Comments Add Comment

छापामा आज : फास्ट ट्रयाक निर्माण सुस्त, कर्णाली राजमार्ग व्यक्तिको नाममा

११ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूमा फरक–फरक विषयले प्राथमिकता पाएका छन् । केहीले मातृत्वमाथि गरिएको खेलबाडबारे मुख्य समाचार बनाएका छन् भने कुनैले विवाहइतर सम्बन्धले निम्त्याएको अपराध, टेलिप्रिन्जेन्स बैठकको गोपनीयता, फास्ट ट्रयाक निर्माणलगायत विषयमाथि नजर लगाएका छन् ।

साहराविहीन बालबालिका संरक्षणको जिम्मा पाएकाले गलत ढंगले बालबालिका तथा शिशु बेचबिखन गर्ने गरेकोबारे मुख्य समाचार बनाएको कान्तिपुरले फास्ट ट्रयाक निर्माणबारे पनि चासो राखेको छ । समाचार अनुसार फास्ट ट्रयाक निर्माणको २ वर्षमा ८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ०७४ साउनबाट निर्माण सुरु भएको थियो ।

नेपाली सेनाले निर्माण गरिरहेकाे राष्ट्रिय गौरवको यो आयोजनाको कोरियाली सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार हालसम्म ८ प्रतिशत काम सम्पन्न भएको समाचारमा उल्लेख छ ।

डीपीआर तयार पार्न समय लाग्दा सोचेअनुसार प्रगति नभएको सडक निर्माण आयोजना नेलडाँडाका प्रमुख तथा सेनानी विनोद श्रेष्ठले बताएका छन् ।

अन्नपूर्णले पनि फास्ट ट्रयाक निर्माणबारे नै समाचार लेखेको छ । यो मार्ग निर्माणमा सुस्तता देखिएको भन्दै कान्तिपुरले चिन्ता व्यक्त गरे पनि अन्नपूर्णले भने डीपीआर निर्माणपछि सेना तोकिएकै समयमा काम पूरा गर्नेगरी कस्सिएको उल्लेख गरेको छ ।

व्यक्तिको नाममा कर्णाली राजमार्ग

कर्णाली राजमार्गको सडक नै व्यक्तिको नाममा दर्ता भएको खबर पनि आजको कान्तिपुरले छापेको छ । कर्णाली राजमार्गअन्तर्गतको गमगढी नाग्मा सडक व्यक्तिको नाममा रहेको हो ।

अन्य स्थानका सार्वजनिक जग्गाजस्तो राजमार्गको जग्गा नियतवश व्यक्तिको नाममा पारिएकाे भने होइन । समाचार अनुसार सडकमा परेका जग्गा सरकारले नामसारी नगर्दा व्यक्तिको नाममा परेको हो । जसका कारण जग्गाधनीहरु वर्षौंदेखि राजस्व बुझाउन बाध्य छन् ।

छायानाथ रारा नगरपालिकाका १, २, ३, ६ र ७ वडाका करिब ३ सय जग्गाधनीले सडकको नाममा वडा कार्यालयमा राजस्व तिर्दै आएको समाचारमा उल्लेख छ ।

र, यो पनि– साताअघि नै सिंहदरबारमा मनाइयो तीज

तीज पर्व भड्किलो भएको भन्दै यतिबेला चिन्ता व्यक्त भइरहेको छ । गृह मन्त्रालयले तीज भड्किलो र खर्चिलो नबनाउन सर्कुलर नै जारी गरेको छ । तर, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा नै तीज आउनु अगावै तामझामका साथ कर्मचारीले मनाएका छन् ।

नेपाल समाचारपत्रका अनुसार, सिंहदरबारभित्र रहेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा तीज कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा महिलाहरु कर्मचारीले मन्त्रालयमा गर्नुपर्ने कामदेखि पीरमर्कासमेत समावेश गरेर गीत प्रस्तुत गरेका थिए । समाचारमा उल्लेख भएअनुसार महिलाले गीत बजाउँदा मन्त्री वर्षमान पुनले भने ताजी बजाएर साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment