Comments Add Comment

कञ्चनपुरमा सुरु भो देउडा प्रतियोगिता

९ भदौ, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको प्रमुख चाड गौरा पर्वका अवसरमा आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा महिला देउडा प्रतियोगिता सुरु भएको छ ।

यहाँबाट प्रसारित रेडियो महाकालीको आयोजनामा विगत चार वर्षदेखि हुँदै आएको हुक्काचिलिम महिला देउडा प्रतियोगितामा जिल्लाका यस पटक छ वटा महिला समूहले भाग लिएका छन् । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ । रेडियो महाकालीबाट प्रसारण हुने हुक्काचिलिम कार्यक्रमकै नामबाट थालिएको देउडा प्रतियोगिताले यहाँको कला, संस्कृति र पहिरनको संरक्षणमा टेवा पुगेको हुक्काचिलिम कार्यक्रम प्रस्तोता ओमप्रकाश ओझाले बताए ।

उनले प्रतियोगितामा विजयी टिमलाई नगदसहित सम्मान गरिने बताए । गौरापर्वलाई मध्यनजर गर्दै यहाँको खुल्लामञ्जमा आयोजना गरिएको देउडा प्रतियोगितामा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको छ । देउडा खेलगौराको मुख्य आकर्षणका रुपमा रहेको बताउँदै ओझाले सुदूरपश्चिमको कला, संस्कृति जर्गेना गर्न सबैले हातेमालो गर्नुु आवश्यक रहेको बताए ।

त्यसैगरी भीमदत्तनगरमै सिद्धनाथ मन्दिर विकास समिति र सुदूरपश्चिमलोक संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा महिला देउडा प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिमलोक संस्कृति संरक्षण समाजका अध्यक्ष डा टेकराज पन्तले अढाइ दशकदेखि आफूहरु देउडा र सुदूरपश्चिमको लोक संस्कृति संरक्षणमा जुटेको बताए । ‘हामीले प्रतियोगिता गरेर लोप हुनै लागेको गौरापर्वलाई मलजल गरेका छौं’, उनले भने, ‘०५२/५३ सालदेखि नै संस्कृति संरक्षणका कार्यक्रम गर्दै आएका छौँ ।’

समाजले आयोजना गरेको महिला देउडा प्रतियोगिता मङ्गलबारसम्म सञ्चालन हुने र विजयी टिमलाई पुरस्कृत गरिने पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment