Comments Add Comment

भिडियोमा मन्त्रिपरिषद बैठक : वैधानिकतामाथि प्रश्न

१० भदौ, काठमाडौं । सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारबाट मन्त्रीहरुले सोमबार भिडियो कन्फरेन्सिङ गरे । प्रधानमन्त्री ओलीले यसलाई ‘मन्त्रिपरिषदको बैठक’ बताए पनि यसको बैधानिकतामाथि भने प्रश्न उठेको छ ।

प्रधानमन्त्री कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट बाहिरिएपछि सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सोमबारको भिडियो बैठकलाई ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास’ बताएका थिए ।

बास्कोटाले सोमबार पत्रकारहरुसँग सो बैठकलाई ‘मन्त्रिपरिषदको बैठक’ भनेनन् । उनले सञ्चारकर्मीलाई दिएको प्रतिक्रियामा यति मात्र भने, ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास भयो । र, यो सफलै भयो ।… विभिन्न मन्त्रीज्यूहरुले आ-आफ्नो मन्त्रालयका कुराहरु राख्नुभयो । वहाँ (प्रधानमन्त्री) ले आवश्यक निर्देशन पनि दिनुभयो । त्यति नै हो ।’

प्रधानमन्त्री र सल्लाहकार भन्छन्- मन्त्रिपरिषद बैठकै हो

सोमबारको ‘भिडियो कन्फरेन्स’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिंगापुरबाट बसेको मन्त्रिपरिषदको बैठक’ भनेका छन् ।

भिडियो सम्वादपछि प्रधानमन्त्रीले गरेको टि्वटमा लेखिएको छ, ‘प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहन्छु । आज पहिलोचोटि सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत् मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरुलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरुलाई धन्यवाद ।’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि सिंगापुरबाटै टि्वट गरेर सोमबारको भिडियो कन्फरेन्सलाई ‘मन्त्रिपरिषदको बैठक’ नै भनेका छन् ।

रिमालको टि्वटमा केही तस्वीरहरु राखेर भनिएको छ, ‘सिंगापुरदेखि काठमाडौं : पहिलोपटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्दै ।’

कार्यभार पोखरेललाई, बैठकको अध्यक्षता ओलीलाई ?

प्रधानमन्त्री ओली सिंगापुरमा रहेका बेला उनको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मामा छ । यो अवस्थामा मन्त्रिपरिषदको बैठक बस्नुपर्‍यो भने कानूनतः पोखरेलकै अध्यक्षतामा बस्नुपर्ने हुन्छ ।

राष्ट्रपति कार्यालयको लिखतअनुसार पनि प्रधानमन्त्रीको कार्यभार पोखरेलमा रहेका बेला सोमबार मन्त्रिपरिषदको बैठक बसेको मान्ने हो भने कसको अध्यक्षतामा सोमबारको बैठक बस्यो ? अनि यो बैठकको बैधानिकता के हो ?

यसबारे जिज्ञासा राख्दा एक मन्त्रीले अनलाइनखबरसँग अनौपचारिक रुपमा भने, ‘सोमबारको भिडियो सम्वाद मन्त्रिपरिदको बैठक भन्दा पनि प्रधानमन्त्री र मन्त्रीबीच भिडियोमार्फत भएको छलफल हो । राष्ट्रपति कार्यालयले लेखेरै कार्यवाहक तोकिसकेको अवस्थामा भिडियो कन्फरेन्समा प्रधानमन्त्रीले अध्यक्षता गर्न मिल्ने/नमिल्नेबारे कानूनी समस्या देखिएको हामीलाई महसुस भएको छ ।’

ती मन्त्रीका अनुसार सोमबारको भिडियो बैठकमा कुनै एजेण्डा थिएनन् । त्यहाँ कुनै निर्णयहरु पनि भएनन् । प्रधानमन्त्रीले केहीबेर सम्वोधन गरे, मन्त्रीहरुले देशको परिस्थितिबारे कुरा राखे । सामान्य छलफल मात्र भयो, निर्णय भएनन् ।’

सधैं त क्याबिनेटमा प्रधानमन्त्रीज्यू आउनासाथ हामी सबैले उभिएर नमस्कार गर्थ्यौं, हिजोचाहिँ हामी बसिरहेका बेला प्रधानमन्त्रीज्यू देखिनुभयो र उहाँले नै नमस्कार गर्नुभयो, उठ्ने कि नउठ्ने, हामी अलमलमा पर्‍यौं

प्रधानमन्त्री विदेशमा रहेको र कार्यवाहक अर्कैले पाएको अवस्थामा भिडियो बैठकबाट कुनै निर्णय गर्नुपर्ने अवस्थामा राष्ट्रपति कार्यालयको विज्ञप्तिले कानुनी कठिनाई पार्न सक्ने ती मन्त्रीको स्वीकारोक्ति छ ।

‘प्रधानमन्त्री अनुपस्थित हुँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेलले पाइसक्नुभएको छ, यो विषय राष्ट्रपतिको कार्यालयबाट लिखितरुपमा आइसकेको छ,’ ती मन्त्रीले अनलाइनखबरसँग भने, ‘यस्तो अवस्थामा भिडियोबाटै क्याबिनेट बैठक बस्दा कार्यवाहक प्रधानमन्त्रीको पोजिसन के हुने भन्ने कानुनी प्रश्न स्वतः जन्मियो ।’

तर, राष्ट्रपतिले ईश्वर पोखरेललाई कार्यभार तोक्दाखेरि प्रधानमन्त्री सिंगापुर गएका बेलामा ‘भिडियो कन्फरेन्स बैठक बस्दाको अवस्था बाहेक’ अरुबेलाका लागि मात्रै कार्यभार तोकेको भए कानुनी प्रश्न नउठ्ने मन्त्रीहरुवीच चर्चा चल्न थालेको छ । हुनत यसअघिकै क्याबिनेटले प्रधानमन्त्री स्वदेशमा वा विदेशमा रहेका बेला भिडियोमार्फत मन्त्रिपरिषद बैठक बस्न सक्ने गरी नेपाल सरकारको कार्यसम्पादन नियमावली संशोधन भइसकेको छ ।

प्रधानमन्त्रीले नमस्कार गर्दा मन्त्री अल्मलिए !

सिंहदरबारमा सोमबार भिडियो बैठकका लागि उपप्रधानमन्त्री उपेन्द्र यादवबाहेक कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु उत्साहजनकरुपमा भेला भएका थिए । सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीसँग प्राविधिकले इन्टरनेटमार्फत मन्त्रीहरुको सम्पर्क गराइदिए ।

यसअघि मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी ओली प्रवेश गर्दा सबै मन्त्रीहरु उभिने  र प्रधानमन्त्रीलाई नमस्कार गर्ने चलन छ । सोमबार प्रधानमन्त्री ओलीलाई भिडियोमा देख्नासाथ उठ्नुपर्ने पो हो कि भनेर केही मन्त्रीहरु अल्मलिए ।

भिडियो कन्फरेन्समा सहभागी एक मन्त्रीले आफ्नो अनुभव सुनाउँदै अनलाइनखबरसँग भने ‘सधैं त क्याबिनेटमा प्रधानमन्त्रीज्यू आउनासाथ हामी सबैले उभिएर नमस्कार गर्थ्यौं, हिजोचाहिँ हामी बसिरहेका बेला प्रधानमन्त्रीज्यू देखिनुभयो र उहाँले नै नमस्कार गर्नुभयो, उठ्ने कि नउठ्ने, हामी अलमलमा पर्‍यौं  ।’

प्रधानमन्त्री ओलीले केहीबेर आफ्ना कुराहरु राखिसकेपछि मन्त्रीहरुलाई आफ्ना कुरा राख्न आग्रह गरे । सुरुमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल बोले । त्यसपछि गृहमन्त्री रामबहादुर थापाले बोले । देशमा सरकारको विरोध गर्ने नाममा व्यवस्थाकै विरोधमा गतिविधि हुन थालेको गृमहन्त्रीले प्रधानमन्त्रीलाई रिपोर्टिङ गरे ।

भिडियो सम्वाद चलिरहेका बेला एक/दुईचोटि साउण्डमा डिस्टर्ब हुनुका साथै दृश्यसमेत झ्यार-झ्यार आएको थियो । नेपालको नेट सिंगापुरको जस्तो फास्ट नभएकाले यस्तो भएको हुन सक्ने मन्त्रीहरुवीच खासखुस चलेको थियो ।

कार्यवाहक प्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापाका अतिरिक्त अर्थमन्त्री लगायत अरु पनि केही मन्त्रीले आफ्ना मन्त्रालयका समस्याहरु प्रधानमन्त्री ओलीलाई सुनाए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उर्जामन्त्री वर्षमान पुन तस्वीर खिच्न व्यस्त देखिन्थे ।

प्रधानमन्त्रीले सिंहदरबारमै बसेर ठूला परियोजनाहरु हेर्न र कहिलेकाँही प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो सम्वाद गर्नका लागि गत बैशाखमा निर्माण गरिएको एक्सन रुमबाट सोमबार सिंगापुरमा रहेका प्रधानमन्त्रीसँग भिडियो कन्फरेन्स गरिएको हो ।

मलाई एकदम राम्रो भइरहेको छ, २ डोज भइसक्यो, ७ डोज दिने भन्या हो, तर सातै डोज दिनु पनि पर्दैन कि जस्तो पो छ त’ भन्दै प्रधानमन्त्रीले आफ्नो स्वाथ्यका बारेमा चिन्ता जाहेर गर्ने सबैलाई धन्यवाद थिए

निदाउँदा नेपाल देख्छु, आँखा खोल्दा सिंगापुर : प्रधानमन्त्री

सुरुमा केहीबेर सम्वोधन गरेका प्रधानमन्त्रीले सिंगापुरमा निदाउनासाथ नेपाल देख्ने गरेको बताएका थिए । प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘म त आँखा खोल्यो कि सिंगापुरको रमझम देख्छु, निदायो कि नेपाल मात्रै देख्छु ।’

हरेक मन्त्रीहरुलाई आफूलाई के लागेको छ, भन्न प्रधानमन्त्रीले आग्रह गरेका थिए । सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका ओलीले सञ्चो बिसञ्चो के छ भनेर मन्त्रीहरुलाई सोधेका थिए ।

बैठकको अन्तिमतिर प्रधानमन्त्रीले ‘महिलामन्त्रीको आवाज सुनिएन’ भनेपछि मन्त्री थममाया थापाले ‘सम्पूर्ण नेपाली महिलाको तर्फबाट प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यलाभको कामना’ भनिन् ।

थममायाको शुभकामनापछि प्रधानमन्त्रीले आफू स्वस्थ्य रहेको जवाफ दिए । स्वास्थ्यलाभ यस्तो भइसक्यो कि तपाईहरु सबै स्वस्थ  हुनुहुन्छ, मचाहिँ तपाईहरुभन्दा के कम छु र भन्ने भावमा प्रधानमन्त्री प्रस्तुत भए ।

‘मलाई एकदम राम्रो भइरहेको छ, २ डोज भइसक्यो, ७ डोज दिने भन्या हो । तर, सातै डोज दिनु पनि पर्दैन कि जस्तो पो छ त’ भन्दै प्रधानमन्त्रीले आफ्नो स्वाथ्यका बारेमा चिन्ता जाहेर गर्ने सबैलाई धन्यवाद थिए । भिडियोमा देखेका मन्त्रीहरुका अनुसार प्रधानमन्त्री निकै स्वस्थ र फ्रेस देखिएका थिए ।

प्रधानमन्त्रीसँगको भिडियो सम्वादमा देशको शान्ति सुरक्षाको अवस्थाका बारेमा पनि मन्त्रीहरुसँग छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment