
२७ साउन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर–१८ घर भएका ३६ वर्षीय नसिव तामाङ छन् । ब्युरोका एसपी दिपक रेग्मीका अनुसार उनलाई विशेष सुचनाको आधारमा बालुवाटारमा रहेको कोठाबाट पक्राउ गरिएको हो ।
तामाङको साथबाट ३२ पोर्टको जीओआईपी गेटवे दुई वटा, ल्यापटप, राउटर, मोबाइल, १० वटा एनटीसी र २० वटा एनसेलको सिम कार्ड लगायत बरामद भएको छ ।
एसपी रेग्मीका अनुसार तामाङ यसअघि १९ जेठ ०७२ मा पनि अवैध भीओआईपी उपकरणसहित धापासीबाट पक्राउ परेका थिए । एक वर्ष कैद सजाय भुक्तान पश्चात छुटेका उनले पुनः अवैध काम थालेका थिए ।
‘छिटो आम्दानी हुने बाटो हेरेरै पुनः पुरानै धन्दा चलाएको देखिन्छ’, एसपी रेग्मी भन्छन्, ‘उनले विदेशी कल क्यारियरसँग समन्वय गर्ने गरेको खुलेको छ ।’
प्रतिक्रिया 4