Comments Add Comment

इज्जतको भोक थियो, भलिबलले दियो

३० साउन काठमाडौं । ‘खेलाडी बनेर बाँच्न गाह्रो छ’ यो गुनासो तपाईंले धेरै खेलाडीहरुको मुखबाट सुनिसक्नुभयो होला । यसको तात्पर्य भनेको खेल क्षेत्रमा लागेर घर चलाउन सकिँदैन भन्ने नै हो ।

मेरो हकमा चाहिँ त्यस्तो अनुभव गर्नुपरेको छैन । २०६२ सालमा पुलिस क्लबमा आवद्ध भएको मैले खेलेरै पेट पालिरहेको छु भने थोरबहुत पहिचान पनि बनाएको छु । पक्कै पनि, विभागीय टिमबाट खेल्नेहरु आर्थिक संकटबाट गुजि्रनुपर्ने अवस्था छैन, तर अरुको अवस्था नाजुक नै छ ।

सरकारले राष्ट्रिय खेलको मान्यता दिए पनि भलिबलका खेलाडीहरुको जिविकोपार्जन सुरक्षित गर्न सकेको छैन । त्यसैले धेरै खेलाडीहरु अन्य पेशातर्फ लागेका छन् । कोही विदेशिएका पनि छन् । त्यसो त नेपालमा भलिबलमात्र नभएर अरु विधाका खेलकुदको हालत पनि यही हो, फुटबल र क्रिकेटलाई छोडेर ।

कास्कीको एउटा पहाडी गाउँमा जन्मिएको मलाई भलिबलले नै डोहोर्‍याएर त्यहाँबाट पोखरा हुँदै काठमाडौं ल्यायो । प्रहरीको टिम हुँदै अहिले राष्ट्रिय टिमको कप्तान बनेँ । आज जे छु भलिबलकै कारण छु ।

****

अहिले म र मेरो टिमका साथीहरु कति उत्सुक छौं, त्यो बयान गरिसक्नुछैन । पाँचौ एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता नजिकिँदै जाँदा हाम्रो मुटुको चाल पनि बढ्दो छ ।

भदौ २ देखि ७ गतेसम्म लगनखेलस्थित आर्मी कभर्डहलमा हुने यो प्रतियोगितामा हामीभन्दा माथिल्लो स्तरका टिम छन् । किर्गिस्तान, तुर्किमेनिस्तान, उब्जेकिस्तान, अफगानिस्तान, माल्दिभ्स र बंगलादेशसँग भिड्नु हाम्रो लागि पक्कै पनि फलामको च्यूरा हुनेछ, तर हामीले पनि राम्रो तयारी गरेका छौं । विदेशी प्रशिक्षक आउनु भएको छ । असार पहिलो सातादेखि तयारी गरिरहेका छौं ।

यसबीचमा हामीले आफ्ना कमजोरी सुधार गरेका छौं । सेन्ट्रल जोन खेल्न आउने टिमहरुसँग हामी पहिले पनि खेलिसकेकाले उनीहरुको क्षमता थाहा छ । त्यही हो कुनै टिमसँग म्याच एक्सपोजर बढी छ, कुनैसँग कम । तुर्किमेनिस्तान र किर्गिस्तानचाहिँ हामीभन्दा बलिया हुन् । उनीहरुका खेलाडीहरु अग्ला कदका छन् ।क म्याच एक्सपोजर पनि राम्रो छ ।

हाम्रोचाहिँ कमजोरी म्याच एक्सपोजर हो । हामीले पनि धेरैभन्दा धेरै खेल्न पायौं भने आफ्नो खेल सुधार्न सक्छौं । म्याच एक्सपोजरको कमी हामीलाई यसपालि पनि खट्किन सक्छ जस्तो लाग्छ ।

त घरेलु मैदानमा दर्शकको साथ पाउँछौं । यसले हौसलासँगै दबाव पनि दिन्छ । सबै टिमको आँखा त उपाधिमा नै हुन्छ । हाम्रो लक्ष्यचाहिँ फाइनल खेल्ने हो । योभन्दा अघि हामी तेस्रो भएका थियौं । त्यसैले अलिकति आफ्नो स्तर उकासेको खण्डमा लक्ष्य हासिल गर्न कठिन नहोला ।

हुन त हाम्रो सुधार गर्नुपर्ने ठाउँ धेरै छ । अहिले पनि सर्भिस कमजोर नै छ । यसले विपक्षी टिमलाई रिसिभ गर्न सजिलो हुन्छ भने हामीलाई ब्लक गर्न कठिन । यद्यपि सक्दो राम्रो गर्ने प्रयास जारी छ ।

****

यो प्रतियोगितालाई हामीले साग खेलकुदको तयारीका रुपमा पनि लिएका छौं । तर यो नै पर्याप्त भने छैन । हामीले सागमा राम्रो नतिजा निकाल्न अझै अन्य देशहरुसँग मैत्रीपूर्ण खेलहरु खेल्नुपर्छ ।

हुन त सेन्ट्रल जोन प्रतियोगितापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बन्द प्रशिक्षण पनि सुरु हुनेछ । साग खेलका लागि पनि विदेशी प्रशिक्षक ल्याउनुहुन्छ कि स्वदेशी भन्ने त्यतिबेला नै थाहा हुनेछ । नेपाली प्रशिक्षकले नै सागमा मुख्य प्रशिक्षकको भूमिका निभाए पनि फरक पर्दैन ।

सागमा हामीले कम्तिमा तेस्रो हुने लक्ष्य तय गरेका छौं । पाकिस्तान र भारतको स्तर हाम्रोभन्दा निकै माथि छ । श्रीलंकाचाहिँ त्यति बलियो छैन । उससँग एसियन गेम्समा पनि खेलिसकेका छौं । त्यसैले उसलाई हराउने र सागमा काश्य पदक ल्याउनेमा हामी आशावादी छौं ।

****

अब तपाईंलाई मेरो व्यक्तिगत पृष्ठभूमि र भलिबल यात्राबारे बताउँछु । गण्डकी प्रदेशको कास्की जिल्लामा मेरो जन्म भएको हो । पहिले रुपाकोट गाविस थियो, तर अहिले रुपाकोट गाउँपालिका भएको छ ।

मेरो घर जान पोखरादेखि माथि उकालो लाग्नु पर्छ । अहिले बाटो पिच भएको कारण करिब ३० मिनेटमा पुगिन्छ । मेरो बाल्यकाल त्यही गाउँमा उकालो-ओरालो, वनजंगल, खोलानाला गर्दै बित्यो ।

पहाडी भेग भएकाले ठूलो मैदान थिएन । त्यसैले अरु खेलभन्दा भलिबलप्रति झुकाव हुनु स्वाभाविकै हो । मैले सानैबाट भलिबल खेल्न थालेँ । तपाईंहरुलाई अनौठो लाग्ला, हामी मोजाभित्र कपडा खाँदेर डल्लो पारी त्यसलाई भलिबलको रुपमा खेल्थ्यौं । बुद्ध जयन्तीको बेला गाउँमा प्रतियोगिता हुन्थ्यो ।

विशेषगरी तनहुँबाट क्षेत्रीय खेलाडीहरु खेल्न जानुहुन्थ्यो । उहाँहरुलाई निकै सम्मान/इज्जत दिइन्थ्यो । बच्चादेखि बुढासम्मले उहाँहरुलाई सम्मान गरेको देख्दा मलाई पनि खेलाडी बनेर नाम कमाउने हुटहुटी जाग्यो ।

मेरो घरमा सबैलाई भलिबल खेल मन पर्थ्यो । दाइहरुले मलाई पनि खेलमा लाग्न प्रोत्साहन गर्नुभयो । तँ खेल, घरमा काम गर्ने हामी छँदैछौं भन्नुहुन्थ्यो । बुबा-आमाले पनि राम्रोसँग खेल्नू भन्नुहुन्थ्यो ।

****

२०५९ सालतिर मैले क्लबबाट खेल्न थालेँ । तर अरुभन्दा जुनियर भएकाले कहिलेकाहीँ मात्र मौका पाउथेँ । मेरो खेलको गाउँका दाइहरुले प्रशंसा गर्नुहुन्थ्यो । मलाई हाइटले साथ दिएको थियो । २०६० सालमा पोखरा झरेर खेल्ने अवसर पाएँ । पहिलो खेल मैले मिलनटोलमा दृष्टि क्लबबाट खेलेको थिएँ । कास्की जिल्लाको क्लब च्याम्पियनसीप प्रतियोगिता थियो त्यो ।

दृष्टि क्लबका अध्यक्ष राम लामिछाने दाइले पोखरासम्म ल्याउनु भएको थियो । पोखरा आएपछि भलिबललाई राम्ररी बुझेँ । नियमहरु थाहा पाएँ । त्यसपछि दृष्टि क्लबबाट पोखराका प्रतियोगिताहरु खेल्दै गएँ । त्यतिबेला म १४ वर्षको थिएँ । भलिबल खेल्न उमेर बढाएर नागरिकता बनाएँ ।

दृष्टि क्लबबाट लामाचौरमा पहिलो प्रतियोगिता खेल्दा राम दाइले भन्नुभयो- तिमीलाई म १२ जनाभित्र राख्छु तर, प्लेइङ सिक्समा नपर्न पनि सक्छौं । त्यसमा मन नदुखाउनू ।
त्यतिबेला संयोग के मिल्यो भने लामाचौर र बाटुलीचौरमा एकै दिन प्रतियोगिता हुने भयो । हामीले दुवैतिर खेल्नुपर्ने । बाराही क्लब त्यसबेला निकै बलियो थियो । हाम्रो दृष्टि क्लब भर्खर उदाउँदै गरेको थियो । लामाचौरमा हुने प्रतियोगितामा सुरुमै हामीले बाराही क्लबसँग भिड्नु पर्ने ।

उता बाटुलीचौरमा चाहिँ हाम्रो समूहमा सजिलो टिम थियो । त्यहाँ हामीले फाइनल पुग्ने लगभग निश्चित देखियो । त्यसो भएपछि सिनियर खेलाडीहरु बाटुलीचौरको प्रतियोगितामा गए । हामी जुनियरचाहिँ हार्ने त हो भनेर लामा चौरतिर दौडियौं । जुनियर र दोस्रो प्राथमिकताका खेलाडीको टिम बनाएर लामाचौर गएका थियौं । जित्ने आशा थिएन । मैले पनि आफ्नो खेल देखाउने अवसरका रुपमा लिएको थिएँ । तर बाराही क्लबमाथि अनपेक्षित जित निकाल्यौं ।

यही प्रतियोगिताबाट मेरो भलिबल करिअरले अर्को मोड लियो । मैले प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको थिएँ । सबैले मेरो खेलको प्रशंसा गर्नुभयो । त्यसपछि म सिनियर टिमबाट करिब डेढ वर्ष जति खेलेँ ।

****

पोखराबाट काठमाडौंसम्मको यात्राचाहिँ कसरी तय भयो त ? त्यो पनि भन्छु ।

ढोरपाटन पुरुष भलिबल प्रतियोगितामा हाम्रो दृष्टि क्लबले पनि भाग लिने भयो । त्यही प्रतियोगिताका लागि म काठमाडौं छिरेको थिएँ । प्रतियोगितामा राम्रो खेलेँ । त्यही बेला विभागीय टिमहरुको नजर परेछ । एकाएक सबै विभागीय टिमले आफ्नो क्लबमा अनुबन्ध हुन आग्रह गर्न थाले । म त दोधारमा परेँ । अन्ततः गाउँको दाइ बुद्धि गुरुङमार्फत पुलिस क्लबमा आबद्ध भएँ ।

बुद्धि दाइकै कारण आज यो स्थानमा छु जस्तो लाग्छ । उहाँले मलाई २०६२ सालमा पुलिस क्लबमा आबद्ध गराउनु भएको थियो ।

दृष्टि क्लबमा रहँदासम्म ओपन स्पाइकर थिएँ । निकै लामो समयसम्म यही भूमिकामा खेलेँ । तर पुलिस क्लबमा अनुबन्धन भएपछि चाहिँ लिफ्टरको नयाँ भूमिका पाएँ । मेरो उचाइकै कारणले होला, कपिल (किशोर श्रेष्ठ) गुरुले लिफ्टरमा खेलाउनु भएको । मेरो जम्प राम्रो भएकाले फरक परेन ।

पुलिस क्लबमा अनुबन्ध भएपछि मैले हेटौंडामा भएको राष्ट्रिय प्रतियोगिता खेलेको थिएँ । त्योभन्दा अघि मैले राष्ट्रिय प्रतियोगिता खेल्न पाएको थिइनँ । राष्ट्रियस्तरको प्रतियोगिता खेल्दा छुट्टै अनुभव हुँदोरहेछ ।

पुलिस क्लबमा आबद्ध हुँदासम्म म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समेत परेको थिइनँ । २००६ मा १४ खेलाडीभित्र परेपनि टिममा स्थान बनाउन सकिनँ । मसँगै विष्णु पन्त अन्तिम छनोटमा पर्न सकेनौं । विष्णु त निकै रोएका थिए । राम्रो खेल्दाखेल्दै नपरेकाले मलाई पनि नराम्रो लाग्यो ।

त्यसपछि जगदिश गुरुलाई भेटेँ । उहाँले हरेस नखान सम्झाउनुभयो । सन् २००७ तिर मैले राष्ट्रिय टिमबाट खेल्न थाले, बिच भलिबलबाट । म र प्रेम भण्डारीको जोडीले इन्डोनेसियामा बिच भलिबल खेल्यो । त्यसपछि हामी बंगलादेश गयौं । प्रेम भण्डारी अहिले दुबई पुलिसमा कार्यरत छन् ।

****

मैले २०१० मा बंगलादेशमा भएको ११ औं साग खेलकुद प्रतियोगितामा राष्ट्रिय भलिबल टिमबाट खेल्ने अवसर पाएँ । त्यो बेला भने म प्लेइङ सेटमै थिएँ । सागमा मैले पूरै सेट खेलेको थिएँ ।

त्यसपछि निरन्तर टिममा छु । २०१५ तिरबाट कप्तानको भूमिकामा छु । पहिलो सेन्टर जोन प्रतियोगिताबाट नेपालको कप्तानको भूमिका पाएको थिएँ । त्यसबेला मुख्य प्रशिक्षकमा कपिल गुरु हुनुहुन्थ्यो । राष्ट्रिय टिमको कप्तानको भूमिका गह्रुंगो हुँदोरहेछ । कप्तान भइसकेपछि सबै जिम्मेवारी आफ्नो काँधमा हुन्छ । यसलाई निभाउन पाउनु सौभाग्य पनि सम्झिन्छु ।

माल्दिभ्समा भएको सेन्टर जोन प्रतियोगितामा हामीले तेस्रो हुँदै ऐतिहासिक मेडल जित्न सफल भयौं । आफ्नो कप्तानीमा देशलाई यो सफलता दिलाउन पाएकोमा छुट्टै गौरव हुने नै भयो । त्यतिबेलाका पलहरु अहिले पनि याद आउँछन् । सबै साथीहरुले राम्रो प्रदर्शन गर्नु भएको थियो ।

गएको वर्ष इन्डोनेसियामा एसियन गेम्स खेल्यौं । एसियन गेम्समा हामीले ३२ वर्षपछि भाग लिएका थियौं । सो प्रतियोगिता खेल्नुअघि मन आत्तिएको थियो । किनभने हामीले खेलेको त्यो सबैभन्दा ठूलो प्रतियोगिता थियो । हाम्रो प्रतिद्वन्द्वी कोरिया, चाइनिज ताइपे जस्ता बलिया टिम थिए । ठूला टिमसँग खेल्दा जित्न त कहाँ सकिन्छ र अनुभव लिएर फर्किने न हो ।

****

भलिबललाई सरकारले राष्ट्रिय खेलको सम्मान दिएको छ । म आफू पनि भलिबल खेलाडी भएकोमा गर्व गर्छु । यदि मैले भलिबल नखेलेर कुनै जागिर खाएको भए कसले चिन्थ्यो र ? आज खेलाडी भनेर सबैले चिन्नुभएको छ, माया गर्नुहुन्छ । भलिबलले मलाई सबै थोक दिएको छ ।

तर राष्ट्रिय खेलको राष्ट्रिय टिमको कप्तान भएर भन्नुपर्दा अझै पनि खेलेर बाँच्न सक्ने अवस्था बन्न सकेको छैन । विभागीय टिमका खेलाडीलाई गाह्रो नहोला तर, अरुले भलिबल खेलेर कसरी बाँच्ने ?

मसँगै खेलेका राष्ट्रिय खेलाडीहरु अहिले कोही विदेशमा छन् त कोही अर्कै पेशा अंगालेका छन् । भलिबल छोडेर अर्को पेशा अंगाल्दा सुरुमा उहाँहरु खुशी हुनुहुन्थ्यो । पैसा पनि राम्रो कमाउनु भएको छ । तर भन्नु हुन्छ- तिमीले भलिबल नछोडेर ठीक गर्‍यौ । पैसामात्रै सबैथोक होइन रहेछ ।

प्रस्तुती : सरोज तामाङ
फोटो/भिडियोः शंकर गिरी

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’ को ४९ औं अंकमा यो हप्ता भलिबल खेलाडी इमबहादुर रानाको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment