
९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इञ्चार्ज तथा पूर्वगृहमन्त्री भीम रावलले कैलालीको टीकापुरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उत्तेजक भाषण गरेर सामाजिक सदभाव बिथोल्न खोजेको आरोप लगाएका छन् ।
चार वर्षअघि एक बालकसहित ९ जना प्रहरीको हत्या भएको टीकापुरमा हालै आयोजित सभामा सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले टीकापुरको अहिलेको शान्तिलाई मुर्दा शान्ति भन्दै अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताएका थिए ।
भदौ ७ गतेको सो सभामा पूर्वप्रधानन्त्री भट्टराईलगायत काठमाडौंबाट गएकाहरुले सामाजिक सदभाव बिथोल्ने, बिभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक र सिद्धान्तहीन गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै रावलले आपत्ति जनाएका हुन् ।
भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा यूट्युवमा सुनें ।उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार ।कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !
— Bhim Rawal (@BhimRawal179) August 26, 2019
सोमबार सामाजिक सन्जाल ट्वीटरमार्फत नेकपा नेता रावलले लेखेका छन्- भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराईलगायत काठमाडौंबाट गएकाको कुरा युट्युबमा सुनेँ । उत्तेजनापूर्ण, सामाजिक सदभाव बिथोल्ने, बिभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार । कति मानिस मारिएपछि अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् ?
सो सभामा काठमाडौंबाट गएका बाबुरामलगायत खगेन्द्र संग्रौला, किशोर नेपालहरुले सम्बोधन गर्दै टीकापुर हत्याकाण्डमा रेशम चौधरी निर्दोष रहेको बताएका थिए ।
‘बाबुरामको भाषण संविधानविरुद्ध’
पूर्व रक्षा तथा गृहमन्त्रीसमेत रहेका रावलले काठमाडौंबाट गएका र थारुसँग कुनै साइनो सम्बन्ध नभएका व्यक्तिहरुले टीकापुरका जनतालाई भड्काउने र फेरि दंगा फसाद गराउने खालका अनुचित अभिव्यक्ति दिएको बताए ।
अनलाइनखबरसँग कुरा गर्दै उनले भने- चार वर्षअघि काठमाडौंबाट गएका केही व्यक्तिले खुँडा खुकुरी निकालेर मान्छेहरुलाई काट, मार भनेपछि त्यत्रो घटना भयो । अहिले त्यस्तै कुरालाई बल दिने गरी बाबुरामजीहरु गएर मानिसहरुलाई भड्काउने र समुदायबीच झगडा लगाउने कुरा गर्नुभएको छ ।
रावलले सत्तारुढ दलको नेता र पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले साम्प्रदायिक दंगा भड्काउन उक्साउने अभिव्यक्ति दिनु सामान्य कुरा नभएको बताए । उनले संविधान निर्माणको बेला अन्तिममा आनुसांगिक मिलाउनेसम्मको कामको नेतृत्व गरेका भट्टराइले संविधानविरुद्ध भाषण गरेको आरोप लगाए ।
रावलले भने- उहाँले संविधानविरुद्ध बोल्ने थारु र अरु समुदायबीच लडाइ झगडा गराउने उक्साउने कुरा गर्नुभएको छ । यस्तो धारणा र बिचार गलत हुन् । बाबुरामजी जस्ता व्यक्तिहरु अरु समस्या थप्ने षडयन्त्रमा लाग्नुभएको छ ।
नेकपाको सुदूरपश्चिम प्रदेशका इञ्चार्ज रावलले थारु समुदायलाई संविधान प्रदत्त सामाजिक न्यायको अधिकार दिलाउन आफूहरु सधैं लागिरहेको समेत बताए ।
प्रतिक्रिया 4