Comments Add Comment

मिर्गौलाको पुनः प्रत्यारोपण कति सफल ?

४ भदौ, काठमाडौं । ‘नेफ्रोलोजिस्ट’ चिकित्सकलाई मिर्गौला प्रत्यारोपण सफल भएपछि अधिकांश बिरामीले दुईवटा प्रश्न सोध्छन् ।

पहिलो – ‘अब म कति वर्ष बाँच्छु ?’

दोस्रो- ‘प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छोड्यो भने के विकल्प छ ?’

‘अधिकांश चिकित्सकहरुको जवाफ हुन्छ, ‘तपाईको स्वास्थ्य अवस्थामा भर पर्छ । असम्भव केही छैन् । सबै कुरा उपचारबाट पनि सम्भव हुँदैन ।’

चिकित्सकहरु बिरामीलाई सल्लाह दिँदा भन्ने गर्छन्,  ‘प्रत्यारोपणपछिको लामो जीवनका लागि नियमित स्वास्थ्य परीक्षण र नियमित औषधि खानुको विकल्प छैन । प्रत्यारोपणपछि रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले मानिसको स्वास्थ्य सामान्य कारण पनि खतरामा पर्ने हुन्छ ।’

चिकित्सकहरुका अनुसार प्रत्यारोपणपछि मानिस कति बाँच्ने भन्ने कुरा मानिसको उमेर, औषधि, खानपान र प्रत्यारोपणमा भर पर्ने हुन्छ । ‘दोस्रो प्रत्यारोपण’ गर्नुपर्ने कारण पनि यिनै कुराहरुले निर्धारण गर्छ ।

के दोस्रो प्रत्यारोपण सम्भव छ ?

चिकित्सकहरु भन्ने गर्छन्, ‘दोस्रो प्रत्यारोपण पनि सफल हुन्छ । तर, त्यसमा केही शर्तहरु लागु हुनेछन् ।’

त्यो  शर्त भनेको प्रत्यारोपण गर्ने व्यक्ति र उनलाई अंग दिने दाताको स्वास्थ्य अवस्था हो ।

त्यस्तै उमेर, खानपान र शारीरिक सक्रियता पनि शर्तभित्रै पर्छन् ।

यदि पहिलोपटक प्रत्यारोपण गरेको ५ वर्षभित्रमा दोस्रो प्रत्यारोपण गरिन्छ भन्ने त्यसको सफलताको दर उच्च हुन्छ । अझ किड्नी दिने व्यक्ति ४० वर्ष भन्दा कम उमेरको छ भने दोस्रो प्रत्यारोपणका लागि राम्रो मानिन्छ ।

अमेरिकाको नेशनल किड्नी फाउण्डेशनको विभिन्न अनुसन्धानले दोस्रो प्रत्यारोपणको जटिलता, मानिसको सक्रियता र प्रत्यारोपणपछिको बाँच्ने उमेर पहिलो प्रत्यारोपणसँग तुलना गरेको छ ।

त्यो अनुसन्धानको निष्कर्षले दोस्रो पटक प्रत्यारोपण गर्ने तयारी गरिरहेको मानिसहरुलाई निराश बनाएको छैन । अनुसन्धानका अनुसार पहिलेजस्तै दोस्रो प्रत्यारोपणलाई जोखिमका रुपमा लिनुपर्ने अवस्था छैन । अहिले दोस्रो प्रत्यारोपणको सफलताको दर बढेको छ ।

प्रत्यारोपणका लागि किड्नी दिने र लिने व्यक्तिको स्वास्थ्य अवस्था र उमेरको अवस्था मिलेमा पहिलो र दोस्रो प्रत्यारोपणको जटिलता खासै फरक नहुने अनुसन्धानमा देखिएको छ ।

सामान्यतः पहिलो प्रत्यारोपण असफल भएको अवस्थामा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिन्छ । यसैलाई आधार मानेर चिकित्सकहरुले भनेका छन् कि पहिलो प्रत्यारोपण असफल भयो भन्दै दोस्रो पनि असफल हुन्छ भन्ने हुँदैन । दोस्रो प्रत्यारोपण सफल हुने सम्भावना कायमै रहन्छ ।

अमेरिकाको नेशनल किड्नी फाउण्डेशनको अनुसन्धान अनुसार प्रत्यारोपण गरिएको मिर्गौला, संक्रमण दर र व्यक्तिको सक्रियताको आधारमा पहिलो र दोस्रो प्रत्यारोपणबीच कुनै खास भिन्नता हुँदैन । दुई प्रत्यारोपणबीच तुलना गर्दा एक र पाँच वर्षको किड्नी सक्रियताको दर समान थियो । त्यस्तै पहिलो प्रत्यारोपणमा झै दोस्रोमा ब्याक्टेरिया र भाइरल संक्रमणको उच्च घटना भएन । अनुसन्धानकर्ताले भनेका छन्, ‘प्रत्यारोपण गरेको व्यक्तिको स्वास्थ्य अवस्था, खानपान र सक्रियताले पनि प्रत्यारोपण सफल र असफल गराउन भूमिका खेल्छ ।’

केही अनुसन्धानहरुले दोस्रो प्रत्यारोपणलाई उच्च जोखिमका रुपमा चित्रण गरेको छ । तर, ती अनुसन्धानहरुलाई नेशनल किड्नी फाउण्डेशनले परम्परागत अनुसन्धान भनेको छ । दोस्रो प्रत्यारोपण सफल भएका मानिसहरु धेरै रहेको बताउँदै उसले लेखेको छ, ‘हाम्रो अध्यनले दोस्रो प्रत्यारोपण पनि पहिलो झै सफल हुने देखाएको छ ।’

नेशनल किडनी फाउन्डेशनले थपेको छ, ‘पहिलो प्रत्यारोपण असफल भएर दोस्रो प्रत्यारोपण गराउनेहरु आत्तिनु पर्दैन । उनीहरु पहिलो प्रत्यारोपणझैं जिन्दगीको आशा गरेर अस्पताल पुग्न सक्छन् ।’

प्रत्यारोपण गरेका मानिसको जीवित दर कति ?

विश्वव्यापी ट्रेन्डलाई हेर्दा प्रत्यारोपण गरेको ५ वर्षभित्रको  जीवित दर ९५ प्रतिशत भन्दा बढी छ । तर, प्रत्यारोपणपछिको दरका बारेमा नेपालमा कुनै अनुसन्धान भएको छैन ।

मरेको मानिसको मिर्गौला लिइएको छ भने प्रत्यारोपणपछि सरदर १२ वर्ष र जीवित मानिसको मिर्गौला लिइएको छ भने १५ वर्षको अनुपातमा बाँच्न सक्ने किड्नी फाउण्डेशनले लेखेको छ ।

प्रत्यारोपण गरेको १० वर्षपछि १० जनामध्ये ५ जनाको बाँच्ने सम्भावना ५० प्रतिशत भएको विवरणमा उल्लेख छ । यसमा मानिसको उमेर, स्वास्थ्य अवस्थालगायतले फरक पार्ने बताइएको छ । यस्तो अवस्थामा प्रमुख विकल्पका रुपमा दोस्रो प्रत्यारोपणलाई लिइएको छ ।

अमेरिकामा प्रत्यारोपणपछिको जीवित दर हेर्दा ८३ देखि ९४ प्रतिशतसम्म छ । यो प्रत्यारोपणपछिको सुरुवाती वर्षको तथ्यांक हो ।

अध्ययनहरुलाई आधार मान्ने हो भने प्रत्यारोपण पुरानो हुँदै गएपछि मानिस बाँच्ने सम्भावना पनि कम हुन्छ । सन् १९८७ देखि २०१२ सम्म गरिएको अध्यनमा प्रत्यारोपण गरिएको सुरुको १० वर्षमा ९० प्रतिशत सर्भाइभल रेट थियो । र, त्यसको अर्को १० वर्षमा सर्भाइभल रेट ४४ प्रतिशतमा घटेको थियो ।

अंग प्रत्यारोपण नेटवर्कको अध्ययन अनुसार मानिस मर्नासाथ लिएको किड्नीबाट १ वर्षमा ४ प्रतिशत र ५ वर्षमा २१ प्रतिशत फेल हुने सम्भावना हुन्छ । त्यस्तै सकुशल मानिसबाट लिएको किड्नी फेल हुने सम्भावना एक वर्षमा ३ प्रतिशत र ५ वर्षमा २१ प्रतिशत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment