Comments Add Comment

वीरगञ्जबाट दुई दिनमा ५ टन मरिच बरामद

९ भदौ, वीरगञ्ज । वीरगञ्जको विभिन्न स्थानबाट प्रहरीले ५ टन ३ सय किलोग्राम मरिच बरामद गरेको छ ।

गत भदौ ६ गते प्रहरीले वीरगञ्ज महानगरपालिका-१ बाट ४० किलोका १३ बोरा मरिच नियन्त्रणमा लिएको थियो । त्यसकै भोलिपल्ट वीरगञ्ज महानगरपालिका-६ स्थित विजय अग्रवालको घर भाडामा लिएर विजय गुप्ताले सञ्चालन गर्दै आएको स्टोरबाट २५ किलो दरका ५६ बोरा मरिच बरामद गर्‍यो ।

सोही दिन वीरगञ्ज-२ छपकैयाका शत्रुधन महतोको घरबाट २५ केजीको ८४ बोरा र १५ केजीको २ बोरा, वीरगञ्ज ४ स्थित त्रिुजद्ध स्कुलको सटरमा सञ्जय मित्तलको पसलबाट २५ केजीको ४० बोरा र राजा मित्तलको पसलबाट २५ केजीको १० बोरा गरि ५ टन ३ सय केजी मरिच उठायो ।

प्रहरीले सञ्जय मित्तलको सटरबाट जडिबुटीको धुलो १ सय ६८ केजी र राजा मित्तलको सटरबाट १ सय ८२ केजी सुपारी पनि नियन्त्रणमा लिएको थियो ।

नेपालमा भियतनाम, ब्राजिल लगायत तेस्रो मुलुकबाट मरिच आयात हुने गरेको छ । नेपालबाट भारततर्फ निकासीमा प्रतिबन्ध लगाईएको छ । तर साईकल, मोटरसाईकलमा र पोके तस्करले मात्रै नभएर मुख्य भन्सार नाका हुादै छाला भनेर मरिच भारततर्फ अवैध निकासी गर्न लागेको अवस्थामा प्रहरीले मरिच नियन्त्रणमा लिएको छ । सवारी साधनमा भारततफै लैजाँदै गर्दा एकैपटक १८ सय केजी, १२ टनसम्म मरिच बरामद गरेको पर्सा प्रहरीको इतिहास छ ।

यो पनि पढ्नुहोस भारत तस्करी गर्न लागेको १८ सय किलो मरिच पर्सामा बरामद
आर्थिक वर्ष ०७४/७५ मा अन्दाजी ९१ लाख ८३ हजार रुपैयाँको १८ टन, ३ सय ६६ किलो, आर्थिक ०७५/७६ मा १९ लाख २५ हजार ५ सय रुपैयाँको ३ टन, ८ सय ५१ किलो र चालु आर्थिक वर्षको एक महिना ९ दिनमा २८ लाख ५८ हजार रुपैयाँको ५ टन ७ सय १६ केजी मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याङक छ ।

मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा महँगो मूल्यमा बिक्री हुने गरेको छ । नेपालमा अहिले गुणस्तर हेरि ४ सय ५० देखि ५ सय रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको व्यापारी बताउाछन् ।

विगतको भन्दा फरक यसपटक प्रहरीले भारततर्फ तस्करी गर्न लागेको समयमा नभई व्यापारीको र्फम र गोदाममै छापामारी गरेको छ ।

प्रहरीको छापामारीप्रति कारोवारीको असन्तुष्टी

प्रहरीको कार्यप्रति कारोवारीहरुले असन्तुष्टी जनाएका छन् । उनीहरुले नेपालमै बिक्री गर्न राखिएको मरिच भारत लैजान लागिएको भन्दै प्रहरीले गोदामबाटै उठाएको आरोप लगाएका छन् ।

उनीहरुले प्रहरीले छापामारी गरेको विरोधमा पत्रकार सम्मेलन नै गरेका छन् । पत्रकार सम्मेलनमा कारोबारी र उनीहरुका प्रतिनिधिले प्रहरीले प्रदर्शन गरेको व्यवाहार अन्यायपूर्ण भएको बताउँदै न्यायका लागि अदालत जाने बताएका छन् ।

पत्रकार सम्मेलनमा सुमित किराना स्टोर्सका सञ्चालक शत्रुधन प्रसाद कुशवाहाले प्रहरीले ठूला व्यापारीहरुलाई केहि नगरी साना व्यापारीलाई मात्रै निसानामा पारेको आरोप लगाए ।

‘नियमसंगत काम गरिरहँदा गोदामबाट मरिच बरामद गरी चोरी पैठारीका लागि राखिएको भनिएको छ ।’ उनले भने, ‘वैध कागजपत्र भएको मरिच प्रहरीले नियन्त्रणमा लिएर दुःख दिन खोजेको छ, प्रहरीले सक्छ भने १० औं हजार बोरा मरिच राखिएको गोदाममा छापामारी गरेर देखाओस न ।’ उनले आफूले सर्लाही कपिलवस्तु लगायत जिल्लामा मरिच बिक्री गर्दै आएको बताए ।

गोदामबाटै मरिच किन उठाईयो त ? भनेर प्रहरी अधिकारीसाग बुझ्दा उनीहरुले प्रतिक्रिया दिन आनाकानी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले कार्य व्यस्तता देखाउादै प्रतिक्रिया दिन मानेनन् । उनले डिएसपीसाग कुरा गर्न भने ।
कार्यालयका प्रवक्ता तोकिएका डिएसपी अनन्तराम शर्मा विदामा छन्, अर्का डिएसपी गौतम थापाले आफू कार्यालयमा नयाँ भएकोले मरिचकाबारे प्रतिक्रिया दिन नसक्ने बताए ।

ठूलो परिमाणमा हुन्छ आयात

वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह नाका हुँदै आयातकर्ताहरुले ठूलो परिमाणमा मरिच आयात गर्ने गरेका छन् ।

वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७५/७६ मा ७५ लाख ९८ हजार ८ सय ६१ किलो मरिच आयात भएको छ । ३ अर्ब १७ करोड ३० लाख ५१ हजार ४ सय ९९ रुपैयाँ ३१ पैसाको मरिच आयात गर्दा भन्सार कार्यालयले ७८ करोड ६८ लाख ८४ हजार ९ सय ९८ रुपैयाँ राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा ३१ करोड ६३ लाख ४३ हजार ५ सय ८१ रुपैयाँको ७ लाख ८६ हजार ८ सय २० किलो मरिच आयात भएको छ । जसबाट ११ करोड ३ लाख ४४ हजार ६ सय ५५ रुपैयाँ राजश्व संकलन गरेको भन्सार अधिकृत प्रविण आचार्यले जानकारी दिए ।

वीरगञ्जमा आदर्श ट्रेडिङ, न्यू जय लक्ष्मी, आदर्श किराना, रवि ओभरसिज, सत्यम एग्रो, रिजवी ट्रेडर्स, ब्राईट फरच्यून लगायतका र्फमले ठूलो परिमाणमा मरिच आयात गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment