Comments Add Comment

पर्यटनमन्त्री भन्छन् – भरुवा बन्दुक देखाएर तर्साउँदिन, सिधै निसाना लगाउँछु

२२ साउन, काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले बुधबार पत्रकारमाझ अनौपचारिक रुपमा आफ्ना केही योजना सुनाए । उनको सबैभन्दा पहिलो र मुख्य ‘फोकस’ चाहिँ नेपाल एयरलाइन्सको सुधार देखिन्छ ।

मन्त्री भट्टराईले ‘वाह नेपाल एयरलाइन्स’ बनाउने प्रतिवद्धता पुनः दोहोर्‍याए । उनले आत्मविश्वासपूर्वक भने, ‘मैले बोलेकै काम गर्नका लागि हो, काम नगर्ने भए म बोल्ने नै थिइनँ ।’

१५ साउनमा पहिलोपटक मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री भट्राई हरेक दिनजसो नेपाल वायुसेवा निगमका उच्च तहका अधिकारीसँग छलफलमा बसेका छन् । जानकार व्यक्तिहरुसँग निगम सुधारको उपायबारे सुझाव मागिरहेका छन् ।

मन्त्री भट्टराई भन्छन्, ‘म भरुवा बन्दुक देखाएर तर्साउन मात्र आएको होइन, सिधै निसाना लगाउने हो ।’

मन्त्री भट्टराईले बुधबार नै एक समिति गठन गरेका छन् । पर्यटन मन्त्रालयमा समेत काम गरिसकेका पूर्वसचिव सुशील घिमिरेलाई समितिको संयोजक बनाइएको छ ।

समितिमा चार्टर्ड एकाउन्टेन्ट सुवोध कुमार कर्ण, व्यवस्थापन विज्ञ डिम प्रसाद पौडेल र पाइलट सुधीर शम्शेर राईलाई सदस्य सचिव तोकिएको छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।

दर्जनौं अध्ययन शून्य उपलब्धी

नेपाल वायुसेवा निगम हरेक सरकारको मूख्य एजेण्डा हुन्छ । यसैलाई राजनीतिक नारा बनाएर आफ्नो दूनो सोझाउने नेतृत्व धेरै आए । यी सबै नेतृत्वभन्दा मन्त्री भट्टराई कति फरक देखिनेछन् त्यो त समयले नै बताउला ।

निगमको सुधारका लागि यसअघि पनि दर्जनौं अध्ययन भएका छन् । कतिपय अध्ययन सार्वजनिक भएका छन्, कति गुपचुप छन् । यी सबै अध्ययन प्रतिवेदनलाई समितिले सुक्ष्म रुपमा केलाउने मन्त्री भट्टराईले आश्वस्त पारे । उनका अनुसार आजसम्म भएका सबै अध्ययन प्रतिवेदनलाई विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ ।

यसबाहेक निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने, निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवम व्यवसायीक क्षमतामा रहेका समस्या पहिचान र विश्लेषण गनर्ेे जिम्मेवारी दिइएको छ । मन्त्री भट्टराई अब कुनै पनि बहानामा नेपाल एयरलाइन्सलाई पछाडि छाडेर जान नसकिने तर्क गर्छन् । ‘कुन विकल्पमा जाँदा निगमको गरिमालाई बचाउन सकिन्छ, हामी त्यतै जाने हो,’ उनी भन्छन् ।

मन्त्री अधिकारीले नेपाल एयरलाइन्सको वर्तमान अवस्थालाई बन्द कोठाको उकुसमुकुसको संज्ञा दिए । उनी भन्छन्, ‘अब भेन्टिलेस खोल्ने हो, कहाँबाट कसरी सुरक्षित रुपमा खोल्न सकिन्छ भन्नेबारे समितिले सुझाव दिनेछ । किनकी विनाअध्ययन खोल्दा भोली दूर्घटना नहोस भन्नेमा सचेत हुनु पर्नेछ ।’

एक महिनापछि एक्सन

मन्त्री भट्टराईले ताकेको निसानामा तीर हान्ने काम भने १ महिनापछि थाल्ने जानकारी गराएका छन् ।

‘बुँदागत रुपमा सुझाव मागेका छौं, त्यो आएपछि हामी काम थाल्छौं । एक महिनापछि एक्सन शुरु हुन्छ,’ उनले भने ।

यसबीचमा भएका जहाजको अधिकतम उपयोग, नेवानिको व्यापारिक योजना निर्माणमा केन्दि्रत हुन उनले निगमका कार्यकारी अध्यक्षसहित व्यवस्थापनलाई निर्देशन दिइसकेका छन् ।

निगमले पर्यटन मन्त्रीमा भट्टराई नियुक्ति भएकै भोलीपल्ट मन्त्रीको गृहजिल्ला ताप्लेजुङको सुकेटार विमानस्थलमा परीक्षण उडान गर्‍यो । मन्त्री आउनासाथ परीक्षण उडान गर्न सकिने भए उपलब्ध जहाज पूर्ण क्षमतामा उडाउन किन नसकेको त ?

निगमका एक उच्च अधिकारी भने यसलाई संयोगमात्र मान्छन् । क्रमशः चिनियाँ जहाज उडाउने गरी शुरु भएका योजना अनुसार नै दूर्गम भेगमा सेवा पुनः सूचारु गर्न लागिएको हो ।

विमानस्थलका थोत्रा बस फेरिने

नेपाल वायुसेवा निगमले त्रिभुवन विमानस्थलमा ग्राउण्ड हृयाण्डिलिङको पनि काम गर्छ । त्यस क्रममा जहाजबाट उत्रिएका यात्रुलाई आगमन टर्मिनलसम्म ल्याउने र उनीहरुको ब्यागेज ल्याउने जिम्मेवारी निगमको हो । मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलमा निगमसँग रहेका सबै पुराना र थोत्रा बस विस्थापित गर्न व्यवस्थापनलाई निर्देशन दिएका छन् ।

‘विमानस्थल देशको ऐना हो, संसारकै सबैभन्दा महंगो मानिने हवाई गन्तब्य झरिसकेपछि थोत्रा बसमा झुण्डिनु पर्ने ?’ मैले ती बस फेर्न निर्देशन दिइसकेको छु,’ मन्त्री भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment