग सालभरिमा ४० हजार बढी मुद्दा हुन्छन् । र, २१ जनाभन्दा बढी न्यायाधीश हुन सक्दैनन्, संविधानले तोकेको संख्या त्यत्ति हो । ५ हजारबाट ४० हजार मुद्दा पुग्दाखेरि हाम्रो भौतिक पूर्वाधार कति बढ्यो ? म्यानपावर कति थपिए ? हाम्रो डेलिभरी हिजोको भन्दा घट्यो कि बढ्यो ? यति हुँदाहुँदै पनि कामहरु कति भएका छन् ? यो पक्ष पनि मूल्यांकन गरिदिनुपर्‍यो ।

समस्याका कारणले ढीलो भएको छ कि अकर्मन्यताका कारणले ढीलो भएको छ ? यो यथार्थ पनि यहाँहरुले उत्खनन गर्नुपर्छ र जनताका अगाडि पस्किदिनुपर्छ । लेखिदिनुपर्छ । हामीसँग सीमाहरु छन् । समस्याहरु छन् । त्यसका बावजुद पनि असल कुराहरु पनि भइरहेका छन् ।

सार्वजनिक प्रशासनको क्षेत्रमा सबै ठाउँमा सुशासन हुनुपर्छ र न्यायपालिकाभित्र अझ बढी हुनुपर्छ । अन्यत्र सुशासन भएन भने हामीले चेक गर्ने हो, यहाँभित्र सुशासन भएन भने त्यसपछि चेक गर्ने मेकानिज्मको कुरा असजिलो पर्छ ।

‘महाअभियोगको प्रक्रियाबारे संविधानमा कमजोरी’

महाअभियोगको कुरा यहाँ आयो । महाअभियोग हुनुपर्छ । सार्वजनिक कुर्सीमा बसेको हरेक व्यक्ति कहीँ न कहीँ, कोही न कोहीप्रति जवाफदेही हुनुपर्छ । जवाफदेहिताविहीन कोही पनि हुन सक्दैन । त्यसैले सर्वोच्च अदालतको न्यायाधीश इत्यादिका लागि उसले संविधानले तोकेको कर्तव्य निर्वाहबाट विचलित हुन्छ भने महाअभियोगको बाटो जानुपर्छ । यसमा मेरो कुनै रिजर्भेसन छैन । हुनु पनि हुँदैन र यो सर्वस्वीकार्य मान्यता पनि हो ।

तर, हामीले जुन पद्दति अपनाएका छौं र त्यसको जुन प्रयोग गरेका छौं, त्यो प्रयोगमा चाहिँ हाम्रो सरोकार हुनुपर्ने अवस्था छ । तीनजना/चारजना सांसदले एउटा प्रस्ताव लगेर त्यहाँ दर्ता गरिदिएपछि सर्वोच्च अदालतको न्यायाधीशले कलम बन्द गरेर बस्नुपर्ने स्थितिका जुन संविधानका प्रावधानहरु अहिले बनेका छन् ।

यसलाई मैले न्यायाधीशको कुर्सीमा बसेको मान्छेले अन्यथा भन्नु हुँदैन । तर, सुधार प्रक्रियामा यस्ता कुराहरु हेरिनुपर्छ । त्यति सजिलो, त्यति हलुकासँगले त्यो संस्था राखिदिने हो भने त्यसबाट समाजले राष्ट्रले गरेको अपेक्षा पूरा नहुने अवस्था पनि पर्न सक्छ । भोलि स्वार्थ बाझिएको अवस्थामा विभिन्न कुराहरु हुन सक्छन् । त्यसैले पद्दति चाहिँ त्यति सजिलै, हल्कै प्रयोग गर्ने नगरेर पद्दति अलि ढंगको निर्माण गर्न आवश्यक छ । तर, जवाफदेहीविहीन भएर कोही बस्न सक्दैन । आवश्यक परिस्थितिको समयमा त्यसको प्रयोग हुनुपर्छ ।

अन्त्यमा, न्यायापालिकाभित्र विकृतिहरु यदि छन् भने हामीलाई त्यो विकृतिभित्र बस्ने छुट छैन, हुनुहुँदैन । यहाँहरुले निर्ममतापूर्वक त्यसको उत्खनन गर्दिनोस् । निर्ममतापूर्वक बाहिर ल्याइदिनोस् । यहाँभित्र बसेर न्यायको क्रय-विक्रय गर्न पाइँदैन । त्यो छ भने बाहिर ल्याइदिनोस् ।

खालि एउटा के गरिदिनोस् भने त्यसो गर्दाखेरि न्यायको मर्म नभत्कियोस् । नभाँडियोस् । निर्दोष मान्छे, असल मान्छे भिक्टिम नबनोस् । यो पक्ष हेरिदिनोस् । तर, त्यसको अर्थ के होइन भने जहाँ खराबी छ, त्यो खराबी लुकाइदिनोस् म भन्दिनँ । यहाँभित्र भएको खराबी बाहिर ल्याउने कुरा अदालतको अवहेलनाको विषय बन्नुहुँदैन ।

(सर्वोच्च अदालतमा विहीबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा न्यायाधीश खतिवडाले व्यक्त गरेको विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment