Comments Add Comment

माधव नेपालको काउन्टर प्रस्ताव : पूर्वएमालेका ३ उपाध्यक्षलाई सचिवालयमा ल्याऔं

१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा वरियता विवाद बढ्ने देखिएको छ । पार्टीको दोस्रो वरियतामा माधव नेपालको साटो आफूलाई ल्याउनुपर्ने झलनाथ खनालको प्रस्तावले सचिवालय बैठकमा प्रवेश गर्न नपाउँदै काउन्टर प्रस्ताव आएको छ ।

नेता नेपालले तत्कालीन एमालेको वरियताअनुसार नेताहरुलाई सचिवालयमा ल्याउन प्रस्ताव राखेका हुन् । त्यसो गरे तत्कालीन उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल सचिवालयमा आउनुपर्छ र उनीहरुको वरियता ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको भन्दा माथि हुनेछ । किनकी तत्कालीन एमालेमा पोखरल महासचिव र पौडेल उपमहासचिव थिए ।

साबिक एमालेमा निवर्तमान पार्टी प्रमुखको हैसियतामा केपी ओलीपछि झलनाथ खनाल वरिष्ठ नेता थिए । खनालपछि नेपाल थिए । तर एमाले र माओवादी मिलेर नेकपा बनेपछि वरियताक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डपछि नेता नेपाललाई ल्याइयो ।

त्यसबेला नै खनालले आपत्ति जनाएका थिए । आफूलाई दोस्रो वरियता दिनुपर्ने प्रस्ताव सचिवालयमा पेश पनि गरेका थिए । त्यसबेला उनको माग बैठकको एजेण्डा नै बनेन । तर झण्डै डेढ वर्षपछि खनालले दोस्रो वरियता दिनुपर्ने माग राख्दा अध्यक्षद्वयले अर्को बैठकमा छलफल गराउने आश्वासन दिए । सचिवालयकै केही नेताले समर्थन पनि गरे ।

वरिष्ठ नेता नेपालले भने साविक एमालेको वरियताअनुसार जाने हो भने तत्कालीन उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल सचिवालयमा ल्याएर ईश्वर पोखरेल र विष्णु पौडेलभन्दा माथि राख्नु पर्ने काउन्टर प्रस्ताव अघि सारेका छन् ।

आफू निकट नेताहरुसँग भएको भेटमा नेता नेपालले बरियता विवाद आफूलाई अपमानित गर्न ल्याइएको हो भने स्वीकार्य नहुने बताएका छन् । पछिल्लो समय नेकपामा नेताद्वय झलनाथ खनाल र बामदेव गौतम, ओलीसँग निकट हुन पुगेको चर्चा छ । त्यहीबेला वरियता विवाद झिकेपछि माधवकुमार नेपाल पक्ष भने रुष्ट बनेको छ ।

नेता नेपालले बरिष्ठता टुंगो लगाउने हो भने कम्युनिस्ट आन्दोलनको इतिहास हेर्नुपर्ने बताएका छन् । झापा आन्दोलन र कोअर्डिनेसन केन्द्रको न्युक्लियसबाट गठन भएको नेकपा मालेमा झलनाथ केन्द्रीय सदस्य हुँदा माधव नेपाल पोलिटव्यूरो सदस्य थिए ।

पछि खनाल मालेको महासचिव भए भने नेपाल पोलिटव्यूरोमै रहे । २०४८ सालमा मदन भण्डारी महासचिव हुँदा नेपाल स्थायी कमिटी सदस्य भए भने खनाल केन्द्रीय सदस्यमात्र रहे । खनाललाई पछिमात्र स्थायी कमिटीमा ल्याइएको दावी नेपाल निकट नेताहरुको छ ।

१४ वर्षसम्म नेपाल महासचिव हुँदा खनाल चौथो बरियताका नेता थिए । ०६४ को पहिलो संविधानसभामा एमालेले नराम्रो हार व्यहोरेपछि नेपालले राजीनामा दिए भने २०६५ मा भएको महाधिवेशनबाट खनाल अध्यक्ष भए । नेता नेपाल बरिष्ठ नेता बने । त्यसबेला ओली तेस्रो बरियतामा थिए । २०७० सालको नवौं महाधिवेशनपछि ओली अध्यक्ष, त्यसपछिको बरिष्ठ नेता खनाल र तेस्रोमा नेपाल थिए ।

यसैबीच नेकपा सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्ने भएको छ । नेकपाले विभाग प्रमुखलाई जनसंगठन इञ्चार्जको जिम्मेवारी नदिने सम्भावना छ ।

बैठकले उपत्यकाभित्र कार्यररत युवा, विद्यार्थी, मजदुर, पेशागत कमिटी र बुद्धिजिवीहरुको जिल्ला कमिटीहरुलाई समेटेर राजधानी विशेष प्रादेशिक कमिटी गठन गर्दैछ । बैठकले प्रवास हेर्ने गरी इञ्चार्ज र सहइञ्चार्जहरु पनि तोक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment