Comments Add Comment

लागूऔषधजस्तै घातक ‘इन्टरनेट एडिक्सन’

तपाईंको परिवारमा कसैलाई 'इन्टरनेट एडिक्सन' त भएको छैन ?

एकजना पूर्वमन्त्रीकी छोरी पढाइमा अब्बल नै थिइन् । उनले छोरीको माग बमोजिम कक्षा १० मा पढ्दै गर्दा एउटा ल्यापटप किनिदिइन् ।

पछि उनले छोरीलाई कलेज पढ्न बैंग्लोर पठाइन् । घरबाट टाढा जाने हुनाले स्मार्ट फोन पनि किनिदिइन् । एक/दुई महिनासम्म उनकी छोरीले नियमित सम्पर्क गर्थिन् । तर, विस्तारै फोन पातलिँदै गयो । आमाले पढाइमा ब्यस्त भएर होला भन्ने ठानिन् ।

झनपछि झन् आमा-छोरीबीच सञ्चारमा कमी हुँदै आयो । उनले छोरीलाई सोध्दा ठीकै छ मात्र भन्थिन् ।

विदामा छोरी घर आइन् । घरमा उनी जतिबेला पनि कोठामा  एक्लै बस्थिन् । कोठा जहिले बन्द हुने । रातभरि मोबाइलमा व्यस्त हुने । कसैसँग पनि खासै बोलचाल नगर्ने । खाना खाँदासमेत मोबाइलमै मस्त रहने ।

खिमा रिजाल

शुरुशुरुमा त छोरी पढाइमा ब्यस्त होली भन्ने लाग्यो । विस्तारै उनलाई छोरीको ब्यवहारमा परिवर्तन आएको महसुस भयो ।

त्यसैले एकदिन पूर्वमन्त्रीले छोरीलाई घुमाउन बाहिर लगिन् । बाहिर जाँदा पनि छोरी केही नबोली मोबाइलमै व्यस्त रहिन् । यो सबै अवस्था देखिसकेपछि उनले अब छोरीमा केही समस्या छ भन्ने बुझिन् । त्यसपछि उनले घरमा इन्टरनेट बन्द गरिदिइन् ।

इन्टरनेट बन्द भएपछि छोरीले भाँडा फुटाउने, रुने, कराउनेदेखि बिभिन्न हरकत गरिन् । उनलाई के भएको छ भनी सोध्दा म इन्टरनेटबिना बाँच्नै सक्दिनँ भन्ने जवाफ दिइन् ।

उनकी छोरीको लक्षण लागू पदार्थ दुर्व्यसनीमा फसेको ब्यक्तिको भन्दा फरक देखिएन ।

पूर्वमन्त्रीले आफ्नी छोरीमा केही समस्या छ भन्ने जानिसकेपछि अचम्म मान्दै मनोचिकित्सक कहाँ परामर्शका लागि गइन् । छोरीको उपचार कुनै पुनस्थापना केन्द्रमा राखेर गर्ने कि कसरी गर्ने भनेर चिन्तित हुँदै उनले मनोचिकित्सकसँग सल्लाह गरिन् ।

बच्चा भुलाउन खोज्दा समस्या

आमाहरुले बच्चा जन्मेदेखि नै आफ्नो काम गर्न र बच्चालाई भुलाउन मोवाइल दिन्छन् । बच्चा बुझ्न नपाउँदै गेम डिसअर्डरमा फस्दै जान्छ । विस्तारै आफ्नो ध्यान केन्द्रित गर्न नसक्ने हुँदै जान्छ । र, ऊ कसैसँग नबोल्ने, एक्लै बस्ने, सामाजिक अन्तर्घुलन गर्न नसक्ने हुँदै जान्छ ।

आजभोलि जहाँ गए पनि प्रायः सबै अभिभावकको गुनासो हुने गरेको छ कि मेरो बच्चा किताब नै निकाल्दैन, खाली मोबाइलमा ब्यस्त हुन्छ । मोबाइल नदिने हो भने खाना खाँदैन । कसैसँग बोल्दैन । यो त यसको आदत बन्यो कि क्या हो ?

अहिलेको आधुनिक विश्वमा प्रविधिको तिब्र विकास भैरहेको जो कोहीबाट छिपेको छैन । मानिस एउटा कोठामा बसेर क्षणभरमै संसारभरका समाचार थाहा पाउन सक्छ । आजभोलि मानिसलाई संसारको जुनसुकै ठाउँमा भए पनि समाचारको आदान-प्रदान गर्न निकै सरल र सहज बन्दै गएको छ । पहिलेजस्तो केही सिक्न, बुझ्न किताब, शिक्षक लगायतको खोजी गर्नुपर्दैन ।

जुनसुकै ठाउँमा, जुनसुकै समयमा मानिसले प्रविधिको प्रयोगद्वारा आफूलाई चाहिने ज्ञान लिन विभिन्न किसिमका इन्टरनेटको सुविधा प्रयोग गर्न सक्छ । तर, यसको सही सदुपयोग हुन नसक्दा ‘इन्टरनेट एडिक्सन’ को समस्या विश्वभरि नै आउने गरेको छ ।

आजभोलि मानिसहरु अत्याधुनिक इलोक्ट्रोनिक साधन प्रयोग गर्छन् । प्रायः सबै मानिसहरु आफ्नै व्यक्तिगत स्मार्ट फोन प्रयोग गर्छन् । आमाबाबु आफ्नै कोठामा स्मार्ट फोनमा ब्यस्त, छोराछोरी आफ्नै कोठामा । छिमेकी, आफन्त भेटघाट वा रमाइलो गर्ने भन्दा पनि सबै आ-आफ्नै फोनमा ब्यस्त हुने अवस्थामा बढोत्तरी हुँदै गैरहेको छ ।

लागूपदार्थ जस्तै दुव्र्यसन

विसं.०४० को दशकमा नेपालमा विभिन्न किसिमको लागूपदार्थको व्यापक दुरुपयोग सुरु भयो । विभिन्न मादक पदार्थ, लागू तथा पेय पदार्थहरुलाई लागूपदार्थ भनिन्छ । जसको सेवन तथा प्रयोगले मानिसको भौतिक, मानसिक र मनोवैज्ञानिक स्थितिमा असर पुर्‍याउँछ वा परिवर्तन ल्याउँछ । जसलाई नसा पनि भन्ने गरिन्छ ।

लागूपदार्थ बैधानिक र अबैधानिक गरी दुई प्रकारका हुन्छन् । रक्सी, जाँड, चुरोटजस्ता लागूपदार्थ बैधानिक र ब्राउन सुगर, चरेश, गाँजा लगायतका लागूपदार्थ अबैधानिक लागूपदार्थ मानिन्छन् ।

कुनै पनि बाहानामा जब बारम्बार विभिन्न बैधानिक वा अबैधानिक नशालु लागूऔषधको प्रयोग गरिन्छ र जसले मानिसलाई त्यसैमा पूर्ण रुपमा निर्भर गराउँछ, त्यसलाई नै लागुपदार्थ दुर्व्यसनी भनिन्छ । सामान्य भाषामा यसलाई औषधिको दुरुपयोग पनि भन्ने गरिन्छ । यसको प्रयोगले व्यक्तिको भौतिक, मानसिक, भावनात्मक र सामाजिकरुपमा समेत समस्या पैदा गर्दछ । यो एउटा मानसिक स्वास्थ्यको भाग हो ।

त्यस्तै, जसरी लागु पदार्थ दुर्व्यसनीले मानिसको मानसिक, भौतिक, शारिरिक तथा भावनात्मक रुपमा असर पुर्‍याउँछ, त्यसैगरी इन्टरनेट पनि दुर्व्यसनीका रुपमा परिणत हुँदा मानिसको मानसिक, भौतिक, शारीरिक तथा भावनात्मक असर पुर्‍याउँछ ।

इन्टरनेट एडिक्सन भनेको ब्यवहारमा आउने परिवर्तन हो, जसले ब्यक्तिलाई इन्टरनेटमा आश्रित गरिदिन्छ । इन्टरनेटविना ऊ एकछिन पनि बस्नै सक्दैन र उसले देखाउने ब्यवहार अस्वाभाविक हुन्छ । समाजमा, परिवारमा र उसका साथीको समूहमा घुलमिल गर्न कठिनाइ हुँदै जान्छ ।

आजभोलि इन्टरनेटको प्रयोग र यसको एडिक्सनले धेरै मानिस प्रभावित हुँदै गैरहेका छन् । अनुसन्धानहरुले पनि पत्ता लगाएको छ कि इन्टरनेट एडिक्सनको सङ्ख्या एशिया, उत्तर अमेरिका तथा युरोपभरि बढिरहेको छ ।

इलेक्ट्रोनिक साधनको माध्यमबाट सञ्चारका रुपमा विश्वमा जोडिने एउटा माध्यम हो इन्टरनेट । इन्टरनेट एउटा बृहत शब्द हो । जसद्वारा अथाह सूचना तथा ज्ञान सजिलै पाउन सकिन्छ । यसलाई सञ्चारको बलियो माध्यम पनि मानिन्छ । इमेल, इन्टरनेट टेलिफोन, अनलाइन टेलिभिजन, अनलाइन म्युजिक, डिजिटल समाचार पत्र आदि इन्टरनेट मिडियाअन्तर्गत पर्छन् । त्यसैले आजभोलि इन्टरनेटको प्रयोगकर्ता विश्वमा नै दिनप्रतिदिन बढिरहेका छन् ।

समय बित्दै जाँदा यसका प्रयोगकर्ता अझ ब्यापक हुने पक्का छ । इन्टरनेटमा विश्वमै सबैभन्दा धेरै युट्युबपछि फेसबुक सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पाइन्छन् । यसको दायरा, भण्डार र विषयवस्तु पनि ब्यापक छ । प्रविधिको विकास भए र प्रयोग गरिएजस्तै मानिस पछाडि फर्कने अवस्था छैन र फर्कने कुरा पनि हुँदैन । जसले गर्दा इन्टरनेटको प्रयोग व्यापक हुने निश्चित छ ।

इन्टरनेट एडिक्सनको लक्षण र उपचार

इन्टरनेट एडिक्सन भएका मानिसमा यस्ता लक्षणहरु देखिन सक्छन्-

उदासीनता । बेइमान हुने वा झुट बोल्ने । चिन्तित हुने । दोषी महसुस गर्ने । कम्प्युटर, स्मार्ट फोन पाउँदा खुशी हुने । अरुबाट अलग बस्न रुचाउने । समयको ख्याल नगर्ने । नियमित काम छोड्दै जाने । स्वाभावमा परिवर्तन आउने । डराउने । एक्लो महसुस गर्ने । आफ्नो नियमित कामको रुटिनदेखि वाक्क हुने, दिक्क मान्ने इत्यादि ।

यस्तो एडिक्सन भएका मानिसलाई व्यक्तिगत, सामुहिक तथा पारिवारिक थेरापी आवश्यक पर्छ । त्यस्तै आर्ट थेरापी, सिबीटी, ब्यवहार संशोधन (विहेवियर मोडिफिकेसन थेरापी) वा रियालिटी थेरापी आदि गराउन सकिने मनोचिकित्सकहरु बताउँछन् ।

एक घर, एक बिरामी !

विश्व स्वास्थ्य सङ्गठनले बढ्दो स्मार्ट फोनको प्रयोगले आगामी २० वर्षमा प्रत्येक परिवारमा एकजना ब्यक्ति गम्भीर प्रकृतिको बिरामी बन्नेछ भनिसकेको छ ।

त्यस्तै डियसम ५ ले इन्टरनेट एडिक्सन पनि लागू पदार्थ दुर्व्यसनी जस्तै एक प्रकारको अति गम्भीर प्रकृतिको मेण्टल डिस्अर्डर हो भनेर परिभाषित गरेको छ ।

हामी सबैले प्रविधिको प्रयोग नगरी बस्न पनि सक्दैनौं । पछाडि फर्केर बाँच्न पनि सक्दैनौं । तर, आफू र आफ्नो परिवार, अनि समाजलाई स्वस्थ्य बनाउन प्रविधिको सही प्रयोग गर्नु पर्छ ।

साथै आफ्नो छोराछोरीले इन्टरनेटको प्रयोग गर्दा कतै दुरुपयोग त गरेका छैनन् भन्ने कुरामा सचेत बन्ने र बनाउने गर्नुपर्छ । यसबाट अति प्रभावित युवापुस्ता नै पर्ने गर्छन् ।

जसरी लागु पदार्थ दुर्व्यसनीबाट ब्यक्तिलाई बाहिर निकाल्न निकै कठिन हुन्छ, त्यस्तै इन्टरनेट एडिक्सनबाट व्यक्तिलाई बाहिर निकाल्न निकै गाह्रो हुने तथा स्मरणशक्तिमा समेत ह्रास हुने हुनाले बेलैमा सचेत बन्न जरुरी छ ।

यदि एडिक्सनमा पुगिसकेको भए मनोचिकित्सक तथा मनोविदसँग परामर्श गर्न पनि त्यतिकै जरुरी छ । त्यसैले प्रविधिको प्रयोग गर्दा बेलैमा सचेत बन्ने र स्वस्थ्य समाज निर्माणमा ध्यान दिने पो हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment