Comments Add Comment

कस्तो छ अक्षय कुमारको ‘मिसन मंगल’ ?

जब-जब कुनै व्यक्तिले समस्याहरुसँग लडेर केही असाधारण उपलब्धीहरु हासिल गर्छ, स्वाभाविकै रुपमा ऊ समाजको प्रेरणाको स्रोत बन्दछ । जब उक्त उपलब्धी राष्ट्रिय उपलब्धी बन्छ, उक्त राष्ट्रका नागरिकहरुले गौरवको महसुस गर्छन् ।

पछिल्लो केही समयदेखि भारतीय सिनेमामा केही त्यस्तै असाधारण नायकहरुको कथाहरु प्रस्तुत गर्न थालिएको छ, जसको उपलब्धीले समाज, मानव तथा देशलाई नै एउटा दिशा प्रदान गर्न सफल भएको छ । त्यस्तै एक असाधारण कथा छ बिहीबारदेखि प्रदर्शन प्रारम्भ भएको नयाँ फिल्म ‘मिशन मंगल’को ।

फिल्ममा राकेश धावन नाम गरेका चरित्रको कथालाई प्रस्तुत गरिएको छ, जो इसरोका एक वैज्ञानिक हुन् । राकेशलाई जीएसएलवी सी-३९ प्रोजेक्टअन्तर्गत रकेट प्रक्षेपण गर्ने जिम्मा दिइन्छ, तर उक्त मिशन असफल हुन्छ । त्यस्तो अवस्थामा उनको सरुवा वर्षौंदेखि बन्द रहेको मिशन मंगल डिपार्टमेन्टमा गरिन्छ ।

त्यहाँ उनको भेट अर्की वैज्ञानिक तारा सिन्दे -विद्या वालन)सँग हुन्छ । तारा पनि लामो समयदेखि उक्त डिपार्टमेन्टमा कार्यरत हुन्छिन् । एक दिन अचानक तारालाई होम साइन्सको आधारमा अन्तरीक्षमा रकेट पठाउने विचार आउँछ । कसरी उक्त मिशन प्रतिरोधका बाबजुद पूरा हुन्छ ? कसरी त्यो मिशन सुरु हुन्छ ? कसरी यान पठाइन्छ ? यीनै कुराहरुमा आधारित छ फिल्म मिशन मंगल ।

रमाइलो कुरा के छ भने, वास्तविक रुपमै यो एउटा त्यस्तो मिशन थियो, जसलाई देखेर विश्व नै आश्चर्यमा परेको थियो । किनभने यो संसारको सबैभन्दा सस्तो र सफल अभियान थियो । फिल्मका निर्देशक जगत शक्तिले उक्त कथालाई निकै सुन्दर तरिकाले पटकथामा ढाल्न सफल भएका छन् । फिल्मका अधिकांश कलाकारहरु उनकै निर्देशनमा पुरै पकडका साथ पर्दामा देखिएका छन् ।

फिल्ममा केवल स्पेशल इफेक्ट तथा कम्प्युटर ग्राफिक्सको प्रयोग केही कम गरिएको भए अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ । अन्तरीक्षका केही दृष्यहरु पनि कमजोर देखिएका छन् ।

अभिनयको दृष्टिकोणले हेर्ने हो भने राकेश धवनको चरित्रमा अभिनेता अक्षय कुमार फिट देखिएका छन् । तारा सिन्देको चरित्रमा अभिनेत्री विद्या बालनले पनि सुन्दर काम गरेकी छिन् । एका गान्धीको चरित्रमा सोनाक्षी सिन्हा निकै सुहाएकी छिन् । तापसी पन्नूको भागमा निकै कम काम परेको छ, तर जति काम उनले पाएकी छन् त्यसलाई पूरै इमान्दारीताका साथ निर्वाह गरेकी छिन् । यसबाहेक विक्रम गोखले, दिलीप ताहिल जस्ता वरिष्ठ कलाकारहरुले फिल्ममा न्याय गरेका छन् ।

समग्रमा मिशन मंगल एउटा त्यस्तो कथा हो, जसले भारतीय दर्शकहरुको गौरवमात्र बढाउँदैन, उनीहरुलाई देशप्रेमले ओतप्रोत बनाइदिन्छ । जहाँ प्रेम हुन्छ, त्यहाँ साना-तिना गल्तिहरुलाई माफी गरिन्छ । फिल्म समीक्षकहरुले यो फिल्मलाई प्रत्येक भारतीयले हेर्नै पर्ने भनेर टिप्पणी गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment