Comments Add Comment

त्रिविमा पढेका २५ सय ‘माइक्रोबायोजिस्ट’ले पाएनन् लाइसेन्स

स्वास्थ्य व्यवसायी परिषदमा धर्ना 

२२ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र नेपाल स्वास्थ्य व्यवसायी परिषदबीचको विवादका कारण ९ वर्षयता माइक्रोबायोलोजी पढेका विद्यार्थीले लाइसेन्स पाएका छैनन् । परिषदले त्रिवि अन्तर्गतका क्याम्पसमा माइक्रोबायोलोजी पढेका २५ सय विद्यार्थीलाई लाइसेन्स दिएको छैन ।

२०६८ सालमा १ सय १६ जनालाई अस्थायी लाइसेन्स दिएयता माइक्रोबायोलोजी पढेका एक जनाले पनि लाइसेन्स नपाएको त्रिविका माइक्रोबायोलोजी विभाग प्रमुख प्रा. डा. मेघराज बञ्जारा बताउँछन् ।

हातमा प्रमाणपत्र भए पनि लाइसेन्स नपाएकै कारण बेरोजगार हुनुपरेको विद्यार्थी सुलभ तामाङ बताउँछन् । उनका अनुसार माइक्रोबायोलोजी पढ्नेहरु कतिपय विदेश गएका छन् भने नेपालमा अन्य क्षेत्रमा काम गर्न बाध्य छन् ।

‘नेपालमा पढेकालाई लाइसेन्स नदिए पनि विदेशमा पढेकाले पाइरहेका छन्’ तामाङले भने, ‘लाइसेन्स  नभएकाले हामीले जागिर खुलेको ठाउँमा निवेदन दिन पाएका छैनौँ । पढेर पनि बेरोजगार हुनुपरेको छ ।’

लाइसेन्स पाउनुपर्ने माग गर्दै माइक्रोबायोलोजीका विद्यार्थीहरुले हिजोआज नेपाल स्वास्थ्य परिषदमा धर्नामा छन्  । समस्या समाधान नहुन्जेल धर्ना दिइरहने उनीहरुको दाबी छ।

स्वास्थ्यसम्बन्धी विभिन्न विषय अध्ययन गरेका विद्यार्थीले लाइसेन्स पाउन विश्वविद्यालयले परिषदबाट पाठ्यक्रम स्वीकृत गराउनुपर्छ । त्यस्तै अध्‍यापन गराउने क्याम्पसको समेत विवरण बुझाउनुपर्छ ।

परिषदले  भने त्रिविले पाठ्यक्रम स्वीकृत नगराएको र क्याम्पसको विवरणसमेत नबुझाएको बताएको छ ।

अध्यक्ष रामप्रसाद भण्डारीले  त्रिविको पाठ्यक्रम परिषद्को मापदण्ड अनुसार नभएको र त्रिवि अन्तर्गतका क्याम्पसले माइक्रोबायोलोजी अध्ययनका लागि परिषद्सँग स्वीकृति नलिएको बताए । ‘त्रिविले स्वास्थ्यसँग सम्बन्धित विषय अध्ययन तथा जनशक्ति उत्पादनका लागि पाठ्याक्रम र क्याम्पसहरुको स्वीकृति परिषद्सँग लिनुपर्ने व्यवस्था छ । तर, त्रिविले परिषद्को ऐनलाई वेवास्ता गरेको कारण यस्तो भएको हो’  भण्डारीले भने, ‘त्रिविको कारण विद्यार्थीले दु:ख पाएका छन् । त्रिविले नै ऐनलाई वेवास्ता गरेपछि हामीले कसरी लाइसेन्स दिने ?’

परिषदले त्रिविलाई दोष दिएजस्तै त्रिविका माइक्रोबायोलोजी विभाग प्रमुख प्रा. डा. मेघराज बञ्जारा विद्यार्थीले लाइसेन्स नपाउनुको दोष परिषदलाई दिन्छन् । आफूहरुले निवेदन दिएको र प्रकियामा सहभागी भएको उनको दाबी छ ।  उनी भन्छन्, ‘अब हरेक अध्यक्ष आउँदा फरक फरक प्रक्रिया अपनाउनु पर्ने हो भने छुट्टै कुरा तर हामीले आफ्नो प्रकिया अपनाएका छौँ ।’

परिषद्को निर्देशिका अनुसार पाठ्यक्रम परिमार्जन गरी मापदण्डअनुसार नै पढाइरहेको बञ्जाराको दाबी छ । परिषदलाई लाइसेन्स उपलब्ध गराउन पत्राचार गर्दासमेत अनुगमन नगरेको उनको गुनासो छ । परिषदकै कारण आफ्ना विद्यार्थीहरु विदेशमा काम गर्न योग्य तर नेपालमा अयोग्य भएको उनी बताउँछन् । बञ्जारा भन्छन्, ‘उहाँहरुले लाइसेन्स दिन्छौं भन्नुहुन्छ तर दिनुभएको छैन । नदिने कारण के हो बताउनु भएको छैन् ।’

त्रिवि अन्तर्गतका १० वटा क्याम्पसले परिषद्लाई प्रक्रियामा जान ८० हजार रुपैयाँ तिरेको बञ्जारा बताउँछन् । यति गर्दासमेत परिषदले अनुगमन नगरी मापदण्ड नपुगेको भन्दै विद्यार्थीहरुको भविष्यमा खेलवाड गरेको उनको आरोप छ । उनी त्रिवि अन्तरगतका सबै क्याम्पसले प्रक्रिया पूरा गरेको दाबी गर्दै भन्छन्, ‘परिषदकै कारण यति धेरै वर्षसम्म समस्या समाधान नभएको हो  ।’

अन्य विषय पढेकाहरु पनि समस्यामा

स्वास्थ्य व्यवसायी परिषदमा गएको २ महिनादेखि रजिष्ट्रार नियुक्ति नहुँदा विद्यार्थीहरुको लाइसेन्स वितरण र नवीकरणको काम रोकिएको छ । रजिष्ट्रार नभएकै कारण स्वास्थ्य व्यावसायी परिषदले दिने हेल्थ एसिस्टेन्ट, ल्याब र सिएमए लगायत पास भएका विद्यार्थीहरु लाइसेन्स पाउनबाट बञ्चित भएका छन् । अध्ययन सकेर पनि लाइसेन्स नपाएपछि आफूहरु बेरोजगार भएको भन्दै विद्यार्थीहरुले आक्रोशित हुँदै स्वास्थ्य व्यवसायी परिषदमा धर्ना दिन पुगेका छन्।

देश भर लाइसेन्स नपाउने र नवीकरण नहुने करिब १० हजार विद्यार्थी रहेका छन् । एक विद्यार्थी भन्छन्, ‘रोजगार खुलेको ठाउँमा पनि लाइसेन्स नभएको कारण आवेदन दिन पाइएन । स्वास्थ्य व्यवसायी परिषदको ढिलासुस्तीले बेरोजगार भइयो ।’

स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष भण्डारी रजिष्ट्रारको काम आफूले गर्न नमिल्ने भएकाले लाइसेन्स वितरण/नवीकरणमा समस्या भएको सुनाउँछन् । काम गरिरहेका रजिष्ट्रार कर्मचारी समायोजनमा सरुवा भएपछि अर्को रजिस्ट्रार नआएको उनको भनाइ छ ।

‘मन्त्रिपरिषदको बैठकले रजिष्ट्रार नियुक्त गरेपछि काम सञ्चालन भइहाल्छ’  भण्डारीले भने, ‘हाम्रो नियमावलीमा नै रजिष्ट्रारले सही नगरी लाइसेन्स नदिनु भन्ने छ । सम्भववत केही दिनमा रजिष्ट्रार आउँछन् समस्या समाधान हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment