Comments Add Comment

याङ्जाकोटमा अक्षरयात्रा ! कवितामा वडाध्यक्षको डोजर

Photo Credit : ध्रुव केसी

२० साउन, पोखरा । वरिपरि साउने झरीले रुझाएका हरिया डाँडा । हरियै छ, खेतबारी र वन । वनको बीचमा पुराना शैलीका घर । ढुंगाले छाएको घर र ढुंगै बिछ्याइएका आकर्षक सिँढी र बाटो । होमस्टे चलाएर गाउँ पुग्ने पाहुनालाई गाउँलेको न्यानो स्वागत ।

कुहिरो छल्दै झल्किएको बिहानी घाम । त्यसैमा टिलिक्क टल्किएको हिमाल । गर्मी मौसममा शितलता छर्दै बहेको हावा र अक्षरहरुमा जीवन र जगतको यथार्थ उतार्न पुगेका यात्री ।

पोखरादेखि अक्षरसँग यात्रा गर्न याङ्जा पुगेका अक्षरयात्रीले याङ्जाकोटलाई शब्दमा उतारे । याङ्जाकोटको इतिहास खोतले । याङ्जाकोटजस्ता ऐतिहासिक गाउँ रित्तिँदै जाँदा दुखी भए । राज्यसत्ता र त्यसको बागडोर सम्हालेकाहरुमा आएको बिचलनप्रति व्यंग्य गरे । अक्षरयात्रीले विभिन्न क्षेत्र र आयामहरुलाई शब्दमा खिपे ।

ट्वाइलेटमा कमोड राखेर
कान्लामा बसिरहेछन् साँइला दाइ
पसलमा बिस्कुट चाउचाउ राखेर
कोदोको रोटी चबाउँदैछिन् साहिली भाउजु
ट्युबलाइटको उज्यालो देख्न नसकेर
पानसमा सलाई जोड्छिन् माझघरे फूपू
गाउँमा सहर, गाउँलेहरुका लागि पसेको छैन

कवि सुदर्शन पौडेलले कवितामार्फत गाउँ पसेको सहर संस्कृतिलाई कवितामार्फत सुनाए । एकाबिहानै याङ्जाकोट गाउँभरि शब्द खोज्न छरिएका अक्षरयात्रीले फर्कंदा आआफ्नो विचार, चिन्तन र दृष्टिकोणअनुसारको आर्गानिक सिर्जना लिएर आए । अनि सुनाएँ, याङ्जाकोटलाई साँची राखेर याङ्जाकोटमै उनिएका शब्द ।

विश्वास गर
मान्छेसँग मान्छेको विश्वास मूल फुट्ने छ
एक दिन यस्तो आउने छ
मान्छे प्रलयको होइन
लयको गीत आउने छ

मान्छेहरु निराशावादी हुँदै गएकोप्रति कवि तीर्थ श्रेष्ठले कवितामार्फत इंगित गरे । उनले देशमा व्यस्त नैराश्यता छाइरहेकोप्रति चिन्ता व्यक्त गरेनन् आशा राख्न आग्रह गरे । अर्का कवि किरण थापाले सुविधाभोगी जनप्रतिनिधिलाई कवितामार्फत व्यंग्य गरे ।

भोलि बिहानै सुरु हुनेछ
हजुरको राजकीय भ्रमण
निवासकै पिर्के सलामीबाट
समयमै पुग्नु छ,
साइरन बजाउदै
वडाध्यक्षको डोजरले कोतरेको
अभागी गाउँ
र गर्नुछ,
विकासको मुल फुटाउने
तिलस्मी भाषण

कलाकार प्रकाश घिमिरे याङ्जाकोट पुगेर ठट्यौलीपारामा गम्भीर विषयहरुमा घोत्लिए । कवि चैतन्य अधिकारी, गीता तिवारीले प्रकृति र गाउँको कथा कवितामा उतारे ।

कवि प्रकाश ज्ञवालीले कवितामार्फत च्यूत हुँदै गएको राज्यसत्ताको विवेकप्रति प्रश्न गरे । कपिल शर्माले गजलमार्फत खिचातानी र स्वार्थी प्रवृतिप्रति तारो लगाए ।

कवि धनप्रसाद तामाङले ऐतिहासिक याङ्जाकोट गाउँको इतिहास खोतले ।

जो आगोले पोल्दैन
जो पानीले गल्दैन
जो कालले मर्दैन
उसैको याङ्जाकोटमा
किन बल्झिरहन्छ घाटु

तामाङले याङ्जाकोटको घाटु, सोरठी, दरबारको संरक्षण र संस्कृति तथा पहिचानको खोजी गर्न कवितामार्फत आह्वान गरे ।
कवि दीपक सिञ्जालीले गाउँ पसिरहेको डोजर र गाउँको चित्रण कवितामार्फत बाले । कवि सौगात पोखरेल, भीम रानाभाट, उदीपराज ढुंगानाले गाउँबाट हराउँदै गाउँ र समसामयिक विषयमाथि सिजर्नामार्फत चिन्ता व्यक्त गरे ।

कवि बालिका अभिलासीले गाउँले जीवन, अर्गानिक स्वाद र स्वागतलाई कवितामा उतारिन् । आनन्द भट्टराईले सामाजिक विषयवस्तुलाई गजलका शेरमा उतारे । केहीले याङ्जाकोट पुगेर शब्दमा प्रणय र पे्रमको स्वाद मिसाए । याङ्जाकोट पुगेपछि उनले कुनै अनिता दाहालले कुनै प्रेमीसँग भएको कल्पना गरिन् । मुक्तकमार्फत यसरी मायाप्रेम लगाउने रहर देखाइन् ।

छोडेर अनेक काम याङ्जाकोटैमा
लाग्यो मनमा जामजाम याङ्जाकोटैमा
बस्ती बाटो मान्छे सबै कती अहा
भयो यतै माया लाम याङ्जाकोटैमा

प्रत्येक महिनाको तेस्रो शनिबार पोखरामै यस्तै एउटा यात्रा हुन्छ, अक्षरयात्रा । गजल सन्ध्या पोखरा र नवनीति साहित्य सायरले यो अक्षरयात्रा अभियानलाई चलाउँदै आएको छ । ‘कम्तिमा महिलाको एक दिन पोखराको एउटा साहित्यिक अभियान कुनै गाउँसम्म पुग्छ । ऐतिहासिक र सम्भावना बोकेका विभिन्न ठाउँहरुमा पुग्छ । जीवन र जगतलाई शब्दहरुमा उतार्छ,’ सन्ध्याका अध्यक्ष अमृत सुवेदीले भने, ‘अक्षरयात्रीले कुनै ठाउँमा उजागरमात्रै गरेका छैनन् । शब्दमार्फत दस्ताबेजीकरण र साहित्यिक पर्यटनमा पनि ठूलो सहयोग पुर्‍याएको छ ।’

‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर गजल सन्ध्या र नवनीत सागरले चलाउँदै आएको अभियानको १ सय ६८ औं शृंखला याङ्जाकोट होमस्टे पुगेको सचिव वसन्त विनोदले जानकारी दिए । यसपटकको अक्षरयात्रामा झन्डै ३० जना साहित्यकार सहभागी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment