Comments Add Comment

पैसा तिर्न किन बस्ने लाइन ? मोबाइलबाटै हुन्छ काम तमाम

लोकप्रिय बन्दै डिजिटल भुक्तानी, ४० लाखले खोले खाता

३ भदौ, काठमाडौं । बिजुली र पानीको बिल तिर्न लामो लाइनमा बस्नुपर्दा आजित हुनुहुन्छ ? त्यसो हो भने तपाईं प्रविधिको प्रयोगमा अझै अभ्यस्त हुनुहुन्न ।

हातमै भएको स्मार्ट फोनमा एउटा एप डाउनलोड गरे यस्तो लाइनमा बस्ने सास्ती भोग्नुपर्दैन । नेपालमा यस्ता डिजिटल भुक्तानी सेवा प्रदायक प्रशस्त खुलिसकेका छन् । साथै, करिब ४० लाख प्रयोगकर्ताले यस्तो सिस्टममा खाता खोलिसकेको अनुमान छ ।

यसका बाबजुद नेपालमा अझै पनि ९७ प्रतिशत भुक्तानी रकममै हुन्छ । त्यसलाई ५० प्रतिशतमा मात्रै झार्न सकियो भने नेपालको औपचारिक अर्थतन्त्रको आकार निकै उच्च हुने जानकारहरू बताउँछन् ।

अहिले ईसेवा, आईएमई–पे, खल्ती, प्रभु पे, सेल–पेलगायतले ‘मोबाइल वालेट’ का रूपमा सेवा दिइरहेका छन् । यस्ता सेवा प्रदायकको प्लेटफर्ममा खाता खोलेर सेवा लिन सकिन्छ । यसबाट विभिन्न दैनिक उपभोगका सेवाहरुको खरिद तथा बिल भुक्तानीका लागि कार्यालय र पसलहरु धाउनुपर्ने अवस्था अन्त्य हुन्छ ।

पछिल्लो सयममा मोबाइलमा रिचार्ज र फिल्मको टिकट काट्दा डिजिटल भुक्तानी गर्ने क्रम बढेको छ । तर, अन्य सेवाहरुमा भने यसको प्रयोगले त्यति ब्यापकता पाइसकेको छैन । यस्ता सेवाप्रदायकको एप डाउनलोड गर्ने क्रम तीव्र रूपमा बढे तापनि खाता खोलेर दैनिक सक्रिय कारोबारको संख्या भने १५ देखि २० प्रतिशत मात्रै रहेको अनुमान छ । कतिपय प्रयोगकर्ताहरू साप्ताहिक वा मासिक रुपमा यस्ता एपहरु प्रयोग गर्छन् ।

‘डिजिटल नेपाल’ को लक्ष्य लिएर अघि बढेको सरकारले ‘क्यास लेस’ कारोबारलाई प्रोत्साहित गर्न पछिल्लो सयममा डिजिटल भुक्तानीलाई निकै जोड दिएको छ । यस्तो अवस्थामा डिजिटल भुक्तानी सेवा प्रदायकहरु थपिने क्रमले सरकारलाई लक्ष्यतर्फ बढ्न सघाएका छन् ।

यस्ता सेवा प्रदायकले तत्कालै पैसा पठाउने र प्राप्त गर्ने, मोबाइलमा रिचार्ज गर्ने, पानी र बिजुली बिलहरूको भुक्तानी गर्ने, बस, हवाई सेवा, फिल्मलगायतको टिकट काट्ने, रकम ट्रान्सफर गर्ने, विद्यालय/कलेजका शुल्कहरू भुक्तानी गर्नेदेखि लिएर अनलाइनभन्दा बाहिर (अफसाइट) रहेका रेस्टुरेन्टहरू, ग्रोसरी/डिपार्टमेन्ट स्टोरहरूका साथै साना–ठूला खुद्रा पसलहरूमा भुक्तानी गर्ने सम्मका डिजिटल कारोबार गर्छन् ।

ई–सेवाले रोपेको बिउ

नेपालमा सबैभन्दा पहिलो डिजिटल भुक्तानी सेवा प्रदायकका रूपमा ई–सेवा आएको थियो । अहिले पनि ई–सेवा यस क्षेत्रमा सर्वाधिक लोकप्रिय छ । यस कम्पनीमा मात्रै २० लाख प्रयोगकर्ताले खाता खोलिसकेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक अस्गर अली डिजिटल भुक्तानीको प्रयोग, फाइदा र यसको प्रभावकारिताबारे नागरिकमा सचेतना बढेको बताउँछन् । २० लाख खाता खुले पनि ८० लाख जनसंख्या ई–सेवबाट लाभान्वित भइरहेको उनको भनाइ छ ।

ई–सेवाले २००९ बाटै यो सेवा थालनी गरेको थियो । तर, नागरिकको विश्वास आर्जन गर्न सुरुमा निकै कठिन परेको अली बताउँछन् । त्यसैकारण ई–सेवाले यस्तो डिजिटल भुक्तानीका लागि विभिन्न सेवा केन्द्रहरु तोक्नु पर्‍यो।

विभिन्न किसिमका पसलहरूले ई–सेवाको एजेन्टमा रूपमा काम गरे । अझै गरिरहेका पनि छन् । हाल ई–सेवाका ६० हजार कस्टमर केयर पोइन्टहरु छन् । त्यसैका माध्यमबाट डिजिटल भुक्तानीको बारेमा चासो र चेतना बढ्यो । हाल ई–सेवा मोबाइल एपमै उपलब्ध छ । यसको प्रयोगकर्ता पनि बढिरहेका छन् ।

ईसेवाको बाटो पछ्याउँदै अन्य कम्पनीहरु पनि आए । जसका कारण भुक्तानी सेवाप्रदायक बीच बजारमा प्रतिस्पर्धा भएर स्तरीय सेवा दिने होडबाजी चलेको छ ।

अन्य कम्पनी पनि झांगिँदै

पछिल्लो सयममा ‘खल्ती’ पनि अर्को चर्चित मोबाइल वालेट हो । यसका पनि करिब ८ लाख प्रयोगकर्ता छन् । तर, ई–सेवाको जस्तै यसको पनि धेरै प्रयोगकर्ता सक्रिय छैनन् ।

खल्ती पनि डिजिटल भुक्तानी सेवामा आएको लामो समय भएको छैन । तर, यसलाई विश्वास गर्नेहरु भने बढिरहेका छन् । खल्तीका संस्थापक अमित अग्रवाल मोबाइल वालेटहरुमा पछिल्लो सयममा विस्तारै युवासहित सबै वर्गको आकर्षण देखिन थालेको बताउँछन् । विभिन्न ‘युटिलिटी पेमेन्ट’ मा डिजिटल भुक्तानीको क्रम बढ्दै गएकाले भविष्यमा ‘क्यासलेस अर्थतन्त्र’ को लागि यसले आधार प्रदान गर्ने उनको भनाइ छ ।

‘रातारात सबै कुरा बदल्न सम्भव हुँदैन, तर, अहिले डिजिटल भुक्तानीमा बढ्दो आकर्षणले देशको अर्थतन्त्रलाई पनि फाइदा पुग्छ,’ उनले भने ।

अर्को सेवा प्रदायक आईएमई–पे पनि बजारमा सशक्त प्रतिस्पर्धीका रूपमा छ । यो कम्पनीमा पनि प्रयोगकर्ताले ५ लाखभन्दा बढी खाता खोलिसकेका छन् । आईएमई समूहले सञ्चालनमा ल्याएको ‘आईएमई पे’ले पछिललो सयममा तीव्र रूपमा प्रयोगकर्ता बढाएको छ । आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल भुक्तानीमा रहेको सरलता र यसबाट मिल्ने लाभकै कारण डिजिटल भुक्तानीप्रति जनविश्वास बढेको बताउँछन् ।

यसैगरी प्रभु समूहले पनि आफ्नो प्रभु–पेमार्फत सेवा दिइरहेको छ । यो पनि नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकका रूपमा चिनिइसकेको छ । केही हप्ताअघि मात्रै ‘सेल–पे’ले पनि सेवा थालेको छ । हाल यस्ता डिजिटल वालेटरु इभेन्टको टिकेटिङ पार्टनरका रूपमा पनि काम गर्ने क्रम तीव्र भएको छ ।

टेलिकमको आफ्नै तयारी

नेपाल टेलिकमले ‘युटिलिटी पेमेन्ट सर्भिस’सहित मोबाइल मनी प्रविधि प्रयोग थाल्ने तयारी गरेको छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टेलिकमबीच संयुक्त लगानीमा भुक्तानी सेवा प्रदायक पब्लिक कम्पनी सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भइसकेको छ ।

अब टेलिकमअन्तर्गत एक सहायक कम्पनी खडा गरिनेछ । जसको पुँजी एक अर्ब बराबरको हुने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

‘हाम्रो रिच नेटवर्क छ, करोडभन्दा बढी ग्राहक छन्, पुँजी पनि छ,’ अधिकारीले भने, ‘३० प्रतिशतभन्दा बढीमा बैंकिङ पहुँच नपुगेको अवस्थामा यो काम थालिएपछि एउटा ठूलो फड्को मारिन्छ ।’

कम्पनीले नेपाल राष्ट्र बैंकको अनुमतिपश्चात सेवा सञ्चालन गर्दा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग प्राथमिकताका आधारमा समझदारी गरी डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने छ ।

राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर)का रूपमा दूरसञ्चार कम्पनीहरुले काम गर्न सक्ने व्यवस्था गरिसकेको छ । मोबाइल वालेट, डिजिटल वालेट वा ई–वालेट नामबाट भुक्तानी दिन सक्ने कानुनी व्यवस्था छ । विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरिएका सरकारी कार्यालयहरुका लागि पनि त्यस्ता कम्पनीले सेवा दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तोकिएबाहेकका बैंकिङ सेवा दूरसञ्चार प्रदायकहरुले दिन पाउँदैनन् । अहिले बैंकहरुले नै मोबाइल बैंकिङ सेवा दिँदै आएका छन् ।

कतिपय देशहरुमा बैंकहरुलाई नै दूरसञ्चार कम्पनीका सेवाले टक्कर दिइरहेका छन् । कतिपय देशमा त बैंकभन्दा बढी यस्तै दूरसञ्चार कम्पनीका वालेटहरु प्रयोगमा छन् । केन्या र तान्जानियामा यसको प्रयोग विश्वमै नमूना मानिन्छ । अहिलेसम्म नेपालमा दूरसञ्चार कम्पनीले बैंकिङ सेवा थालेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment