Comments Add Comment

संघीयता र गणतन्त्रमा ग्रहण लागेको छ: उपेन्द्र यादव

१० भदौ, वीरगञ्ज । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्रमा चारैतिरबाट ग्रहण लागि रहेको बताएका छन् ।

उनले संघीयता र गणतन्त्रलाई समाप्त पारेर पुरानै व्यवस्थामा लैजानेहरुको सक्रियता बढेको बताए ।

वीरगञ्जमा नव निर्मित बस टर्मिनलको मंगलबार उद्घाटन गर्दै उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादवले अधिकार प्राप्तीको आन्दोलनसँगै प्राप्त अधिकारको रक्षा गर्नुपर्ने बेला आएको बताए ।

‘अहिले संघीयता र गणतन्त्रलाई कमजोर पार्नेहरु सक्रिय भईरहेका छन्, उनीहरु पुरानै व्यवस्थामा फर्कन खोज्दैछन्, कतै गाडी दुर्घटना हुँदा पनि, कसैले पकेट मा¥यो भने पनि गणतन्त्रलाई दोष दिइन्छ ।’ उनले भने, ‘अब प्राप्त उपलब्धीको रक्षा, बाँकी हक अधिकार प्राप्तीको आन्दोलनसँगै विकासलाई अघि बढाउनुपर्छ ।’

मुलुक एकात्मक राज्य व्यवस्थाबाट संघीय गणतन्त्रमा जानु, राजतन्त्रको अन्त्य हुनु, तीन तहको सरकार बन्नु युगान्तकारी परिवर्तन भएपनि अझै मधेसी जनतामाथि भेदभाव, महिलामाथि विभेद, आदिवासी, जनजाति मुस्लिम पछाडी परेका वर्गमाथि शोषण कायमै रहेकोले त्यसको अन्त्यका लागि आफूहरु लागि परेको उनले बताए ।

‘भौतिक संरचनाको निर्माण मात्रै विकास होइन, मानवीय चेतनाको साथै कला सँस्कृतिको पनि विकास हुनुपर्छ ।’ उनले भने ।

आफूले हरेक गाउँमा एउटा अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, शहरमा दोस्रो श्रेणीको अस्पताल र महानगरमा विशिष्टीकृत सेवासहितको टर्सरी अस्पताल होस् भनेर काम सुरु गरेको मन्त्री यादवले बताए ।

अबको दिनमा वीरगञ्ज क्षेत्रको विकास नभएको खण्डमा अरुलाई दोष दिन नमिल्ने उनको धारणा थियो । ‘वडा अध्यक्ष, नगर प्रमुख, सभासद, सांसद, मुख्यमन्त्री यस क्षेत्रले दिएको छ, अब पनि विकास अघि बढेन भने कसलाई दोष दिने ?’ उनले भने, ‘भोलि जनताले विकास किन भएन ? भनेर प्रश्न गर्नै नपर्ने गरी काम गरेर देखाउनुपर्छ, बहानाबाजी अब चल्दैन, परिणाम चाहिन्छ ।’
वीरगञ्जको विकासका लागि गुरुयोजना बनाउन सुझाव दिँदै उनले विशिष्ट सेवासहितको अस्पताल निर्माणका लागि जग्गा खोज्न आग्रह समेत गरे ।

जवाफदेही बन्नु पर्छः मुख्यमन्त्री राउत

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले मत दिने जनता प्रति जवाफदेही हुनुपर्नेमा जोड दिए ।

तीनै तहका सरकारसँगको समन्वय र सहकार्यबाटै विकास अघि बढाउन सकिने उनको भनाइ छ ।

‘जनताको अपेक्षा बढी छ, पर्ख र हेरको अवस्था छैन, आज मत दिएर जिताएका जनताले भोलि तिमीहरुले के गर्‍यौं ? भनेर सोध्नेछन् ।’ उनले भने, ‘तसर्थ सुशासन कायम राख्दै विकास गर्नुपर्छ, तीनै तहको सरकारबीच समन्वय र सहकार्यबाट मात्रै यो सम्भव छ ।’

सहरी विकास मन्त्री महम्मद इस्तियाक राईनले वीरगञ्जले दिएको योगदानलाई कदर गर्दै विकासका योजना दिइएको बताए । उनले वीरगञ्जलाई २ हजार जना अट्ने अन्तर्राष्ट्रिय स्तरको सभाहल बनाउन रकम दिने घोषणा गरे ।

बस टर्मिनल उद्घाटन समारोहमा सांसद विमल श्रीवास्तव, प्रदिप यादवले वीरगञ्जलाई राज्यले सँधै उपेक्षामा राखेको भन्दै यस क्षेत्रको विकासका लागि आवश्यक योजना दिन आग्रह गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगीले सिर्सिया करिडोर निर्माण, वीरगञ्जमा चक्रपथ निर्माण, अन्र्तराष्ट्रिय स्तरको सभाहल र व्यापारिक प्रदर्शनी केन्द्र, प्राविधिक विश्व विद्यालय, ईन्जिनियरिङ कलेज स्थापनामा सहयोग गर्न आग्रह गरे ।

त्यसैगरि ठाकुरराम बहुमुखी क्याम्पसलाई आधार बनाएर वीरगञ्ज विश्व विद्यालय तथा कृषि विश्व विद्यालय सञ्चालन गर्न, वीरगञ्ज कारागारलाई स्थानान्तरण गर्न, वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गा शिक्षण अस्पताल स्थापनाका लागि दिन, ट्रान्सपोर्ट नगर निर्माण, नदी नियन्त्रण र सिँचाईसँगै महानगरपालिकालाई महानगरपालिका जस्तो बनाउन पूर्वाधार निर्माणमा सहयोग गर्न उपप्रधानमन्त्री, मुख्यमन्त्री र सहरी विकासमन्त्रीसँग उनीहरुले आग्रह गरेका थिए ।

कार्यक्रममा निलम्बित सांसद हरि नारायण रौनियारलाई पनि ‘माननीय सांसद’ भनी आशनग्रहण गराईएको थियो ।

समाजवादीका अध्यक्ष यादवले मंगलबार वीरगञ्जमा फोहोर पानी प्रशोधन केन्द्रको समेत उद्घाटन गरेका छन् ।

१० विगाहामा वीरगञ्जको छपकैयामा १२ करोड रुपैयाँमा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्र असारमा निर्माण सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment