+
+
Shares

अटो व्यवसायीलाई अर्थमन्त्रीको आग्रह : सरकारलाई नछल्नुस्

'स्टार्टमात्र ब्याट्रीबाट हुने गाडी ल्याएर सबै छुट खोज्ने ?'

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते १२:२०

१० भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले इमान्दार भएर उद्योग व्यापार चलाउन व्यवसायीहरुलाई आग्रह गरेका छन् । घाटाको व्यापार सरकारले पनि नगर्ने भन्दै उनले छलीको प्रयास नगर्न चेतावनी दिए ।

नाडा अटो शो-२०१९ को उद्घाटन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, ‘तपाईंहरुले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् । सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेश हुन चाहन्छ, तपाईंहरु पनि इमान्दारीपूवर्क पेश भइदिनुस् । अनि हामी टेबलमा बसेर कुरा गर्न सक्छौं ।’

सरकारले विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा भन्सार र अन्तशुल्क छुट दिएको तर कतिपयले ब्याट्रीबाट स्टार्टमात्र हुने गाडीहरु आयात गर्न खोजेको गुनासो गरे ।

‘तपाईंहरुले ब्याट्रीले स्टार्टमात्र हुने, चल्दा चाहिँ डिजेल पेट्रोल नै चाहिने गाडी ल्याएर भन्सारमा राखिदिनुभयो,’ खतिवडाले भने, ‘हामीले दिने विद्युतीय सवारी साधनको छुट त्यस्तो होइन कि ९० प्रतिशत परम्परागत ऊर्जा डिजल पेट्रोल नै खर्च होस्, १० प्रतिशतचाहिँ विद्युतको प्रयोग होस् अनि तपाईंलाई भन्सारमा सबै प्रकारको छुट होस् ।’

त्यस्ता गाडीमा सरकारले भन्सार छुट नदिने भन्दै उनले आयात नगर्न व्यवसायीलाई अनुरोध गरे । कतिपयले नक्कली पार्टपूर्जासमेत आयात गर्ने गरेको गुनासो गरेको भन्दै उनले भने, ‘त्यो सरकारले ल्याएको होला र ? तपाईंहरुकै साथीहरुले ल्याएको त होला । तपाईंले भन्न पनि सक्नुपर्यो नि । सरकारले हेर्ला, हेरेन भने सरकारको कमजोरी हो, तर ल्याउनेले पनि त्यसको पहिलो दोष त भोग्नु पर्‍याे  नि ।’

राज्यको नीति पनि लाभकै

उनले व्यवसायीका लागि कर लगायतका छुट दिन तयार रहेपनि घाटाको व्यापार भने नगर्ने स्पष्ट पारे । व्यवसायीले १० प्रतिशत पनि मूल्य अभिवृद्धि नहुने सामान ल्याएर उत्पादन गर्ने अनि सरकारले २८० प्रतिशत राजश्व गुमाउनुपर्ने अवस्था हुन नहुने उनको धारणा छ ।

‘घाटाको व्यापार यो सरकारले पनि गर्दैन,’ उनले भने, ‘निश्चित संरक्षण दिने हो । आउनस् उद्योग खोल्नुस् र त्यो संरक्षण दिन चाहिने जति अन्तशुल्क होस्, भन्सार होस्, कर छुटहरु दिनको लागि सरकार तयार छ ।’

कम्तिमा २० प्रतिशत मूल्य अभिवृद्धि नहुने बस्तुले औद्योगीकरणमा योगदान नदिने भन्दै उनले यसबारे धेरै बहस आवश्यक नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?