Comments Add Comment

सत्यवतीका पहिरो पीडितका लागि एक करोड राहत संकलन

२३ साउन, गुल्मी । गुल्मीको सत्यवतीका पहिरो पीडितका लागि झण्डै १ करोड नगद राहत संकलन भएको छ । गुल्मी सत्यवती गाउँपालिका वडानम्बर ३ र ४ को विपद् व्यवस्थापनका लागि ९१ लाख ५१ हजार ४११ रुपैयाँ संकलन भएको सत्यवती गाउँपालिका कार्यकारी अधिकृत यादव भण्डारीले जानकारी दिए ।

राहतको लागि आह्वान गरिएअनुसार सत्यवती गाउँपालिकाको खातामा ३३ लाख ४५ हजार ११३, वडानम्बर २ चेहेमी थुम्काको खातामा २ लाख २८ हजार ८७७, वडानम्बर ३ ठूलोलुम्पेकको खातामा ३७ लाख ९९ हजार ६०९ र वडानम्बर ४ लिम्घाको खातामा १७ लाख ७७ हजार ८१२ रुपैयाँ संकलन भएको कायकारी अधिकृत भण्डारीले बताए ।

गाउँपालिकाले खोलेका खाताहरुमा संकलित रकम बाहेक पीडितहरुका लागि जिन्सी सामाग्रीहरु पनि संकलन भएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट राहत संकलन भएको हो ।

गत साउन ७ गते राति गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो । दुई स्थानमा गएको पहिरोमा ३०७ घर प्रभावित भएका छन् । वडानम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा गरी एकहजार २६० जना प्रभावित भएका छन् ।

पहिरोले बिस्थापितलाई सोही स्थानका निर्माण गरिएका अस्थायी आवासमा राखिएको छ । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएर खाद्यान्न संकट आएपछि हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा पठाइँएको थियो ।

मोटरबाटो समेत बगाएपछि तीनपटक हेलिकोप्टरमार्फत लगिएको थियो । तर, अहिले सामान्य रुपमा मोटरबाटो लगिएको छ । प्रभावित मध्ये पूर्ण क्षतितर्फ १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय रहेका छन् ।

आशिंक क्षतिमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

पहिरोमा पशु चौपायातर्फ २८ वटा भैसी, १ गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुर मरेको प्रराम्भिर तथ्यांक संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

प्रभावित क्षेत्रमा विपद् समितिको बैठक

पहिरो प्रभावित क्षेत्रमा जिल्ला विपद् ब्यबस्थापन समितिको बैठक बसेको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको विपद् व्यवस्थापन समिति, स्थानीय विपद ब्यबस्थापन समिति सत्यवती गाउँपालिकाको संयुक्त बैठक ठूलोलुम्पेक र लिम्घामा गएको पहिरो पीडितलाई लक्षित गरी सत्यवती गाउँपालिकाको कार्यालय जोहाङ्ग खैरेनीमा सम्पन्न भएको छ ।

बैठकले राहत वितरण र ब्यबस्थापकीय जिम्मेवारीको लागि गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, उपाध्यक्ष सूवर्ण शाही, प्रमुख प्रशाकीय अधिकृत यादव भण्डारी, वडानम्बर ३ का अध्यक्ष रुकबहादुर राना र वडानम्बर ४ का अध्यक्ष दानबहादुर राना रहेको ५ सदस्यीय समिति एवं विपद् सूचना केन्द्रको स्थापना गरिएको छ ।

सरोकारवाला जिल्लास्थित कार्यालयहरुले ७ दिनभित्र आ-आफ्नो कार्यालयले सो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी सबै पक्षको पहलमा त्रसित पहिरो पीडितहरुलाई आफ्नो घरमा बस्न मिल्ने भएमा घर फर्किने वातावरण मिलाउन पहल गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment