
९ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई प्रस्ताव गरेका छन् ।
विवादै विवादमा फसेर तीर्थ खनियाँ बिदा भएपछि रिक्त त्रिवि उपकुलपतिका लागि योग्य व्यक्तिको खोजी भइरहेका बेला प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव गरिएको खबर नागरिक र रिपब्लिका दैनिकले आज छापेका छन् ।
यद्यपि, प्रधानमन्त्रीको प्रस्तावमा कोइरालाले सकारात्मक जवाफ दिएका छैनन् । नागरिकका अनुसार, बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटल स्थापनामा लाग्नुपर्ने भएकाले त्यस्तो मनस्थितिमा आफू नरहेको उनले प्रधानमन्त्रीलाई बताएका छन् ।
पछिल्लो समय कोइरालाले चाइल्ड हेल्थ हस्पिटल स्थापनाको जिम्मा पाएका छन् । त्यसका लागि उनी जुटिरहेका छन् ।
नागरिककै अर्को प्रकाशन रिपब्लिलका अंग्रेजी दैनिकले भने उपयुक्त शर्त र टिम पाएमा त्यसबारे विचार गर्न सक्ने प्रतिक्रिया दिएको लेखेको छ । ‘म त्रिवि उपकुलपतिका लागि इच्छुक त छैन । तर उपयुक्त शर्त र टिम पाएमा यसबारे विचार गर्न सक्नेछु’, रिपब्लिकाले कोइरालाको भनाइ कोट गर्दै लेखेको छ ।
उत्तर कोरियालीमाथि कडाइ
प्रधानमन्त्रीको उपचार पद्दतिबारे मुख्य समाचार बनाएको अन्नपूर्णले उत्तर कोरियालीमाथि सरकारले कडाइ गरेको लेखेको छ । संयुक्त राष्ट्रसंघले लगाएको उसमाथिको नाकाबन्दी कार्यान्वयन गर्न नेपालले यस्तो कदम उठाएको हो ।
समाचार अनुसार कडाइ गरिएसँगै उत्तर कोरियाली नागरिक दआफ्नो लगानीमा सञ्चालित कम्पनी बन्द गरी प्योङयाङ फर्किन थालेका छन् ।
अन्नपूर्णले अगाडि लेखेको छ– राष्ट्रसंघले डेढ महिनाअघि नाकाबन्दी पूर्ण रुपले कार्यान्वयन गर्न सदस्यराष्ट्रलाई पत्राचार गरेको थियो । त्यसपछि नेपाल उत्तर कोरियाली लगानी बन्द गर्न र उनीहरुलाई फर्काउन दबावमा परेको हो ।
१ वर्षदेखि अड्कियो नागरिकता विधेयक
नागरिकता विधेयकमा आएको उल्झनबारे कान्तिपुरले मुख्य समाचार बनाएको छ । एक वर्षअघि नागरिकता विधेयक संसद्मा पेस भए पनि यो अल्झिएर बसेको छ ।
कान्तिपुरले संसद्बाट विधेयक पारित नहुँदा संविधानमा राखिएका नागरिकतासम्बन्धी कतिपय नयाँ प्रावधान कार्यान्वयनमा आउन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
कान्तिपुरले लेखेको छल् विधेयक अड्किँदा जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तान नागरिकता पाउनबाट वञ्चित भएका छन् । अन्य प्रकृतिका नागरिकता वितरण निरन्तर छ । संविधानमा व्यवस्था भए पनि कानुन नबन्दा जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानले नागरिकता पाएका छैनन् ।
खसीबोकाको मूल्य दशैंमा झनै महँगिने
सरकारले खसीबोकाको आयातमा रोकलगाएसँगै बजारमा मूल्य आकासिएको छ । कारोबारका अनुसार नजिकिँदो दशैंमा महँगी बढ्ने देखिएको छ ।
पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको कारोबार समाचारमा उल्लेख छ ।
आयातमा रोक लगाएसँगै पछिल्लो एक महिनामा जिउँदो खसीको मूल्य प्रतिकिलो २ सय रुपैयाँ बढेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
प्रतिक्रिया 4