Comments Add Comment

१४ मंसिरको उपनिर्वाचन : प्रदेश १ मा नेकपाको भाग्य परीक्षा

राजनीतिक विश्लेषक भन्छन्- तेस्रो विकल्प छैन, प्रतिपक्षी पनि कमजोर छ

११ भदौ, विराटनगर । प्रदेश १ का नौं स्थानमा उपनिर्वाचनको तयारी सुरु भएको छ । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेपछि तनि स्थानीय तह प्रमुख र ६ वडामा उपनिर्वाचनको तयारी सुरु भएको हो ।

प्रदेश १ मा सुनसरीको धरान उपमहानगरपालिका ,पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिकामा प्रमुखको पद रिक्त छ । धरानकै वडा नम्बर-७, फिदिम नगरपालिका-वडा नम्बर १, हिलिहाङ गाउँपालिका-७, मोरङको धनपालथान गाउँपालिका-२ संखुवासभाको खाँदबारी गाउँपालिका-८ र खोटाङको सकेला गाउँपालिका-३ को वडा अध्यक्ष पद खाली छन् ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित धरानका मेयर तारा सुब्बाको निमोनियाका कारण मृत्यु भएपछि धरान एक वर्षदेखि मेयरविहीन छ । त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा गत माघमा मृत्यु भएको थियो । वि.सं. २०७४ साल पुस ३० गते जीप दुर्घटनामा परी खड्गबहादुर कटवालको मृत्यु भएको थियो ।

तीन प्रमुख रिक्त रहेको स्थानमध्ये दुई नेकपा र एक कांग्रेसले चुनाव जितेको क्षेत्र हो । आठ स्थानीय तहमा नौं पदका लागि निर्वाचन तयारी सुरु भएपनि सबैको ध्यान धरान उपमहानगरपालिकाले तानेको छ । ठूलो स्थानीय तह भएका कारण धरानले ध्यान तानेको हो ।

सरकारप्रति अविश्वास

उपनिर्वाचनले सत्ताको नेतृत्व गरिरहेको नेकपाको वास्तविकता बाहिर ल्याउने राजनीतिक विश्लेषकहरु बताउँछन् । पार्टी एकीकरण गरी दुई तिहाइ मत पाएको नेकपा नेतृत्वको सरकार पछिल्लो गतिविधिका कारण आलोचित छ ।

मंसिरमा हुने निर्वाचनले नेकपा शासनलाई जनताले विश्वास गरे नगरेको देखिने राजनीतिक विश्लेषक डाक्टर देवीबहादुर थापा बताउँछन् । प्रतिपक्षी दल पनि दह्रो रुपमा उभिन नसकेका कारण दुवै पक्षलाई सहज नभएको उनको भनाइ छ । ‘कम्युनिष्टप्रति जनताको हिजोको अपेक्षा र चाहना घटेर गयो,’ उनी भन्छन्, ‘तर प्रतिपक्ष पनि दह्रो छैन ।’ प्रतिपक्ष पनि कमजोर भएका कारण निर्वाचनमा तेस्रो विकल्प पनि अघि आउन सक्ने उनले अनुमान लगाए ।

राजनीतिक विश्लेषक दिनेश श्रेष्ठ भने दुई ठूला दलप्रति विश्वास कम भएपनि पहाडी क्षेत्रका जनताका लागि तत्काल तेस्रो विकल्प नदेखिएको बताउँछन् । तराई मधेसमा भने मधेसवादी दल हाबी हुन सक्ने उनको अनुमान छ । तीन तहकै सरकारप्रति जनता सन्तुष्ट नभएको र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि आन्तरिक किचलोमा फसेका कारण राजनीतिप्रति वितृष्णा बढेको उनले बताए ।

धरानमा चार हजार मतदाता थपिए

स्थानीय तहको उपनिर्वाचनमा धरानमा करिब ४ हजार मतदाता थपिएका छन् । प्रतिनिधि तथा प्रदेशभा निर्वाचनमा धरानमा ८९ हजार ५ सय ४९ मतदाताको नामावली सार्बजनिक भएको थियो । मंसिरमा हुने निर्वाचनमा करिब ९३ हजार पाँचसय मतदाता रहने निर्वाचन कार्यालय सुनसरीका निमित प्रमुख अजयकुमार मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार साउन १६ गतेसम्म मतदाता नामावली संकलन भएको छ । अन्तिम मतदाता नामावली प्रकाशित हुँदा पहिलेको तुलनामा करिब ४ हजार मतदाता बढ्न सक्ने उनले बताए । मतदाता बढेका कारण उपनिर्वाचनमा मतदान केन्द्र पनि थपिनेछन् । मिश्रका अनुसार गत निर्वाचनमा २८ मतदान स्थल र ९८ मतदान केन्द्र थिए । यो पटक केही मतदान केन्द्र थप्ने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment