Comments Add Comment

संसदीय समितिले सरकारलाई सोध्यो : नेपाली समाज कता जाँदैछ ?

९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाली समाजको गति र उन्मुखता मापन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले नेपाली समाज कुन दिशातर्फ अगाडि बढेको छ त्यसको अध्ययन गर्नुपर्ने बताएको छ ।

‘सामाजिक अपराधका घटनाहरु, महिला माथिका हिंसाहरु, आत्महत्याको बढ्दो दर, बैदेशिक रोजगारीले पारिपारिक एवं सम्बन्धमा पारेको प्रभावलगायतका विषयवस्तुले हाम्रो समाज कुन दिशातर्फ अगाडि बढिरहेको छ ?’ समितिले सरकारलाई दिएको निर्देशनमा उल्लेख गरेको छ, ‘के यसले हाम्रो समाजलाई हामीले कल्पना गरेको आदर्श समाजतर्फ लगिरहेको छ कि, अन्त कतैतिर छैन ? विस्तृत अध्ययन हुन जरुरी छ ।’

महिला हिंसा घटेको अनुभव भएन

समितिले देशमा महिला हिंसा घटेको अनुभव हुन नसकेको पनि बताएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई बोलाएर समितिले अनुभव गर्न सकिने गरी महिला हिंसा घट्न नसकेको भन्दै ध्यानाकर्षण गरेको हो ।

गत बर्ष भदौ ८ गतेको प्रतिनिधिसभा बैठकमा महिला हिंसाविरुद्ध संकल्पप्रस्ताव नै पारित भएको थियो । महिला विरुद्धका विभेदहरुको अन्त्य जुन गतिमा हुने गरी अपेक्षासहित संकल्प प्रस्ताव पारित भएको थियो त्यो अपेक्षा पूर्ण हुन नसकेको महिला समितिको निश्कर्ष छ ।

‘छाउपडी, कुप्रथा, यौनजन्य हिंसा, बोक्सी प्रथा, दाइजोको निहुँमा हिंसाका घटनाहरु अनुभव गर्न सकिने गरी न्युनीकरण भएको पाइदैन’ समितिले निर्णयमा भनेको छ ।

सामाजिक कुरीति, कुप्रथा, गरिवी, चेतनाको अभाव तथा पहुँचमा अभाव जस्ता विषयवस्तुलाई छोटो समयमा परास्त गर्नु चूनौतीपूर्ण कार्य भए पनि सरकारले एक बर्षको अवधीमा अपेक्षित काम गर्न नसकेको समितिले उल्लेख गरेको छ ।

समितिले महिला हिंसाविरुद्ध हुने सबै प्रकारका विभेदहरु अन्त्य गर्न तत्काल प्रभावकारी रणनीति एवं कार्यनीति तयार गरी परिणाममुखी कार्यसम्पादन गर्न र सोको जानकारी समितिलाई पनि गराउन सरकारलाई निर्देशन दिएको छ ।

अधिकांश महिला हिंसा, विभेल एवं शोषण घर वा आफन्तबाटै हुने गरेको र त्यस्ता घटना कानुनी दायरामा नआउने गरेको समितिले जनाएको छ । समितिले दुर्गम क्षेत्रमा समेत महिला हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रम गर्न सरकारलाई सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment