+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

क्रान्तिकारी भनाउँदा ‘गोबरल्वाँठ’ निस्के, म बुढोले क्रान्ति नगरेर के गर्नु ?

ज्येष्ठ नागरिकको अनौठो माग– स्वेच्छिक मरण मर्न पाइयोस्

सागर बुढाथोकी सागर बुढाथोकी
२०७६ साउन २२ गते २०:३५

‘पुरानो जमानाको मान्छे भएर पनि क्रान्तिकारी सोच ? आखिर केका लागि ?’

९२ वर्षीय पत्रकार भैरव रिसालले अत्यधिक सामना गर्ने प्रश्न हो यो । कतै सभासमारोहमा पुग्दा होस् या पारिवारिक भेट, मानिसहरुले उनलाई फ्याट्टै सोधिदिन्छन्– ‘बुढेसकालमा पनि कत्ति क्रान्तिकारी हुन सकेको ?’

रिसाललाई उनलाई यस्ता प्रश्न सामान्यतः अनौठो लाग्दैनन् । नेपालको धार्मिक संस्कारकै आधारमा मानिसको सोचाई निर्धारण हुने सोचेर फिस्स हाँसिदिन्छन् । र, फिस्स हाँसेरै भनिदिन्छन्, ‘क्रान्ति गर्छु भन्नेहरुको सोच ‘गोबरल्वाँठ’ निस्क्यो, अनि म बुढोले क्रान्ति नगरेर के गर्नु त।’

प्रश्न गर्ने मान्छेको पृष्ठभूमि असामान्य लाग्यो भने चाहिँ रिसालको ‘कन्पारो’ तात्छ ।

यस सम्बन्धमा उनी एक प्रसँग सुनाउँछन् ।

एक दिन एक समारोहमा नेपालका केही क्रान्तिकारी नेतासँग उनको भेट भयो । उनले त्यही मौका छोपेर देशमा शरीरदान र स्वेच्छिक मरणको कानुन बनाउन माग राखे।

रिसालको कुरा बीचमा काट्दै ती नेता एकाएक बम्किए, ‘कस्तो कुरा गर्नुहुन्छ रिसाल जी ? हिन्दु धर्मको मान्छे भएर शरीर दान र स्वेच्छिक मृत्यु ? तपाईंलाई थाहा छैन ? हाम्रो संस्कारले यस्ता कुरा दिँदैन । क्रान्तिकारी बन्ने लहडमा अति त बोल्नुहुन्न नि ।’

सकारात्मक प्रतिक्रियाको आशा गरेका रिसाललाई ती क्रान्तिकारी नेताको जवाफ ‘ताज्जुब’ लाग्यो । त्यो दिन सम्झिदैँ उनले भने, ‘उनको सोच देखेर मेरो त्यतिबेला ‘कन्पारो’ तात्यो । एउटा समुदायको कुरा राख्दा उहाँहरुले संस्कारसँग जोड्नु भयो । उहाँको मस्तिष्कको सोच्ने क्षमता त्यति नै रै’छ भन्ने ठानेर चुप बसेँ ।’

रिसाल घट्टेकुलोस्थित आफ्नै निवासमा बसेर शरीरदान र स्वेच्छिक मरणको बहस चलाउँदा आइपरेका तीतामीठा अनुभव अनलाइनखबरकर्मीसँग पोख्दैछन् ।

९२ वर्षीय उनका आखाँमा चस्मा छैन । बोली स्पष्ट छ । मुहारमा चमक उस्तै । पढिरहेको किताब टेबलमा राख्दै उनी भन्छन्, ‘क्रान्तिकारी भनाउँदा नेताहरुलाई बुझाउन त गाह्रो छ, खै कहिले बनाउलान् यिनले कानुन ?’

कोठाको भित्ताभरि टाँगिएका प्रशंसा पत्र देखाउँदै थप्छन्, ‘यति सामान्य कुराहरु बुझाउन नसक्दा मलाई यी आफ्नै सम्मानपत्रहरुले गिज्याएको जस्तो भान हुन्छ । नेपालमा त क्रान्तिकारी हुन पनि गाह्रो रै’छ ।’

रिसाल कसरी ‘क्रान्तिकारी’ भए ?

करीब १० वर्षअघिको कुरा हो । रिसालको भेट एकजना डाक्टरसँग भयो । डाक्टरको संगतबाट उनले नेपालमा परीक्षणका लागि चाहिने मृत शरीर (क्याडभर) हाहाकार रहेको थाहा पाए । मेडिकल साइन्सका विद्यार्थीको अभ्यासका लागि क्याडभर भारतबाट ल्याउनुपर्ने रहेछ । क्याडभर ल्याउन समेत बिचौलियाको चलखेल ।

कतिपय शिक्षण संस्थाले पर्याप्त क्याडभर नल्याइकन एउटै क्याडभर कोट्याउन लगाएर चिरफार (डाइसेक्शन) को अभ्यास गराउँदा रहेछन् ।

त्यो सुनेपछि रिसाललाई ‘भाउन्न’ भयो । केही समाधान निस्किएला कि भनेर इन्टरनेटमा ‘सर्च’ गरे । ती डाक्टरको सल्लाह र इन्टरनेटले एउटै विकल्प दियो– शरीरदान गर्ने ।

तर, त्यो विकल्पका लागि नेपालमा कुनै कानुन बनेको थिएन ।

उनी शरीरदानका लागि भन्दै विभिन्न अस्पताल धाउन थाले । करिब दुई वर्षको दौडधुपपछि अन्ततः पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले मरोणापरान्त उनी र उनकी पत्नीको शरीर मृत्युपछि लिने सहमति गर्‍यो ।

यो ८ वर्षअघिको कुरा हो ।

रिसालको त्यो कदमपछि नेपालमा शरीरदानको बहस सुरु भयो । उनको पथ पछ्याउँदै ६ वर्षअघि साहित्यकार क्षेत्रपताप अधिकारीको शव बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेज धरानमा राखियो । अधिकारीले मर्नुभन्दा अघि अस्पतालसँग शरीरदान गर्ने सम्झौता गरेका थिए । अधिकारीको इच्छालाई सम्मान गर्दै उनका छोराहरु अजर र अमनले शव दाहसंस्कार नगरी अस्पतालमा बुझाए।

चार वर्षअघि आत्महत्या गरेका न्यायाधीश भरतराज उप्रेतीको शव पनि महाराजगञ्ज टिचिङ शिक्षण अस्पतालमा बुझाइएको थियो । उप्रेतीले सुसाइड नोटमै शरीरदानको इच्छा व्यक्त गरेकाले उनको परिवारले शव टिचिङमा बुझाएको थियो । त्यस्तै योगी विकाशानन्दकी आमा र सञ्चारकर्मी यज्ञनिधि दहालको पनि शरीरदान गरिएको थियो। उनीहरुका परिवारले रिसालकै पथ पछ्याएका थिए।

 

रिसाल भन्छन् – हामी सबैले शरीरदान गर्नुको उद्देश्य आफ्नो मृत शरीर मेडिकल साइन्सका विद्यार्थीहरुको अभ्यासका लागि काम लागोस् भनेर हो । तर, बुझ्नेहरुले बुझ्दैनन् ।

कानुन नै नबनिकन उनीहरुले शरीर दान गरेपछि प्रश्न उठ्यो, ‘कसरी सम्भव भयो त उनीहरुको शरीरदान ?’

रिसाल भन्छन्, —मृतकको ईच्छा र परिवारको स्वीकृति । परिवारको स्वीकृतिविना त मृतकको ईच्छाले मात्रै उसको सपना पूरा हुदैँ हुँदैन ।’

पश्चिमा मुलुक तथा नेपालको छिमेकी देश बंगलादेशमा शरीरदानको प्रावधान भए पनि यो नेपालका लागि नौलो हो । हिन्दु धर्म संस्कारकै कारण पनि यस्तो कानुन बनाउन असम्भव रहेको तर्कहरु सुनिदैँ आएका छन् । यसमा रिसालको भने छुट्टै तर्क छ । रिसाल भन्छन्, ‘मृत शरीरसमेत विदेशबाट किन्नुपर्छ । कम्तिमा लासमा त आत्मनिर्भर बनौँ । संस्कार मात्रै हेरेर त हुन्न नि ।’

किन चाहिन्छ क्याडभर ?

नेपालमा वैज्ञानिक अध्ययन, अनुसन्धान नभए पनि मेडिकल कलेजका विद्यार्थीहरुका लागि क्याडभर आवश्यक पर्छ । मेडिकल कलेजमा विद्यार्थीहरुलाई विभिन्न अंग चिरफार गर्न लगाइन्छ । यस्तै अभ्यास गरेर नै विद्यार्थीहरु दक्ष डाक्टर बन्छन् ।

त्यो मात्र नभई शरीरदानको प्रावधान भएमा अंग प्रत्यारोपण गर्न कुरिरहेका बिरामीहरुले पनि अंग पाएर पुनर्जीवन पाउँछन् । तर, त्यसका लागि मष्तिष्क मृत्यु भएको २४ घण्टाभित्र अस्पताल पुर्‍याइसक्नुपर्छ ।

मेडिकल साइन्सका जानकारहरुका अनुसार ‘क्याडभर डाइसेक्सन’को अभ्यास नगरी डाक्टर बन्न सकिँदैन। यो एमबिबिएसको ‘एनोटोमी’ कोर्समा अनिवार्य पढ्नुपर्छ । त्यसैले, सामान्य डाक्टर होस् या शल्यक्रिया विशेषज्ञ, एमबिबिएस पढ्ने सबैले क्याडभर डाइसेक्सनको अभ्यास गर्नै पर्छ।

रिजाल भन्छन्, ‘शरीरदानको यस्ता महत्व धेरै नै छ । नेपालमा यो नियम कहिले बन्छ थाहा छैन, तर अवश्य बन्छ ।’

स्वेच्छिक मरणको बहस

शरीर दानको बहस किनारा नलाग्दै रिसालले स्वेच्छिक मरणका बारेमा बहस सुरु गरेका छन् । गत साता संघीय संसदको महिला तथा सामाजिक समितिमा रिसालले कुरा राखेपछि स्वेच्छिक मृत्युका बारेमा फेरि बहस सुरु भएको हो ।

‘एउटा मिशन पूरा नगरी किन अर्को मिशन ?’

रिसाल हाँस्दै भन्छन्, ’म बुढो अब कतिञ्जेल बाँचुम्ला र ? म जिउँदै हुँदा कानुन नै नबन्ने जस्तो देखियो, अब बहस चाहीँ भइराखोस् भनेर…।’

दुई साताअघि संघीय संसदबाट रिसाललाई अकस्मात बोलाइयो । किन र केका लागि थाहा थिएन । तैपनि, निमन्त्रणा स्वीकार गरेर समितिको बैठकमा पुगे । त्यहाँ समितिकी सभापति निरु पाल लगायका अरु सदस्यहरु थिए । उनलाई जेष्ठ नागरिकको समस्याको विषयमा बोल्न लागाइयो ।

बिना तयारी पुगेका रिसालले त्यहाँ स्वेच्छिक मरणको कानुन आवश्यक रहेको बताए । उनको कुरा सुनेर समितिका सदस्यहरु अलमल्ल परे। अनोठो प्रस्ताव राखेको बताए पनि कुनै प्रतिक्रिया दिएनन् । उनको प्रस्ताव समितिको प्राथमिकतामा परेन ।

रिसालले स्वेच्छिक मरणको बहस चलाउनुअघि धेरै ठूलो तयारी गरेका थिएनन् । यसलाई उनी आकस्मिक संयोग मान्छन् । संयोगकै कारण यो बहस जन्मिएको उनी सुनाउँछन् । ‘छलफल र कुनै प्रतिक्रिया नदिए पनि कम्तिमा बहस त सुरु भयो’ रिसाल थप्छन्, ‘बहस भइराख्यो भने पनि कानुन बनाउनका लागि दबाव पुग्छ ।’

रिसाललाई स्वेच्छिक मरणको बहस सुरु गरेपछि ‘बा–आमालाई हेला गर्नेहरुको झुण्डले’ यो कानुन बनाउन लबिङ गरिरहेको भन्ने आरोप लागेको छ । उनी यस्ता आरोप स्वेच्छिक मरणको अभिप्राय नबुझ्नेहरुले लगाएको सुनाउँछन् ।

अब यसको अभिप्राय बुझाउने अभियानमा लाग्ने उनको योजना छ ।

‘…फुर्सदको जीवन शरीर दान र स्वेच्छिक मरणका बारेमा चेतना फैलाएर बिताउँछु’ उनी हाँस्दै भन्छन्, ‘कानुन पक्कै बन्छ, यो कुरामा निश्चिन्त छु । म जिउँदै हुँदा बन्यो भने राम्रो ।’

**

‘स्वैच्छिक मरण किन ?’

हिजोआज यो प्रश्न पनि दिनहुँजसो सामना गरिरहेका छन् उनले। प्रश्न सोध्ने अधिकाशंलाई उनको जवाफ हुन्छ, ‘दिसा पिसाबको कुण्डमा डुबेर बोल्न हिड्न नसक्ने मानिसहरु नर्किय जीवन किन बाँच्नु ? न उनीहरुको स्याहार सुसार राम्रो हुन्छ न उनीहरु बाँच्न नै चाहन्छन्।’

रिसालले बिरामदेखि थलिएर जिउदो लाश भएर दिन कटाइरहेका धेरै मानिसहरु भेटेका छन्। ति मानिसहरु जीवनदेखि बिरक्तिनु भन्दा पनि पीडा सहन नसकेर मर्न चाहिरहेका छन्। हात खुट्टा चल्नु त परै जाओस् राम्रोसँग बोल्न नसक्दा उनीहरुमा मर्ने चाहना बढेको छ। ‘गु मुत’को आहालबाट मुक्त हुन चाहन्छन्, उनीहरु। त्यसैले उनीहरुजस्तै मानिसको लागि स्वैच्छिक मरणको कानुन आवश्यक छ।

‘स्वैच्छिक मरणको कानुन सय वर्ष नाघेका तर हिडडुल गर्न सक्नेहरुलाई होइन्’, रिसाल हाँस्दै भन्छन्, ‘म जस्तो हट्टाकट्टा मान्छे किन मर्नु पर्यो ? तर, कतिपय जेष्ठ नागरिकको अवस्था अत्यन्तै बिजोक छ, उनीहरु मर्न चाहन्छन् भने कानुनले दिनुपर्छ।’

उनी स्वैच्छिक मरणको कानुनले जेष्ठ नागरिकको आत्महत्या दर घट्ने बताउँछन्। बिरामीले सकशमा बाँचिरहेका जेष्ठ नागरिकहरुले धेरै पटक आत्महत्याको प्रयास गरेको सुनेका छन्। जेष्ठ नागरिकले आत्महत्या गरेको खबर सुन्दा अनौठो लाग्दैन्। जिउदो लाश भएर  दिन काटिरहेकाहरुलाई मर्ने चाहना हुनु स्वाभाविक रहेको सुनाउँछन्।

भन्छन्, ‘कुजो शरीर लिएर गु मुतको कुण्डमा अर्धचेत अवस्थामा रहेको मान्छेलाई बाँच्ने चहाना कहाँ हुन्छ र ? पहिलेको अवस्थामा फर्कन नसक्ने निश्चित भएपछि मान्छेहरु मर्नै चाहन्छ।’

रिसालको अनुसार अर्धचेत अवस्थामा रहेका बृद्दबृद्दालाई परिवारको मायाले मात्र पुग्दैन्। उनीहरुको लागि दैनिक ‘मेडिकल ट्रिटमेनण्ट’ जरुरी हुन्छ। त्यस्ता व्याक्तिहरुले सहज महशुष गर्न स्वास्थ्य ठिक हुनुपर्छ। तर, कतिपय वृद्दबृद्दाहरु लाखौँ खर्च गर्दापनि पहिलेको अवस्थामा आउन सक्दैनन्। त्यस्तो अवस्थामा छटपटिएर काल कुर्नुको विकल्प नै हुन्न्।

नेपालको छिमेकी देश भारतमा ससर्त स्वैच्छिक मरणको प्रावधान छ। बेलायत बेल्जियम, स्विजरल्याण्ड जस्ता देशहरुका जेष्ठ नागरिकहरुले पनि यो सुविधा पाउँछन्। अमेरिकाको ६ वटा राज्य र अन्य केही देशहरुमा स्वैच्छिक मरणको कानुन छ।

‘के कस्तो प्रावधान राख्ने हो, त्यो राज्यको हातमा छ। तर, राज्यले  लगभग २५ लाख जेष्ठ नागरिकको भावना बुझेर केही न केही निर्णय गर्नुपर्छ’ रिसाल भन्छन्, ‘क्रान्तिकारी भनाउँदा नेताहरुले जेष्ठ नागरिकको कुरा बैलैमा सुन्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?