+
+
Shares

जयशंकरको नेपाल भ्रमण र नाकाबन्दीको सम्झना

रोहित बस्तोला/सुवर्णबाबु सापकोटा रोहित बस्तोला/सुवर्णबाबु सापकोटा
२०७६ भदौ ५ गते ११:२६

संसारको कुनै कुनामा पनि ‘सीआईए’, ‘रअ’, ‘मोसाद’सँगको सहकार्यमा क्रान्ति भएर समाजवाद आएको इतिहास छैन । आफूलाई कम्तीमा समाजवादोन्मुख भन्ने मुलुकहरुले नाकैमुनि आएको साम्राज्यवादसँग भीषण लडाईं लडेका छन् । तर, नेपालमा भने तिनै खुफिया एजेन्सी र तिनका मालिकको इशारा अनि सहकार्यमा लगातार समाजवाद उन्मुख क्रान्ति जारी छ ।

अर्थात भारतीय पुँजीको एकाधिकारको विरोध पनि छैन, नाटोकेन्द्रित राष्ट्रहरुको सामाजिक सांस्कृतिक अतिक्रमणको प्रतिकार पनि छैन । तर, क्रान्ति भने जारी छ ।

प्रजातन्त्र वा समाजवादका निम्ति या फेरि माओ वा आदर्श नक्सलाइट हुन हिँडेका थुप्रै योग्य युवाहरु अञ्जानमै अन्तत: ‘सीआईए’,‘रअ’ अनि ‘मोसाद’को राजनैतिक एजेन्डा बोकेर ट्रोजन हर्समा रूपान्तरण हुन पुगेका छन् ।

सुगौलि सन्धिमार्फत अङ्ग्रेज सरकारका रेसिडेन्टले काठमाडाैंमा बसेर नेपालको राजनीतिलाई आफ्ना बफादार दलालहरूको पुनरुत्पादन केन्द्रका रुपमा प्रयोग गरेर सुरु भएको थियो ट्रोजन यात्रा । अंग्रेजहरुले योजनाबद्ध रुपमा छानेर स्थापित गरेका ‘नेहरु’ ले हस्तक्षेप गरेर उनकै योजनामा ल्याण्ड गरेको ००७ सालको सम्झौताले पनि नेपालमा भारतीय ‘स्थापित’ संस्थापनको विश्वासपात्रको सुनिश्चिततालाई निरन्तरता दिँदै भारतीय पुँजीको एकाधिकार अनन्तकालसम्म अनुरक्षित गर्ने षड्यन्त्र बोकेको थियो ।

आफूले देख्दै नदेखेको, पढ्दै नपढेको कुनै गाउँको कैफियती साहुबाको कपाली तमसुकजस्तो दिल्ली सहमतिमा हस्ताक्षर गर्न श्रेष्ठ भनिएका विद्वानलाई दिल्ली दाहिना भएपछि नेपालमा निर्विकल्प भइन्छ भन्ने भ्रमले उग्र बनाएको हुनुपर्छ ।

पूर्वी पाकिस्तान स्वतन्त्र हुनु उसको अधिकार हो भनिरहँदा सिक्किम विलयले झस‌ंग भएर मेलमिलापको नीति अघि आए पनि, हामीले नभुलौं– भारतीय खुफिया एजेन्सी रअ का संस्थापक प्रमुख काओलाई ‘प्रजातन्त्र’का नाममा सहयोग खोज्दै भेट्ने पहिलो नेपाली विराटनगरतिरका कोइराला थिए । यही भेटको उन्नत निरन्तरता थियो, चाक्सीबारीमा चन्द्रसेशर, अनि ०४६ साल ।

सन् १९८९ को मध्यतिरका न्युयोर्क टाइम्समा प्रकाशित आलेखहरुले प्रस्ट्याउँछन्, ०४५ को नाकाबन्दीमा भारतीय स्वार्थ के थियो । ०५२ पछि उता ‘थाकरण’ को मेजमानी, यता ‘चे गुएभारा’ हुने सपना बोकेका कार्यकर्ता रअको एजेन्डाका भरिया । फलतः क्रान्तिले गणतन्त्र ल्यायाैं भने पनि मन अमिलो गरेर श्याम शरण, मुखर्जी र थाकरणलाई गणतन्त्रका पिताका रुपमा लिनुपर्छ, जसले १२ बुँदेको गलगाण झुन्डाइदिए ।

अर्थात् उताको स्वार्थपूर्ति हुँदासम्म यताको सत्तामा जोसुकै होस सरोकार भएन, स्वार्थमा आँच आउने देखियो भने राणाका विरुद्ध कांग्रेस, कांग्रेसका विरुद्ध राजा, राजाका विरुद्ध कांग्रेस र कम्युनिस्ट, हत्याकान्ड, अरु सबैका विरुद्ध तराई आदि मार्फत दलाल उत्पादन र सन्तुलन । यस्तो चक्र बल्ल बुझिँदैछ र यसलाई क्रमभंग गर्न जरुरी छ ।

पूर्वी पाकिस्तानको मुक्तिबाहिनी, सिक्किमको त्यो निर्वाचन, भुटानको कथित सार्वभौमिकता, श्रीलंकाको तमिल आन्दोलन, माल्दिभ्सको अपरेसन क्याक्टस, पाकिस्तानको बलुच आन्दोलन, अफगानिस्तानमा पाकिस्तान विरोधी सक्रियता अनि लगभग सम्पूर्ण छिमेकीसँगको तिक्ततापूर्ण सम्बन्ध । पुराना र अधिकांश लेखमा दोहरिने भए पनि यिनले भारतीय हेजीमोनीको गुदी प्रस्ट्याउँछन् ।

हामीले बिर्सिनुहुन्न यो त्यही भारतीय विदेश मन्त्रालय हो, जसले पछिल्लोपटक २०१५ मा आफैंले हुर्काएका नेपाली दलालहरुले उसले भने अनुसार नगरिदिएको भन्दै नेपालमाथि लादिएको अमानवीय र क्रूर भारतीय नाकाबन्दी स्वीकारेको थिएन । यो त्यही विदेश मन्त्रालय हो, जसले नेपाल र नेपालीविरुद्ध संसारैभरिका प्लेट्फर्म प्रयोग गरेको थियो । यो त्यही विदेश मन्त्रालय हो, जसको बागडोर नेपाल र नेपालीविरुद्धको नाकाबन्दीका प्रमुख योजनाकार, सुब्रह्मण्यम जयशंकरले सम्हालेका छन् र उनी फरक भूमिकामा नेपाल आएका छन् ।

नकाबन्दीका योजनाकार जयशंकरको आगमनपूर्व तराईलाई काश्मिर हुँदै गरेको भन्ने डिस्कोर्स र भय जबर्जस्ती थोपर्न खोज्न ‘सारोस बन्धुहरु’ विस्मित मौन छन् । सीमानामा उभिएर नाकाबन्दी भारतले गरेको होइन भन्ने ‘उत्तरआधुनिक बन्धुहरु’ कामकृत मौन छन् । बाँकी प्रायः क्रान्तिकारी र प्रजातान्त्रिक बन्धुहरु ००७ सालदेखिको भारतीय लगानीको बोझले थिचिएर ऋणमय मौनतामा छन् ।

काठमाडौंमा यस्तै मौनता ब्याप्त थियो ‘क्रिमिया’ रसियामा विलय हुँदा । अर्थात काश्मिरमा सबै ठीक छ, प्रजातन्त्र छ, किनभने त्यहा भारत छ । अर्थात् मौनताको बदलामा जेएनयुको छात्रवृत्ति छ, अशोकाको प्लेनम छ, फोर्टिसको उपचार छ । नत्र दाँया–बाँया भयो भने काठमाडौंको मध्यमा जमीम शाहको नियतिले पर्खिरहेको छ । तर, बाध्यता स्वयं बधुँवा हुन चाहनेको मात्रै हुन्छ, ३ करोड सबैको हुँदैन ।

भारतीय विद्वानहरु अक्सर काठमाडौंमा प्रश्न गर्छन्– समान धर्म र मिल्दोजुल्दो संस्कृति भएर पनि नेपालमा भारतको विरोध किन हुन्छ ? यसको सरल जवाफ छ– अफगानिस्तानमा पाकिस्तानको विरोध किन हुन्छ ? आखिर दुवै मुस्लिम राष्ट्र हुन् ।

युरोपभरि लगभग क्रिश्चियन भएर पनि अनगिन्ती मुलुक किन भए, अनगिन्ती युद्ध त्यहीँ किन भए ? दक्षिण अमेरिकामा अमेरिकाको विरोध किन हुन्छ ? अजय भनिएको सोभियतका आफ्नै सेटेलाइट देशहरुले सोभियतलाई किन मानेनन् ? किनभने– मुलुकहरु दाइभाइ हुँदैनन, मुलुकहरु सार्वभौम हुन्छन्, समान हैसियतमा हुन्छन् ।

समयले ९० को दशक काटेर अघि बढिसक्यो, जेएनयू र बनारस हिन्दू विश्वविद्यालयबाट बाटो अक्स्फोर्ड, क्याब्रिज, याले पुगिसक्यो । तर, यो कुरा उपनिवेशले सयाैं वर्ष डामेको, क्रान्तिबिना स्वतन्त्रता पाएको भारत र भारतीय डेमोक्रेसीले बुझ्दैन ।

काश्मिरमाथि आफ्नो बेइमान पञ्जा गाड्नुभन्दा केही समय अगाडि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुखले काठमाडौंमा पत्रकारहरुसँग भनेका थिए, भारत अब असंलग्न राष्ट्रका रुपमा रहेन । भारत शक्तिराष्ट्र हो । उसले आफ्नो विदेशनीति यसै अनुसार सञ्चालन गर्छ ।

त्यसको केही हप्तामा नेपालको संसदमा बोल्दै प्रतिपक्षी दलका एक नेता प्रदीप गिरीले भने, ‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ, त्योबेला तपाईं के गर्न सक्नुहुन्छ ?’

काश्मिर मामला र पछिल्लो सन्दर्भलाई समेटेर नेपालका परराष्ट्र मन्त्रीले पत्रकारहरुसँग भने, ‘नेपाल भारत सम्बन्ध उत्कृष्ट छ, प्रदीप गिरीले त्यस्तो बोल्न सुहाउँदैन ! काश्मिर मामलालाई हामीले नजिकबाट नियालिरहेका छौं !’

हाम्रो ब्यापार घाटा र त्रासमा अडेको विदेशनीतिको आलम्व भारतबारे हाम्रो बुझाइलाई नेपाली राजनीतिक बजारका यिनै समाचारले धेरै हदसम्म खुल्ला झ्याल प्रदान गर्छन् । यस्तो परिवेशमा दोश्रो पटक नेपाली भूमी टेक्दै गरेका, जयशंकरलाई अझै पनि लाग्दै होला केही थान एम्बुलेन्स, छत्रवृत्ति अनि जमिम नियतिको भयले नेपाल धानिन्छ ।

जयशंकरलाई नेपालीले कालो झन्डाले स्वागत त नगर्लान्, तर कसैले मीठो लयमा बुझाइदेओस्– समय धेरै पर पुगिसक्यो । अनावश्यक ठूलो दाजु हुन खोज्ने अमेरिकालाई  इरानी विद्यार्थीहरुले नोभेम्बर ४, १९७९ मा सिकाएको पाठ सर्वत्र अध्ययनका लागि उपलब्ध छ र थुप्रै नेपालीहरुले त्यसलाई ‘नोटिस’ गरिसकेका छन्, भारतीय विदेश मन्त्रालयले सन् २०१५ को नाकाबन्दीमा नेपालबारे पटक–पटक ‘नोटिस’ गरेजस्तै ।

दुनियाँमा ‘अन्धराष्ट्रवादको हावा’ चलेको बहाना देखाएर दबाएर राखिने हस्तक्षेपविरोधी अवाज आजको युगमा मौन रहँदैन । नेपाली भूमिमै पसेर मारिएका भीमदत्त पन्तका अवाजहरु यही धरामा कतै जीवितै छन् । आजको युगमा भीमदत्तका आवाजहरु आफ्नो हजाराैं गुणा तागतसहित आकाशमा आइदिन्छन् ।

मिस्टर जयशंकर ! काठमाडौका होटेलमा बन्द कोठाभित्र धनुष्टंकार हुँदै गरेका केही थान अनुहारलाई ‘आश र त्रास’ देखाएर कँज्याएजस्तो लागे पनि, केही थान ‘रोटी–बेटी रैती’ को नमस्कारमा आफै‌ंलाई दैव देखे पनि ,देश र दुनियाँभर कठिन श्रम गरेर आफ्नो मुलुकलाई ढल्नबाट बचाउने वास्तविक नेपालको आत्मालाई तिमीले बोकेको हेपाहा नीतिले पराजित गर्न सक्दैन ।

एक्काइशौं शताब्दीको युद्ध मानिने नाकाबन्दी र हस्तक्षेपको अगुवा अनि भारतीय पुँजीको एकाधिकारका प्रतिमूर्ति तिमीलाई हाम्रो नेपालमा खुल्ला दिलले स्वागत छैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?