Comments Add Comment

के तपाईंको बच्चामा भककाउने समस्या छ ?

आमा-बुबाको एउटै सपना हुन्छ, आफ्ना सन्तान सर्वगुणले सम्पन्न हुन् । तर, आफ्ना सन्तानको साना कमजोरी पनि आमा-बुबाको लागि ठूलो समस्या बनिदिन्छ ।

त्यस्तो स्थितिमा यदि तपाईंको सन्तानको बोलि स्पष्ट छैन, उसले भककाउँदै बोल्छ भने तपाईंलाई दिक्क लाग्नु स्वाभाविक नै हो । किनभने अरु बच्चाहरुले झै आफ्नो सन्तानले पनि मीठो र स्पष्ट बोली बोलोस् भन्ने चाहना हरेक आमा-बुबाको हुन्छ ।

भककाउनु मानसिक विकार ?

प्रायः आमा-बुबा प्रारम्भमा भककाउनुलाई सामान्य रुपमा लिने गर्छन् । उनीहरु बच्चा बढ्दै जाने क्रममा यो समस्या आफै कम हुन्छ भन्ने सोचेर बेवास्ता गर्छन् । वास्तवमा भक्ककाएर बोल्ने बानी एउटा मानसिक विकार हो । भककाएर बोल्ने बच्चा सामान्य बालबच्चा जस्तै धारा प्रवाह र स्पष्ट बोल्न सक्दैनन् । उनीहरुले बोल्दा शब्दहरुलाई बङ्ग्याएर बोल्ने गर्छन् ।

यद्यपी भकभके बच्चा मानसिक रुपमा धेरै तेजिलो हुन्छन् । यसप्रकारका बच्चाको स्वभाव अन्तर्मुखी र भावुक किसिमको हुन्छ । त्यसैले अरुको अगाडि बोल्न अप्ठयारो मान्छन् । आफ्नो भककाउने बानीले अरुको अगाडि हाँसोको पात्र बनिन्छ भन्ने डरले उनीहरु प्रायः चुप लागेर बस्न रुचाउँछन् । यदि त्यस्तो स्थितिमा बोल्न परेमा उनीहरु अरु समयमा भन्दा बढि भकभकाउने गर्छन् ।

हौसला र आत्मविश्वास आवश्यक

तर बच्चाको बोली भकभके हुनुमा उसको कुनै दोष हुँदैन । यो समस्यालाई तपाईं र तपाईंको परिवारको सहयोगले समाधान गर्न सकिन्छ । तपाईंको बच्चालाई आफ्नो बोलिमा सुधार ल्याउनका लागि परिवारको साथ अति आवश्यक हुन्छ ।

तपाईंले उसको हौसला र आत्मविश्वास बढाउनु पर्छ । जसकारण उसले आफु स्वयंमा भरोसा राख्न सकोस् । यदि तपाईंले नै हरेस खानु भयो भने उसले पनि अत्तिएर हार मान्न सक्छ । यदि कसैले उसलाई जिस्काउने अथवा मजाक बनाउने गर्छ भने यो कुनै रोग होइन बानी हो । जुन केही समयको स्पीच थेरापीले निको हुन सक्छ भन्ने कुरा सम्झाउनु पर्छ ।

यदि तपाईंको परिवारको सदस्यको भकभकाएर अथवा अड्की-अड्की बोल्ने बानी छ भने उसलाई सही तरिकाले बोल्न सिकाउनु पर्छ । उसलाई उ पनि अरु व्यक्तिहरुले जस्तै गरि सही र स्पष्ट बोल्न सक्छ भन्ने कुरा राम्रोसँग सम्झाउनु पर्छ । यदि तपाईले उसको आत्मविश्वास बढाउँदै जानु भयो भने तपाईंको यो प्रयासमा एकदिन अवश्य सफल हुन सक्नु हुन्छ ।

कस्तो अवस्थामा चिकित्सकको परामर्श आवश्यक ?

यदि तपाईंको बच्चा सानैदेखि यो समस्याले ग्रसित छन् भने डाक्टरको सल्लाह लिनु पर्छ । डाक्टरको सल्लाह अनुसार स्पीच थेरापी लिन थाल्नु पर्छ । यदि तपाईले सानैमा स्पिच थेरापी गराउनु भयो भने छोटो समयमा नै तपाईंको बच्चाको भककाउने समस्या हट्छ ।

यदि तपाईंले समयमा नै यो थेरापी शुरु गर्नु भएन भने ठूलो भएपछि भककाउने समस्या हटाउन धेरै नै गाह्रो मात्र होइन, धेरै समय लाग्न सक्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment